१४ बैशाख २०८१, शुक्रबार

घर निर्माण अब कहिलेसम्म पछुताइरहने हामी ?



घर बनाउनु आफैमा निकै नै झन्झटिलो काम हो जसका लागि निकै धेरै अनुभवको आवश्यक पर्छ । तर, एउटै जीवनमा पटकपटक घर बनाउने सौभाग्य सबैलाई कहाँ मिल्नु ? अर्थात् अधिकांश मानिसले घर जीवनमा पहिलो पटक नै बनाएका हुन्छन । जसले गर्दा घर बनाउँदा हरेकले पछि पछुताउने गरी केही न केही गल्ती गरेकै हुन्छन। घर बनाएर सकिदा मात्रै कहाँ -कहाँ, के-के गल्ती भयो मात्र थाहा हुन्छ ।
त्यसैले, आज हामी तपाईलाई पहिलोपटक घर बनाउँदा आममानिसले गर्ने केही मुख्य गल्तीहरु र तिनका समाधानबारे चर्चा गर्नेछौ । यी गल्तीहरु नगर्ने गरी आफूलाई तयार राख्न सक्नुभयो भने तपाइले घर बनाउँदा निकै पैसा बचाउन सक्नुहुन्छ, पछि कहीं कतैपनि नपछुताउनुपर्ने गरी घरनिर्माण गर्न सक्नुहुन्छ र आफ्नो घर अनुभवी निर्माताले बनाएजस्तै राम्रो बनाउन सक्नुहुनेछ। जसका लागि घर निर्माण गर्नुपूर्व तलका कुरामा ध्यान दिन जरुरी छ ।

१- मैले घर के को लागि बनाउनेर ?
घरनिर्माण गर्नुभन्दा पहिले बन्ने घरको प्रयोजन पहिचान गर्न अति नै जरुरी हुन्छ। निर्माण त गर्ने, तर के का लागिरु आवासीय प्रयोजन हो, व्यवसायिक प्रयोजन हो, यदि व्यवसायिक प्रयोजन हो भने कुन प्रकारको व्यवसाय गर्नको लागि हो ती सबै कुरा सुरुमै निर्क्यौल हुन अति नै जरुरी रहन्छ। आफ्नो जग्गा कस्तो स्थानमा छ, व्यवसायिक हिसावले उपयुक्त छ या आवासीय प्रयोजनको लागी ठिक छ, आवाशीय हो भने घर बहालमा लगाई थप आर्थिक लाभ लिन सकिने सम्भावना के कति छ । यि सबै कुरा अध्ययन गरेर मात्र निर्णय लिन जरुरी हुन्छ। के कामको लागि घर बनाइने हो त्यही अनुसारको उपयुक्त डिजाइन बनाई निर्माण सुरु गरियो भने मात्रै त्यो घरले तपाईको आवश्यकता पुरा गर्दछ अन्यथा लगानी खेर गएकोमा पछुताउनुको विकल्प हुदैन।

२- राम्रो परामर्शदाता छान्नु
घर बनाउन सुरु गर्नुअघि नक्सा डिजाइनको काम गर्नुपर्ने हुन्छ । परामर्शदाता कम्पनीहरुले नक्सा डिजाइनको काम गर्छन । घर बनाउँदा नक्सा डिजाइन र सही परामर्श अत्यन्तै महत्वपूर्ण हुन्छ । यसर्थ परामर्शदाता छनोट गर्दा जहिले पनि अनुभवी परामर्शदाता कम्पनी मात्र रोज्नुपर्छ । घर बनाउँदा हुने सबैभन्दा ठूलो गल्तीमा राम्रो परामर्शदाता नहुनु मुख्य हो ।
कुनै पनि ग्राहक परामर्शदाताकहां जाँदा उसले राम्रोसँग जानकारी दिनुपर्छ, तपाईको जग्गा यस्तो छ, यस्तो घर बनाउन सकिन्छ भनेर प्रयाप्त समय दिएर विचारविमर्श गर्नुपर्ने हुन्छ। ग्राहकले पनि परामर्शदाताको लागि प्रयाप्त समय दिनुपर्छ । खासगरीनक्सा डिजाइनको काममा निकै हतार गर्ने बानी हुन्छ । डिजाइनरले केहीदिनमै डिजाइन तयार गरिहाल्छन् भन्ने आम बुझाई रहेको हुन्छ तर बडो मेहनतसाथ हप्तौं समय लाग्ने काम केही दिनमै गर्न खोज्दा धेरै गल्तीहरु हुने सम्भावना निकै बढेर जान्छ ।
एउटा घर बनाउन घटीमा एक वर्ष लाग्छ भने डिजाइनको काम गर्न राम्रो परामर्शदातालाईएक महिनासम्म पनि समय लिनसक्छ, त्यसैले पनि डिजाइनको काममा प्रयाप्त समय निकाल्नुपर्छ ।कुनैपनि संरचना डिजाइनका विभिन्न हुन्छन र हरेक फेजमा काम गर्दा समय लाग्छ । तर अधिकांश ग्राहक जहाँ छिटो र कम मूल्यमा डिजाइन तयार हुन्छ त्यतातिर लाग्ने गर्छन । अनुभव नभएका परामर्शदाताले घरको डिजाइन त तयार गर्छन तर तपाईंको सपनाको घरले पूर्णता नपाउन पनि सक्छ । घर निर्माणलाई जस्तै डिजाइन र परामर्शदातालाई पनि उत्तिकै महत्व दिन निकै नै जरुरी छ ।

३ – नक्सा पास नहुँदै घर बनाउने हतार
जिन्दगीभरीको कमाईबाट जीवनमा एक पटक बनाइने घरमा मानिसहरु निकै नै हतार गर्ने गर्छन । कतिपयले नगरपालिकामा नक्सा पास हुँदै गर्छ, यता घर निर्माण सुरु गरिहालौं भनेर निर्माण थालनी गर्छन् । त्यसो गर्नु निकै नै ठुलो गल्ती हुने गर्दछ ।कहीलेकाहीँ नक्सा पास नहुँदै घर निर्माण थालनी गर्दा समस्या आउन सक्छ । तपाईले जग खनेर पिलर हालिसक्नु भएको हुन सक्छ, उता नगरपालिकाले तपाईले पेश गरेको नक्सा नमिलेको भन्दै परिवर्तन गर्न भन्न सक्छ । नक्सामा स्ट्रक्चर नमिल्ने,पिलरको साइज नमिल्ने वा अरु कमेन्ट गरिदियो भने त्यस्तो अवस्थामा के गर्ने ? यता निर्माणको काम सुरु भइसकेको हुन्छ । डन्डी काटिसकेको हुन्छ । यस्तो बेलामा नक्सा परिवर्तन गरेर फिल्डमा काम गर्न कठिन हुने र यसले सामाग्रीको पनि नोक्सान हुने गर्दछ ।त्यसैले हतारमा घर बनाउने होइन, नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण थालनी गर्नुपर्छ।

४-सरकारी मापदण्ड र कानुनको बेवास्ता
सबै मापदण्ड पुरा भए, आवश्यक सबै कागजातहरु पेश भए घर निर्माण समयमै र सजिलै हुन्छ । सरकारी स्तरबाट अनुमति र स्विकृति लिने काम बास्तवमै केही झन्झटिलो भने हुने गर्दछ । यो काममा समय र पैसा दुबै खर्च हुन्छ । तर, सबै मापदण्ड पुरा नगरी र सरकारी निकायबाट अनुमति नलिइ घर निर्माणमा जुट्दा नक्शा पास नहुने र भवन निर्माण सम्पन्‍नको प्रमाण पत्र पनि नपाइने समस्या हुन सक्छ । निर्माण सम्पन्‍नको प्रमाणपत्र नभए सवैतिर कानुनी अड्चन सुरु हुन्छ ।घर निर्माण सुरु गर्नुअघि झन्झट हुन्छ, समय र पैसा खर्च हुन्छ भनेर लापरवाहि गरेमा पछि झनै ठूलो समस्या र चुनौती आइपर्ने हुन्छ । त्यसैले आवश्यक सबै कागजातहरु तयार पार्ने र सरकारी मापदण्ड अनुसार निर्माण कार्यमा लाग्नाले पछि आईपर्ने कानुनी झन्झटबाट मुक्ति मिल्दछ ।

५-घरको थ्रिडी डिजाइन नखोजिनु
धेरैले नक्साको डिजाइन गरेपछि थ्रिडी फोटो वा भिडियो खोज्दैनन् । तपाईंले आफ्नो घर बाहिरबाट हेर्दा कस्तो बन्दैछ भनेर पहिल्यै थाहा पाउनु एकदमै हितकर हुन्छ । पछिल्लो समय धेरैले घरको बाहिरी आउटलुक खोज्न थालेका छन यद्यपि कम खर्चमा डिजाईनको काम गराउन खोज्नुले गर्दा डिजाईनरले पनि प्रयाप्त समय दिन नचाहनुले पनि यसमा समस्या ल्याउने हुन्छ। यदि डिजाइनरले थ्रिडी फोटो दिन भन्यो भने दुई पैसा बढी तिरेर भएपनि लिनुपर्ने हुन्छ।मेरो घर बनेपछि बाहिरबाट कस्तो देखिन्छ देखाउनुस् भन्नुपर्छ। थ्रिडी बनाउन थप समय लाग्छ, परामर्शदाताको खर्च थप लाग्ला, तर थ्रिडीमा देखेपछि मेरो घर यस्तो बन्छ भन्‍ने थाहा त हुन्छ नि अनि निर्माणको काम गराउन पनि यसले धेरै सजिलो बनाईदिने गर्दछ र थ्रीडी हेरेर केही कुरामा चित्त नबुझे डिजाइनको फेजमा परिवर्तन गर्न पनि सकिने हुन्छ ।
तर, धेरै ग्राहकले पैसा खर्च हुने लोभमा थ्रिडी बनाउन नखोज्नेबिभिन्न परामर्शदाताहरुले अनुभव सुनाउने गर्दछन । यदि डिजाइन नै राम्रो छैन भने जतिसुकै राम्रो ठेकेदार वा निर्माण सामाग्री प्रयोग गरेपनि घर राम्रो बन्दैन ।घरको जस्तो डिजाइन तयार हुन्छ त्यस्तै घर बन्‍ने हो । त्यसैले घरको डिजाइनमा प्रयाप्त समय र मेहेनत लगाउनुपर्छ ।घरभित्रका कोठा र सुविधाहरु पनि डिजाइनकै चरणमा तयार गर्ने हो । आफ्ना आवश्यकताहरु डिजाइनरलाई भनेपछि उसले तपाईंको आवश्यकता र आकांक्षा अनुसारको डिजाइन तयार पारिदिन्छ ।

६-इलेक्ट्रिकल र प्लम्बिङको डिजाइनमा बेवास्ता गर्नु
सबैले घरको स्ट्रक्चर डिजाइनमा धेरै मेहेनत गर्छन । घरमा इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गर्न छुटाइरहेको हुन्छन । सम्बन्धित क्षेत्रको दक्ष परामर्शदाताबाट इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गरेपछि घरमा विद्युत चुहावट भएर हुने आगलागीदेखि पानी चुहिने समस्यासम्म कम हुन्छन् ।तपाईंको घर जबसम्म रहन्छ तबसम्म त्यो नक्सा काम लाग्छ । डिजाइन नगरी घरमा विद्युतीकरण गर्दा बत्तीवालाले कहाँ–कहाँ प्वाइन्ट राखिदिन्छ पछि मर्मत गर्ने बेलामा फेला नपरेर सबै फुटउनुपर्ने हुन्छ, तर राम्रोसँग डिजाइन गरेर डिजाईन अनुसार नै वायरिङ र प्लम्बिङ गर्यो भने सजिलै प्वाइन्ट पत्ता लगाउन सकिन्छ र मर्मत सम्भारका लागि पनि कुनै समस्या हुँदैन ।
राम्रो परामर्शदाताले डिजाइन गरेपछि वायरिङ र प्लम्बिङ धेरै हदसम्म सुरक्षित पनि हुन्छ । घरीघरी एउटै विद्युतको काम गर्ने मान्छे पनि खोजिरहन पर्दैन । अर्को मान्छेले पनि डिजाइन हेरेर मर्मत गरिदिन सक्छ ।
अहिले केही नगरपालिकाले एक हजार स्क्वायर फिटभन्दा ठूलो घरका लागि इलेक्ट्रिकल र प्लम्बिङको अनिवार्य डिजाइन माग्छ । तर, साना घरमा डिजाइन गर्ने चलन छैन्, ठेकेदारको भरमा छोडिदिने चलन छ । अझै पनि जसरी घरको स्ट्रक्चर डिजाइनमा प्राथमिकता गरिन्छ, त्यसरी नै इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गर्ने विषयमा मान्छेहरु पछाडि नै छन् ।तर अब सुरक्षातर्फ सचेत हुन एकदमै जरुरी छ ।

७-के कस्तो ठेकेदार छान्ने त ?
तपाईले बनाएको घरको सुन्दर डिजाइनलाई मुर्त रुप दिने कन्स्ट्रक्सन कम्पनी (ठेकदार) ले हो । घर निर्माण सुरु गरेदेखि नसकिदासम्म कुनै पनि ठेकेदारसँग महिनौसम्म काम गर्नुपर्ने हुन्छ । आफ्नो सपनाको घरलाई साकार रुप दिनका लागि अनुभवी ठेकेदार छनौट गर्नुपर्ने हुन्छ। कम रकममै ठेक्कामा काम गर्ने मान्छे होइन कि राम्रो काम गर्ने अनुभवी ठेकेदार छनोट गरेर घर निर्माणको जिम्मा लगाउनुपर्छ। अनुभवी र असल ठेकेदार काम गर्ने शैली पनि राम्रो हुन्छ, भनेकै समयमा खोजेकै गुणस्तरमा घर निर्माण सम्पन्न गरिदिन्छ । तपाईंले जति राम्रो इञ्जिनियर वा सुपरभाइजर राखे पनि आखिरी काम गर्ने ठेकेदार कम्पनीले नै हो । त्यसैले आफुले चयन गरेको निर्माण कम्पनी वा ठेकेदार अनुभवी, सक्षम र विश्वसनीय छ कि छैन पहिल्यै निश्‍चित गर्नुपर्छ । काम सुरु भएपछि ठेकेदार परिवर्तन गर्न कठिन, खर्चिलो र झन्झटिलो पनि हुन्छ । ठेकेदार छनौट गर्नुअघि उसले निर्माण गरेका र गरिरहेका केही संरचनाहरु हेर्ने हो भने ठेकेदार छनौटमा निकै सघाउ पुग्छ।

८- निरीक्षणका निमित्त प्राविधिक जरुरी छ
तपाईंले आँखाले हेरेर पिल्लर सिधा छ कि छैन, गारो सिधा छ कि छैन, सामान्य रुपमा लेवल मिलेको छ कि छैन भनेर हेर्नत सक्नुहोला । तरडन्डी काट्ने र बाँध्ने तरीका, डण्डी जोड्ने ठाउँ, सिमेन्ट, बालुवा र गिट्टीको घोल बनाउने तरीका र मात्रा, पिल्लर र बिम बाँध्ने बिधी लगायत प्रविधिक काम थाहा हुँदैन । ठेकदार कम्पनीले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर निरिक्षण गर्न विश्वसनीय र अनुभवी प्राविधिक राख्नुपर्ने हुन्छ, जुन कुरा केही पैसा जोगाउने ध्याउन्नमा अधिकांश घर धनिले छुटाएका हुन्छन। जसले गर्दा सामाग्रीको सही प्रयोग नहुने, कतै चाहिनेजति सामाग्री नलाग्ने तथा कतै अनावश्यक सामाग्री लागेर खर्च बढ्ने हुन्छ र अन्ततस् लागत बढ्ने र डिजाईन बमोजिम घर बन्न नसक्ने जोखिम पनि कायमै रहन्छ।

९-गुणस्तर यकिन नगरी सामाग्रीप्रयोग गर्नु
हामीले यस्ता कुरामा त्यति ध्यान दिने गरेको पाईदैन । ठेकेदार कम्पनीले पनि आफुलाई जे सहज हुन्छ त्यहि तरिकारले काम गरिदिन्छन् ।केही ठेकेदार कम्पनीले सस्तोमा काम गरिदिने निहुमा हुनुपर्ने मापदण्डभन्दा बाहिरका सामाग्रीहरु प्रयोग गर्ने गर्दछन ।बजारमा धेरै थरीका सिमेन्ट, छड तथा अन्य सामाग्री उपलब्ध छन, कुन प्रकारको र कुन गुणस्तरको सामाग्री प्रयोग गर्ने भन्ने कुरा प्राविधिकबाट निर्क्यौल गराएर मात्र प्रयोग गर्नुपर्दछ अन्यथा लाखौं लगानी र महिनौंको समय दिदादिदै पनि अपेक्षित गुणस्तर प्राप्त नहुनेमा दुईमत छैन।

०-ठेकदारलाई सर्वेसर्वा बनाईनु
आफ्नो पेश व्यवसाय, कार्यालयको काम तथा व्यस्तताको कारणले गर्दा घर निर्माणको काममा प्रयाप्त समय दिन नसकिने कुरा अहिलेको यथार्थ हो। तर एकपल्ट सोचौं त, तपाईले सम्पूर्ण कामको जिम्मा दिएको ठेकेदारले तपाईको अनुपस्थितिमा तपाईले भनेकै सामाग्री प्रयोग गरिरहेको होला तर खरिद गरेको सबै सामाग्री ठिक दररेटमा किनिएको होला ? खरिद गरेर ल्याईएको सबै सामाग्री उपयुक्त समयमा उपयुक्त तरीकाले प्रयोग भएको होला ? यसर्थ घर निर्माण गर्दा सबै कुराको जिम्मा र निर्णय लिने कामठेकेदारलाई छोडेर निष्क्रिय बस्नुलाई किमार्थ राम्रो मान्न सकिदैन। निर्माणको कामको हरेक समयमा आफु प्रत्यक्ष सहभागी हुनैपर्छ ।ठेकेदारको कुरालाई पनि विचार गरेर स्वयम आफूले पनि बजार बुझेर निर्माण सामाग्रीको खरीदको निर्णय लिने गर्नुपर्छ। निर्माणमा प्रयोग हुने सिमेन्ट, रड, गिट्टी, बालुवा, काठ,मार्बल, पेन्ट, किचन तथा बाथरुमका सामाग्री लगायत खरिद गर्दा ति सामाग्रीको मुल्य तथा गुणस्तरका विषयमा आफुले पनि राम्रोसंग बुझेर मात्र खरिद गर्नुपर्छ । तपाईं चनाखो हुनुभयो भने कसैले पैसाको दुरुपयोग गर्ला र सामाग्रीको गुणस्तरमा प्रश्‍न खडा होला भन्‍ने चिन्ता हटेर जान्छ ।

११ – कत्रो घर आवश्यक हो ?
यो पनि अर्को ठुलो गल्ती हो । कतिपयले एक तला घर बनाउँदा पुग्ने भएपनि समाज र आफन्तलाई देखाउनलाई मात्रै भए पनि ठूलो घर बनाउन खोज्छन, प्रयाप्त पुगिरहेकैछ भनेपनि तल्ला थप गर्न खोज्छन। त्यो घर भाडामा लगाउन सके त केही आर्थिक लाभ होला नत्र यसले निकै आर्थिक भार व्यहोर्नुपर्ने हुन्छ ।आफुलाई जति आवश्यक हो त्यत्रै घर बनाउने हो, त्यत्ती मात्र तल्ला बनाउने हो, घर बनाउँदा छिमेकीको तथा अनुरोध अनावश्यक दवाव महशुस गर्नुलाई बुद्धिमानी मान्न सकिदैन, यसले अनावश्यक बैंकिङ ऋण लिनुपर्ने हुन्छ, भोलि बैंकको किस्ताले थिच्न थाल्छ ।

१२ – घर आफ्नोजस्तो बनाउने हो न कि कसैको जस्तो
धेरैले भन्ने गर्दछन, मेरो फलानोले यस्तो घर बनाएको छ त्यस्तै डिजाइन घर बनाउछु,त्यो पनि गलत हो । कुनै पनि डिजाइनर कहाँ घरको आफ्नो मौलिक डिजाइन गर्न जाने हो कपी पेष्ट गर्न जाने होइन । तपाईं आफ्ना आवश्यकताहरु डिजाइनरलाई बताउनुस्, कमेन्ट गर्नुस् तर आफै डिजाइनर बन्न चाही नखोज्नुस। यदि तपाई पहिलो पटक घर बनाउँदै हुनुहुन्छ र माथि उल्लेख गरेका गल्तीहरु हुन नदिने गरी काम थाल्नुहुन्छ भने घर बनेपछि पछुताउने सम्भावना रहदैन।

पाण्डे टीकापुर नगरपालिकाको, सव इन्जिनियर पूर्वाधार विकास शाखामा कार्यरत छन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार