२३ बैशाख २०८१, आईतवार

दार्चुला बाढी पहिरो : दश जना अझैं वेपत्ता, गम्भीर घाइतेलाई धनगढी रेफर



– नदी कटान तीब्र बनेपछि अस्थायी तटबन्धन निर्माण गरिँदै – पीडितहरुलाई राहत वितरण गरिँदै


धनगढी/ दार्चुलामा शुक्रबारको बाढी तथा पहिरोमा वेपत्ता भएका दश जना अझैं फेला परेका छैनन् । स्थानीय प्रशासनले वेपत्ताहरुको खोजतलास जारी रहेको जनाएको छ ।

शुक्रबार रातीको भारी वर्षा तथा पहिरो र बाढीमा मृत्यु भएका पाँच जनाको शव फेला परिसकेको छ । पहिरोमा २८ जना बढी घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमध्ये ३० वर्षीया रम्भा देवी ठगुन्नालाई आइतबार हेलिकोप्टरमार्फत उपचारका लागि धनगढी पुर्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले वेपत्ताहरुको खोजी कार्य जारी रहेको बताए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले आइतबार साँझ अनुमोदन दैनिकसंग फोनमा भने– पहिरो गएको लास्कु खोला नजिकै रहेको महाकाली नदीमा मिसिने भएकोले वेपत्ताहरुको खोजीकार्य निकै कठिन भएको छ । हामी आफ्नो तर्फबाट सबै प्रयास गरिरहेका छौं ।

पहिरोमामा नौगाड गाउँपालिका–१ का चिमडी ठगुन्ना र महामरी ठगुन्ना, २ दल्लेकका ४० वर्षीय मनीराम लुहार तथा महाकाली नगरपालिका–४ का मोहन लुहार, सरस्वती लुहार, वडा ३ डुङरीका धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की र वडा २ मुल्लाका मानमती साहु वेपत्ता भएका थिए ।

दार्चुलामा शनिबार राती पुनः भारी वर्षा भएको छ । महाकाली नदीको वहाव नेपालतर्फ फर्किएको र लास्कु खोलामा बाढी आएपछि बंगाबगडमा कटान तीब्र बनेको छ । बाढी र पहिरोबाट हुनेसक्ने सम्भाव्य क्षती रोक्न आइतबार दिनभरी सेना, प्रहरी तथा स्थानीय तटबन्धमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी उपाध्यायले बाढी र पहिरोको उच्च जोखिममा रहेका बंगाबगडका घरहरु जोगाउन अस्थायी रुपमा तारजालीमा ढुंगा भर्ने कार्य जारी रहेको बताए ।

तटबन्ध निर्माण कार्यमा सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडू र सुदूरपश्चिम प्रदेशका प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, जनप्रतिनिधिहरु, सरकारी तथा सुरक्षा अधिकारीहरु, र स्थानीय बासिनदा जुटेका छन् ।

यसैबीच, आइतबारदेखि दार्चुलाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरिएको छ । दार्चुला जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको बताइएको छ ।

बाढीपहिरोका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ४२ घरमा पूर्ण रुपमा क्षती पुगेको छ । त्यस्तै, नौ घरमा आंशिक क्षति भएको छ । स्थानीय प्रशासनका अनुसार महाकाली नगरपालिका र नौगाठ गाउँपालिकामा बाढी र पहिरोका कारण ४० बढी घर जोखिममा परेका छन् ।

शुक्रबारको बाढी र पहिरोबाट दुई वटा विद्यालय, भवन बगेका छन् । एउटा विद्युत पावर हाउस, तीन वटा झोलुंगे पुल, लास्कु खोलाको पक्कीपुल, समेत बगेका छन् ।

बाढी र पहिरोले ६ वटा जिप, एउटा कार, एउटा ट्याक्टर र एक जेसीबी पनि बगाएको छ ।

पुल बगाउनुका साथै ठाउँठाउँमा पहिरो आएपछि नौगाड र दुहुँ जोड्ने सडक अवरुद्ध छन् । सडक सञ्जालबाट विच्छेद भएको दुहु गाउँपालिकालाई सदरमुकामसँग जोड्न नेपाली सेनाको टोलीले दुहुँ जाने सडक मर्मत गर्ने काम सुरु गरेको छ ।

शनिबार राती पुनः भारी वर्षा भएपछि महाकाली नदी कटान तीब्र बनेको छ । कटानबाट वस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । आइतबार दिनभरी अस्थाई तारजालीमा डुंगा भर्ने काम भएको छ ।

संघीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडू, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री धामी, राजनीतिकर्मी, सुरक्षाकर्मी र स्थानीयले महाकाली नगरपालिका–४ बंगाबगरमा लास्कु खोलाले कटान रोक्न तटबन्धन निर्माणमा श्रमदान गरेका छन् । तटबन्ध निर्माणमा प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिका प्रमुख चैसिर, उपमेयर दुर्गा विष्ट, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता जुटेका थिए ।

बाढीका कारण सदरमुकाम खलंगाको बंगाबगर क्षेत्रमा कटान तीब्र बनेको स्थानीयले जनाएका छन् । बिनाशकारी बाढी र भीषण पहिरोपछि जिल्लामा विद्युत, सञ्चार र खानेपानी आपूर्ति प्रभावित भएको छ ।

महाकाली नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा २६ गतेदेखि ३१ गतेसम्म विद्यालय विदा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार