४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा अपराधिक घटनामा निरन्तर बृद्धि



१८–४० वर्ष उमेर समुहका बढी प्रभावित

धनगढी / सुदूरपश्चिम प्रदेशमा अपराधका विभिन्न घटनामा १८ देखि ४० उमेर समुहका व्यक्तिहरू बढी संलग्न रहनेगरेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रदेशभरीको अपराधको विद्यमान अवस्था प्रतिवेदन अनुसार प्रदेशमा विभिन्न अपराधका घटनामा १८ देखि ४० उमेर समुहका बढी पीडित बनेको विश्लेषण गरिएको छ ।

गत आर्थिक वर्ष ०७८/७९ मा जघन्य, गम्भिर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका अपराधमा ४० वर्षसम्म उमेर समुहका बढी पीडित बनेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा जघन्य अपराधका तीन सय एक मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समुहका एक सय ६४ जना पीडित भएको विश्लेषण गरिएको छ । जघन्य अपराधमा १८ वर्षमुनि उमेर समुहका एक सय २० जना, ४० देखि ६० उमेरसमुहका १९ र ६० भन्दा माथिका चार जना पीडित रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा कर्तव्य ज्यानका ५८ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समुहका ३५ जना संलग्न रहेका छन् । त्यस्तै, जबरजस्ती करणीका दुई सय ३५ मुद्दा दर्ता भएकोमा एक सय ३५, अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएकोमा एक र मानववेचविखका आठ वटा मुद्दा दर्ता भएकोमा दुई जना पीडित रहेका छन् ।

गम्भिर प्रकारका अपराधअन्र्तगत दुई सय ८४ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेर समुहका दुई सय नौ जना पीडित बनेका छन् । गम्भिर प्रकारका अपराधमा १८ वर्ष मुनिका आठ, ४० देखि ६० उमेर समुहका ७२ र ६० वर्षभन्दाका पा“च जना पीडित बनेका छन् ।

प्रदेशमा ज्यान मार्ने उद्योगमा ७३ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेरसमुहका ५६ जना पीडित बनेका छन् । आत्महत्या दुरुत्साहनका ३० मुद्दा दर्ता भएकोमा २० जना, डाका चोरीका चार मुद्दा दर्ता भएकोमा चार जना, अन्य चोरीका एक सय ७६ मुद्दा दर्ता भएकोमा एक सय २९ जना पीडित भएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्धका चार सय २७ मुद्दा दर्ता भएकोमा १८ देखि ४० उमेरसमुहका दुई सय ५७ जना पीडित रहेका छन् । सो अपराधका घटनामा १८ वर्ष मुनिका एक सय ४७ जना, ४० देखि ६० उमेर समुहका १९ र ६० भन्दामाथिका उमेर समुहका चार जना पीडित रहेका छन् ।

जवरजस्ती करणी उद्योगका ८९ मुद्दा दर्ता भएकोमा सो १८ देखि ४० उमेरसमुहका ५६ जना, बहुविवाहका ७९ दर्ता भएकोमा ७३ जना, जातिय छुवाछुतका चार मुद्दा दर्ता भएकोमा तीन जना पीडित भएका छन् ।

प्रदेशमा विभिन्न अपराधका घटनामा १८ वर्षमुनि उमेर समुहका पीडित हुनेमा दोस्रो रहेको छ । मानव वेचविखनका घटनामा १८ वर्ष मुनिका उमेर समुहका छ जना, बालविवाहका पाँच मुद्दा दर्ता भएकोमा पाँच, अवैध गर्भपतनमा एक, बालयौन दुराचारमा १२, अप्राकृतिक मैथुनमा एक जना पीडित भएका छन् ।

जवरजस्ती करणीमा १८ वर्षमुनिका १९, जवरजस्ती करणी उद्योगमा २९ जना, अन्य चोरीमा तीन जना, ज्यानमार्ने उद्योगमा एक, आत्महत्या दुरुत्साहनमा तीन, गर्भ संरक्षण विरुद्धको कसुरमा एक, अपहरण तथा शरीर बन्धकमा एक, कर्तव्य ज्यानमा १४ जना पीडित भएका छन् ।

प्रदेशमा लागु औषध, अवैध शिशु, मदिरा सेवा, सौताको रिसिविई, आर्थिक अभाव, लेनदेन, अशिक्षा, अन्धविश्वास लगायतलाई अपराधका प्रमुख कारण रहेको प्रहरी अनुसन्धानले जनाएको छ । गाउँले, भाई/बहिनी, जेठाजु/बहुरानी, साली/भेना, चिनजान, फुपु, धर्मपुत्रि अधिकांश घटनामा पीडित र अभियुक्त बिचको पूर्व चिनजान सम्बन्ध रहेको, छिटफुटका घटनामा आफन्त अभियुक्त रहने गरेका छन्’ प्रहरी वरिष्ठ उपरिक्षक भोलाबहादुर रावलले भने प्रहरी कार्यालयबाट विभिन्न सचेतनामुलक कार्यक्रम अघि बढाउदा पनि अझै अपराधका घटनामा कमी ल्याउन सकिएको छैन ।

जातीय विभेद कायमै
सुदूरपश्चिम प्रदेशमा जातीय छुवाछुत, बोक्सी प्रथा, भेदभाव तथा अपमानजन्य लगायतका कुरिती कायमै रहेको छ ।
नौ वटा जिल्ला रहेको यस प्रदेशमा सामाजिक विकृत तथा कुरिति अझै हट्न सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशभरीमा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार, बोक्सी आरोपमा कुटपिट, जातीय छुवाछुत लगायतका घटनाका मुद्दा दर्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारका दुई सय नौ मुद्दा दर्ता भएका छन् । जातिय छुवाछुतका चार वटा मुद्दा दर्ता भएको छ भने बोक्सी आरोपमा कुटपिटका एक मुद्दा दर्ता भएको छ ।

जातिय छुवाछुत तथा विभेद र बोक्सी आरोपमा कुटपिटका घटना छरछिमेकीबाटै हुने गरेको जनाइएको छ । अन्धविश्वासका कारण यस्ता घटना अझै समाजमा कायम रहेको प्रहरी वरिष्ठ उपरिक्षक भोलाबहादुर रावलले बताए ।

यस्तै प्रदेशमा सार्वजनिक हित, स्वास्थ, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुरसम्बन्धीका चार सय ४७ मुद्दा दर्ता भएका छन् भने सार्वजनिक शान्ति बिरुद्धको कसुरसम्बन्धीका एक सय ७२ मुद्दा दर्ता भएका छन् ।

प्रदेशमा आर्थिक वर्ष २०७८/७९ सामान्य अपराधका सात सय ८० मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार