२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा डेंगु सङ्क्रमणले महामारीको रुप लिँदै : १२ दिनमा १८२ सङ्क्रमित थपिए, एकको मृत्यु



गत वर्षको तुलनामा तेब्बर बढी, दार्चुला र कैलालीमा सङ्क्रमणको दर उच्च



धनगढी / सुदूरपश्चिम प्रदेशमा डेंगुले महामारीको रुप धारण गरेको छ । डेंगुबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ ।

यद्दपि सरकारले अहिलेसम्म डेंगु सङ्क्रमणलाई महामारी घोषणा गरिसकेको छैन । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १२ दिनको अवधिमा एक सय ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्घीय स्वास्थ्य विभागको इपिमेडियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सोमबार (सेप्टेम्बर १२) सम्मको रिपोर्टलाई उधृत गर्दै प्रदेशमा गत जनवरीदेखि हालसम्म दुई सय ७१ जनामा डेंगुबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

प्रदेशमा साउनको दोस्रो सातादेखि डेंगुको सङ्क्रमणमा बृद्धि आएको देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा यस वर्ष अगस्त महिना (साउन १५ देखि भदौ १५ सम्म) मा सुदूरपश्चिम प्रदेशमा ५७ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

अघिल्लो वर्ष (२०२१) को तुलनामा यस वर्ष (२०२२) सेप्टेम्बर १२ सम्म सुदूरपश्चिम प्रदेशमा डेंगुको प्रकोप तीन गुणा बढी देखिएको छ । अघिल्लो वर्ष (२०२१) मा प्रदेशमा ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा यस वर्षको नौ महिनामा दुई सय ७१ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका सबै नौ जिल्लामा डेंगु फैलिसकेको छ । यस वर्ष दार्चुला र कैलालीमा सङ्क्रमण दर उच्च देखिएको छ । दार्चुलामा सोमबारसम्म ७९ जनामा पुष्टि भइसकेको छ भने कैलालीमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका तथा मलिकार्जुन, दुहुँ, नौगाड, ब्याँस तथा अपिहिमाल गाउँपालिकामा डेंगुको सङ्क्रमण दर उच्च रहेको बताइएको छ ।

कञ्चनपुरमा ३८, डोटीमा २९, अछाममा १५, बैतडीमा १३, बझाङमा १० र बाजुरा र डडेल्धुरामा नौ÷नौ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य अधिकारीहरुले सबै स्थानको पूर्ण विवरण सङ्कलन नभएका कारण प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या निकै बढी हुने बताउँछन् । कैलालीको लम्कीचुहा नगरपालिकामा मात्रै एक सय बढी सङ्क्रमित भइसकेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय, दिपायलका कम्प्युटर शाखाका प्राविधिक हेमराज जोशीले प्रमुख सबै स्वास्थ्य संस्थाहरुबाट विवरण सङ्कलन हुननसकेका कारण पूर्ण विवरण प्राप्त हुननसकेको बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले डेंगुको प्रकोप कम गर्न पालिकाहरुमार्फत लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको र सबै सरकारी अस्पतालहरुमा सङ्क्रमितहरुको यथासिघ्र उपचारको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रदेश सरकारले डेंगुको प्रकोप नियन्त्रण तथा रोकथामका लागि के गरिरहेको छ ? काठमाडौंमा रहेका प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज जोशीले मङ्गलबार कोसी अनलाइनसंग फोनमा भने– हामी सबै व्यवस्था मिलाउँदैछौं । रोकथाम र नियन्त्रणका लागि पालिकाहरुलाई आवश्यक बजेटको पनि व्यवस्था गर्दैछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार