२२ बैशाख २०८१, शनिबार

कैलालीमा डेंगुको सङ्क्रमण भयावह बन्दै : दुई महिनामा एक सय २४ सङ्क्रमित, दुईको मृत्यु



धनगढी / सुदूरपश्चिम प्रदेशको कैलालीमा पछिल्लो दुई महिनामा डेंगुको सङ्क्रमण अचाक्ली बृद्धि भएको छ । भयावह बन्दै गएको छ ।

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिना (साउन र भदौ) मा कैलालीमा डेंगु सङ्क्रमितको सङ्ख्या एक सय २४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका अनुसार डेंगुका कारण दुई जनाको मृत्यु भइसकेको छ ।

केही दिनदेखि धनगढी उपमहानगरपालिका र टीकापुर तथा गोदावरी नगरपालिकामा बढी सङ्क्रमण देखिएको छ । साउनमा कैलालीको लम्कीचुहा नगरपालिका डेंगुबाट अत्यधिक प्रभावित भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा दुई महिनामा ६३ जना डेंगुका बिरामी फेला परेका थिए । हाल सो क्षेत्रमा सङ्क्रमण दरमा कमी आएको छ ।

स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख, जनस्वास्थ्य अधिकृत लालबहादुर धामीका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, टीकापुर अस्पतालमा १३ तथा मालाखेती अस्पतालमा सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, चौमाला प्राथमिक प्राथमिक केन्द्रमा चार, धनगढीस्थित मायामेट्रो अस्पतालमा तीन र मसुरिया स्वास्थ्य केन्द्रमा एक जनामा पुष्टि भएको छ । कैलालीकै बर्दगोरिया गाउँपालिकामा तीन, जानकी गाउँपालिका तथा घोडाघोडी नगरपालिकामा दुई/दुई र मोहन्याल गाउँपालिकामा एक जनामा डेंगु देखिएको छ ।

जनस्वास्थ्य अधिकृत धामीका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कैलालीमा एक सय ५६ जनामा डेंगु पुष्टि भएको थियो ।
उनले भदौ १४ गते डेंगुका कारण उपचारको क्रममा धनगढी उपमहानगरपालिका–१२ का ३५ वर्षीया एक महिलाको मृत्यु भएको बताए । त्यस्तै, नेपालगञ्जमा उपाचारका क्रममा कैलालीको टीकापुरका एक बालिकाको मृत्यु भएको थियो ।

कैलालीमा डेंगु नियन्त्रण तथा रोकथामका लागि के प्रयास भइरहेका छन् ? जनस्वास्थ्य अधिकृत धामीले भने– हामीले सञ्चारकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, उद्योगी, शिक्षक सहितका सरोकारवालाहरुसंग अन्तक्र्रियात्मक कार्यक्रममार्फत रोकथाम र नियन्त्रणका लागि प्रचारात्मक अभियान अघि बढाएका छौं ।

डेंगु रोकथामको सबैभन्दा प्रभावकारी उपाय “रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने” भएकोले वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविकासहित सबै सरोकारवालाहरुलाई परिचालन गरी सरसफाई अभियान सञ्चालन गरिएको उनले बताए । उनले ज्वरो आएको प्रत्येक व्यक्तिको रगत परीक्षण गर्ने काम भइरहेको बताए ।

उनले भने– अहिले जिल्लामा परीक्षण किटको अभाव भएको छ । हामीले रोकथाम र नियन्त्रणका लागि आवश्यक किट तथा अन्य आवश्यक कार्यका लागि प्रदेश सरकारसंग बजेट माग गरेका छौं । केही दिनमा आउँछ होला ।

उता, बैतडीमा पनि डेंगुका बिरामी बढ्दै गएका छन् । बैतडीमा साउनदेखि हालसम्म१७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

बैतडी जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा १७ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएकोा छ ।

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु हुने गर्दछ । त्यसैले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् । एडीस जातको पोथी लामखुट्टेले बिहान र दिउँसो मात्रै टोक्ने भएकाले पूरा बाहुला भएको कपडा लगाएर मात्रै घर बाहिर निस्किन स्वास्थ्य अधिकारीहरुको सल्लाह छ ।

डेंगु रोग लागेमा कडा खालको ज्वरो आउने, मांसपेशी र जोर्नीहरु दुख्ने, टाउको दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार