१३ बैशाख २०८१, बिहीबार

युवा रोजगारदेखि तिब्र विकासको सोचमा युवा जनप्रतिनिधिहरू



युवालाई रोजगारीमा संलग्न गराउन सके विदेश पलायनदेखि दुर्व्यसनका समस्या कम हुने विश्वास पनि युवा जनप्रतिनीधिमा छ ।

स्तम्भकार : प्रकाशविक्रम शाह

अहिलेको गणतान्त्रिक नेपाल “युवाको पहल र युवाकै नेतृत्व” भन्ने मान्यतामा अगाडि बढेको छ । युवाले आफ्नो पहलबाट विभिन्न साामजिक क्षेत्रदेखि स्थानीय, प्रदेश र संघ सरकारमा सकरात्मक हस्तक्षेप गरेर आफूलाई नेतृत्वमा पुर्याएका छन् ।
यस पटकको स्थानीय तह निर्वाचनमा पनि युवाको नेतृत्व अधिकांश पालिकामा स्थापित भएको छ । सरकारी तह र विभिन्न गैरसरकारी क्षेत्रले ४० वर्षसम्म व्यक्तिलाई युवा मानेको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारिक, शैक्षिक केन्द्र समेत मानिएको र मुलुककै ठूलो जिल्लामध्येको एक कैलालीका १३ स्थानीय तहमध्ये पालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष पदमा जित्नेको धेरै संख्या ४० वर्षमुनिको छ । उदाहरणका लागि, प्रदेशका नगरपालिकाहरूमध्ये दुईमा महिला प्रमुख पदमा निर्वाचित भएका छन् । तीमध्ये कैलालीको लम्कीचुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छिन् । उनी ३६ वर्षकी हुन् । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको उपप्रमुखमा निर्वाचित कन्दकला रानाथारुको उमेर ३८ वर्षमात्र हो ।

यहाँ कैलालीका १३ स्थानीय तहका प्रमुख, उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित ३० वर्षमुनिका युवाको चर्चा गरिएको छ ।

कैलालीको राणाकालिन प्रमुख अड्डाका रुपमा रहेका भजनी नगरपालिका उपप्रमुखमा श्रीमती राजु तिरुवा निर्वाचित भएकी छिन् । सुदूरपश्चिममा महिला र दलित समुदाय अहिले पनि सामाजिक/सांस्कृतिक रुपमा पछाडी छन् । भजनीका नवनिर्वाचित उपप्रमुख तिरुवाले महिला तथा दलित समुदायको प्रतिनिधित्व गर्छिन् । २६ वर्षीय तिरुवा यसअघि ०७४ को स्थानीय तह चुनावमा वडा सदस्य पदमा निर्वाचित भएकी थिइन । उनी कैलालीका स्थानीय तह प्रमुख तथा उपप्रमुखमध्ये सबैभन्दा कान्छो उपप्रमुख बनेकी छिन् ।

तिरुवा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । यसपटक उनी कैलालीमा गत वर्ष माघमा मात्रै स्थापना भएकोे नागरिक उन्मुक्ति पार्टीबाट नगर उपप्रमुख पदको उम्मेदवार थिइन् । २०७२ साल भदौ ७ गतेको टीकापुर काण्डको मुख्य योजनाकारका रुपमा अदालतले आजिवन कारावासको सजाय दिएको रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ती पार्टीबाट चुनाव लडेकी तिरुवाले सहजै चुनाव जित्न सफल भइन् ।

भजनी नगर उपप्रमुख तिरुवा भन्छिन्– अरु दलले महिला, दलित, जनजाति र पछाडि परेका समुदायलाई वास्ता गर्दैनन्, त्यही भएर नयाँ पार्टीमा लागे । अरु दलले हामी दलितलाई ठाउँ दिदैनथे, तर नागरिक उन्मुक्ति पार्टीले कैलालीमा भजनी र टीकापुर नगरपालिकामा दलित समुदायबाट उपप्रमुखको उम्मेदवार बनायो ।

महिलालाई नीति निर्माण गर्ने तहमा पुग्नका लागि अवसर प्राप्त गर्न निकै कठिनाई हुन्छ । उम्मेदवार बने पनि जित्न गाह्रो हुनेगरेको छ । र, जीते पनि पारिवारिक जिम्मेवारी र सामाजिक संरचना र संस्कारका कारण काम गर्न कठिन हुने गर्छ । भजनी नगरपालिका उपप्रमुख तिरुवाले आफूले श्रीमान तथा सासु ससुराको सहयोग पाइरहेको बताइन् । उनले भनिन्– १० वर्षमुनिका तीन बच्चा छन् । बिहान चाँडै उठेर उनीहरूलाई स्कुलका लागि तयार गर्छु र दश बजे नगरपालिका पुग्छु । उपप्रमुख तिरुवाले कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी छिन् ।

उनले दलित, महिला, जनजातिलाई उनीहरूको अधिकारबारे जानकार बनाउने आफ्नो सोच रहेको बताइन् । भनिन्– न्याय नपाएकालाई न्याय दिने काम गर्नुछ । बालबालिकाको हकहितमा अभियान चलाउनु पर्ने छ । खेलकुद क्षेत्रमा अझ अभिरुचि जगाउने काम गर्नुछ । बीचैमा पढाइ छोडेर रोजगारीका लागि भारत जाने अवस्थामा कमी ल्याउनु पर्ने छ । जनताको आवश्यकतालाई दृष्टिगत गरी धेरै काम गर्नुपर्ने छ ।

पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा ३० वर्षमुनिका उम्मेदवार विजयी भएमध्ये कैलालीमा तिरुवा एक मात्र पदाधिकारी हुन् । कैलालीका एक सय २६ वडामध्ये ३० वर्ष वा ३० वर्षमुनिका वडाध्यक्ष छ जना रहेका छन् ।

कैलालीको गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ३० वर्षका छन् । कोरोना महामारीको वेला रविन्द्रले एक हजार पाँच सय बढीलाई स्कुलमा राखेर खाना खुवाएका थिए ।

उनले भने– पहिले अलि अपरिपक्व थिए । कोभिड आयो । नगरदेखि प्रदेश र संघ सरकार अनुकुल थिएनन् । त्यसैले सोचे जस्तो धेरै काम गर्न सकिएन । तर, जनताको मन जित्ने काम गरे । सायद त्यही भएर ने वडाअध्यक्षमा जनताले जिताए ।

उनले अधुरा योजनाहरू पुरा गर्ने आफ्नो योजना रहेको बताए । भने– सबैभन्दा पहिले तीर्थयात्रा कार्यक्रम मार्फत एक सय जना बृद्ध आमाबुवालाई नेपालका विभिन्न तीर्थस्थलको भ्रमण गराउने सोच बनाएको छु । वडाले पाउने बजेटको ४० प्रतिशत तटबन्धमा खर्च गर्ने योजना छ । तटवन्धका साथै कतिपय स्थानमा बोट रोपेर नदी कटान रोक्ने सोच बनाएको छु ।

रविन्द्र नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा वडामा ७० प्रतिशत सडक पक्की बनाउने, मेयर र वडाध्यक्ष कप खेलकूद प्रतियोगितालाई निरन्तरता दिने बताए । भने– मेरो पाँचवर्षे अनुभवले धेरै नयाँ काम र पुराना योजनालाई निरन्तरता दिन सहज हुने विश्वास लिएको छु ।

कैलालीकै गौरीगंगा नगरपालिका–८ वडाध्यक्षमा थारु समुदायबाट ३० वर्षीया करुणा चौधरी निर्वाचित भएकी छन् । उनी हाल शिक्षाशास्त्रमा स्नातक तहमा अध्ययनरत छिन् । उनको ११ वर्षको छोरा छ । श्रीमान र परिवारको सहयोगमा राजनीतिमा लागेकी उनी नेकपा माओवादी केन्द्रबाट दोस्रो पटकको प्रयासमा वडाध्यक्षको उम्मेदवार भएर विजयी भएकी हुन् ।

वडाध्यक्ष करुणाले जनतालाई उनीहरूका अधिकार बुझाउन र खास गरेर महिला र युवाका बारेमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले भनिन्– मेरोे वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता धेरै कुराको अभाव छ, यसका साथै विभिन्न सवालमा चेतनामुलक कार्यक्रम आवश्यक रहेको मैले महसुस गरेकी छु ।

कैलालीका एक सय २६ वडामध्ये महिला वडाध्यक्ष चार जनामात्रै निर्वाचित भएका छन् । तीमध्ये ३० वर्ष वा ३० वर्षमुनिका वडाध्यक्ष महिला दुई जना छन् । ३० वर्षमुनिका महिला वडाध्यक्षमा जोशीपुर गाउँपालिका–३ का रेणु कुमारी डंगौराथारु पनि एक हुन् ।

रेणु कुमारीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएर नेपाली कांग्रेसका किशोरकुमार कठरियालाई २२ मतान्तरले पराजित गरिन् । उनले ६१५ मत प्राप्त गर्दा किशोर कुमारले ५९३ मत पाएका थिए । ३० वर्षीया रेणुले आइएड तह उत्तीर्ण गरेकी छिन् ।
वडाध्यक्ष रेणुले आफ्नो योजनाहरू सुनाइन्– मैले जनतालाई यस्तो गर्छु, उस्तो गर्छु भनेर भोट मागिन । चुनाव जितेपछि जनतासंग सरसल्लाह गरेर आवश्यकताका आधारमा काम गर्छु भनेकी थिए । त्यसै अनुसार मैले वडाका जनतासंग शिक्षा, स्वास्थ्य र कृषि आदि विषयमा सरसल्लाह गरेर योजना बनाउने सोच बनाएकी छु ।

लम्कीचुहा नगरपालिका–६ का २६ वर्षीय वडाध्यक्ष लोकन्द्र कठायतले सिंचाईंका साथै खानेपानी, कृषि, नदी कटान नियन्त्रण, सडक र कल्र्भट बनाउने योजना रहेको बताए ।

लम्कीचुहा–७ का वडाध्यक्ष भगवानदिन चौधरी ३० वर्षका भए । उनी यसअघि पनि कांग्रेसबाटै वडा सदस्य जितेका थिए । उनले यसपटक डकर्मीका साथै सिलाइकडाइ तालिमहरूमार्फत सर्वसाधारणलाई स्वरोजगारमा जोड्ने योजना बनाएको बताए ।

उनले भने– केही गाउँमा विद्युत सेवा पुर्याउनु पर्ने छ । ढल निकास चर्को समस्या बनेको छ । यसका लागि पनि काम गर्नुछ ।


कैलाली जिल्लामा ४० प्रतिशत बढी पहाडी क्षेत्र छ । पहाडी क्षेत्रमा मोहन्याल र चुरे दुई वटा गाउँपालिका छन् । तीमध्ये चुरे गाउँपालिका–२ बाट वडाध्यक्ष पदमा निर्वाचित केशवबहादुर साउदको कथा फरक छ । उनी २९ वर्षका भए । उनले ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा चुनाव लडेका थिए । तर, सो निर्वाचनमा उनी तेस्रो मतसहित पराजित भए । चुरेमा एमालेका नै अध्यक्ष र उपाध्यक्ष थिए । केशवबहादुरले वडामा सहयोगीको जागिर पाए ।

वडा कार्यालय सहयोगीका रुपमा काम गर्दा उनले जनताको मन जिते । उनलाई सबैले उम्मेदवार बन्न प्रेरित गरे । गत निर्वाचनमा एमालेले उनलाई वडाध्यक्षको टिकट दियो । उनले निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारलाई ८८ मतले हराएर वडाध्यक्षमा विजय प्राप्त गरे ।

वडा र गाउँपालिकाका काम, कर्तव्य र अधिकारका साथै बजेटबारे ज्ञान तथा अनुभव भएका केशवले सडक स्तरोन्नती, विद्युतीकरण, खानेपानी, पुराना योजना मर्मत सम्भार, आधारभूत स्कुलको भौतिक संरचना र तह बृद्धिको योजना बनाएका छन् ।

भजनी नगरपालिका उपप्रमुख राजु तिरुवा र विभिन्न पाँच पालिकाका छ वटै वडाका अध्यक्षहरूको एउटा चिन्ता र चासो भने समान छ । उनीहरू सबैले युवा रोजगार तथा लागु औषध दुव्र्यसन नियन्त्रणलाई प्रमुख उद्देश्य बनाएका छन् ।

कैलालीमा लागु औषध ओसारपसार र दुव्र्यसन निकै समस्या बन्दै आएको छ । लम्कीचुहा –६ का वडाध्यक्ष लोकेन्द्र लागु औषध ओसारपसार दुव्र्यसन रोक्न विशेष अभियान चलाउने बताउछन् । लम्कीचुहा–७ का वडाध्यक्ष भगवानदिन लागु औषध रोकथामका लागि प्रहरी गस्ती बृद्धि गरिने बताउन् ।

युवालाई रोजगारीमा संलग्न गराउन सके विदेश पलायनदेखि दुर्व्यसनका समस्या कम हुने विश्वास पनि युवा जनप्रतिनीधिमा छ । त्यसैले धेरैले युवालाई सीपमुलक तालिम दिएर रोजगारीमा जोड्ने योजना बनाएका छन् । चुरे गाउँपालिका–२ का वडाध्यक्ष केशवले भने– युवालाई सुन्तला, तरकारी र मसला उद्योगमा जोड्नेतर्फ सोच बनाएका छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार