१९ बैशाख २०८१, बुधबार

धामी-झाँकी सम्मेलन : मर्यादित महिनावारीको लागि १४ बुँदे घोषणा पत्र जारी




धनगढी / सुदूरपश्चिमका प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री अम्मरबहादुर साउँदले धामी, झाँकी, धमेनी र स्थानीय तहका उपप्रमुखहरुद्धारा मर्यादित महिनावारीको लागि जारी गरिएको १४ बुँदे घोषणा पत्रको प्रदेश सरकारले स्वामित्व लिने बताएका छन् ।

मर्यादित महिनावारीको लागि धामी, झाँकीको तीन दिने सम्मेलनको समापन कार्यक्रममा शनिबार बोल्दै उनले मुलकमै पहिलो पटक भएको यस्तो सम्मेलनले परिणाम दिने विश्वास व्यक्त गरे ।

राज्यमन्त्री साउँदले घोषणा पत्र अनुसार आफ्नो व्यवहार परिवर्तन गर्न धामी, झाँकी र धमेनीलाई आग्रह गरे । प्रयत्न, अठोट र प्रतिवद्धताले कुरिती र कुसंकार हट्ने विश्वास गर्दे उनले आगामी दिनमा अझै छाउपडी प्रथा छ भन्ने समाचार देख्न नहुने गरेर सरोकारवाला निकाय सबै लाग्नु पर्ने पनि बताए ।

सम्मेलनमा बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको मुगु जिल्लाका ३५ जना धामी र धमेनी सहभागिता रहेको थियो । सो सम्मेलन कोरियाली संस्था कोइकाको सहयोगमा गुड नेवर्स इन्टरनेशनल लगायतले आयोजना गरेका हुन ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी (छाउपडी) सम्वन्धी कडा सामाजिक प्रतिवन्धहरु छन् । जसले गर्दा किशोरी तथा महिलाहरुको स्वास्थ्य र समग्र विकासमा आद्यात पुगाएको देखिन्छ । कार्यक्रममा मुगुको खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले आफ्नो पालिकाले छाउ प्रथा अन्त्य गर्न चाँडै कार्यक्रम ल्याउने पनि बताइन ।

सम्मेलनका सहभागीहरुले बलत्कार, महिला हिंसा विभिन्न जनावरबाट हुने महिलामाथि आक्रमण पनि छाउपडी प्रथाकै कारण उत्पन्न भएको बताउदै यस्तो कुप्रथा अन्त्य गर्ने पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका दयाकृष्ण पन्त, पिसविन नेपालका पूर्व अध्यक्ष लालबहादुर ओली लगायतले महिनावारी व्यवस्थित बनाउनका लागि आफ्ना सुझाव र धारणा राखेका थिए ।

मर्यादित महिनावारीको लागि धामी-झाँक्री सम्मेलन ,२०७९ बाट पारित घोषणा-पत्र

प्रस्तावना : नेपाल पक्षराष्ट्र बनेका मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरु जस्तैः मानव अधिकार सम्बन्धी विश्‍वव्यापी घोषणापत्र, १९४८,  मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अनुबन्ध, १९६६, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय अनुबन्ध, १९६६, महिला विरुद्वका सबै प्रकारका भेदभावको अन्त्य गर्ने महासन्धि, १९७९, महिला विरुद्वका सबै प्रकारको भेदभाव अन्त्य गर्ने महासन्धि, १९७९, बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ को अनुसरण गर्ने प्रतिवद्वता व्यक्त गर्दै;

नेपालको संविधानले आत्मसाथ गरेको विभेदरहित, समतामूलक, न्यायपूर्ण समाज एवं समृद्व राष्ट्र निर्माणका लागि मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्‍ने मान्यतालाई आत्मसात गर्दै;

संविधान, कानून तथा लैंगिक न्यायका मान्य सिद्वान्त अनुरुप समाजमा विद्यमान सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने प्रतिवद्वता व्यक्त गर्दै;

मुलुकी अपराध संहिता, २०७४, पन्ध्रौं आवधिक योजना (आर्थिक वर्ष २०७६/०७७- २०८०/०८१), घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६४, राष्ट्रिय लैंगिक समानता नीति, २०७७, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, बालबालिका सम्बन्धि ऐन, २०७५, बालविवाह अन्त्यका लागि राष्ट्रिय नीति, २०७२, लगायतका कानूनको परिपालना गर्ने प्रतिज्ञा गर्दै;

मर्यादित महिनावारी र स्वच्छता सम्बन्धी उपयुक्त सूचनाहरु प्रसारित गरी घरपरिवार, विद्यालय र समुदायमा महिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापनसँग सम्बन्धित समस्याहरु व्यवस्थापन गर्नेतर्फ दृढ संकल्प गर्दै;

महिनावारीको समयमा कुनै भेदभाव नगरी किशोरी र महिलाहरुलाई उनीहरुको मर्यादा, स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, गतिशीलता, सहभागिता र आत्मसम्मानको अधिकारको रक्षा र प्रवर्द्वन गर्नेतर्फ दृढता व्यक्त गर्दै;

मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने कुरामा पुनः प्रतिवद्वता जनाउँदै;

सम्वत २०७९ साल साउन ५ गते विहिवार प्रारम्भ भइ साउन ७ गते शनिवार कैलाली जिल्लाको सदरमुकाम धनगढीमा सम्पन्‍न भएको मर्यादित महिनावारीको लागि धामी-झाँक्री सम्मेलनका हामी धामी-झाँक्री लगायतका सहभागीहरु यो घोषणापत्र जारी गर्दछौं।

  • मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावरीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु-प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनु पर्छ भन्ने  ध्येयका साथ नेपालमा पहिलोपटक आयोजना गरिएको यस धामी झाक्री सम्मेलनमा सहभागी हुन पाएकोमा गर्व महसुस गर्दछौं।
  • महिनावारीको रगत पवित्र हो। यो नै सृष्टिको आधार हो। यसलाई मर्यादित बनाउनुपर्छ।मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी हो भन्ने कुराको बोध भएको छ।तसर्थ, धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्दै महिनावारीलाई मर्यादित बनाउन विशेष पहल गर्नेतर्फ कटिबद्व छौं।
  • समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सृजना गर्न उनीहरुलाई कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारी मैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिन हामी तत्पर छौं।
  • घर परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान ब्यबहार गर्नेछौं।
  • हामी धामी-झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको बारेमा सू-सुचित गर्नेछौं।
  • घरमा मर्यादित महिनावारी सम्बन्धी सूचना तथा सन्देशहरु टाँस गर्ने गराउने छौं।
  • महिनावारिको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्नेछौं।
  • विद्यालयलाई मर्यादित बनाउन गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरेर जनचेतनामुलक क्रियाकलाप गर्ने तथा महिनावारी भएको समयमा पनि किशोरीहरुलाई विद्यालय जान प्रोत्साहित गर्नेछौं।
  • विद्यालयमा मर्यादित महिनावारी सम्बन्धित सन्देशहरु भित्ताहरुमा टाँस्न लगाउने छौं। महिनावारी मर्यादित बिद्यालय बनाउनलाई महिनावारी मैत्री चर्पी, पानी तथा महिनावारी सामग्री व्यवस्था गर्न पालिकालाई अनुरोध गर्नेछौं।
  • प्रदेश तथा पालिकासंग समन्वय गरेर समुदायमा मर्यादित महिनवारी सम्बन्धि जनचेतना जगाउने, तालिम, गोष्ठी, सडकनाटक, पोस्टर, पम्प्लेट आदिका लागि बजेट व्यवस्थापन गर्न ध्यानाकर्षण गराउनेछौं।
  • पालिकाले धामी-झाँक्री, अभियन्ता, पत्रकार आदि हरुलाई मर्यादित महिनावारीको प्रचार प्रसार गर्न परिचालन गर्नेछ भन्‍नेमा हामी विश्‍वस्त छौं।
  • समाजमा आध्यात्मिक र धार्मिक गुरुका रुपमा पहिचान पाएका हामी धामी झाँक्रीहरुमध्ये मर्यादित महिनावारीलाई प्रोत्साहन र प्रवर्द्वन गर्नेहरुका लागि उचित पुरस्कार र सम्मानको व्यवस्था गरियोस् भनी सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रलाइ समेत विशेष अनुरोध गर्दछौं।
  • समुदायमा मर्यादित महिनावारी प्रवर्धन गर्न दिवसहरु जस्तैः महिनावारी व्यवस्थापन दिवस, मे २८ तथा मर्यादित महिनावारी दिवस, डिसेम्बर ८ अन्तरराष्टिय महिला दिवस तथा १६ दिने लैँगीक हिँसा विरुद्धको अभियान आदि लाई विशेष महत्वका साथ मनाउने छौं।
  • महिनावारी कानून (३ महिना जेल वा ३००० जरिवाना वा दुवै) को पालना गर्न गराउन प्रचार प्रसार गर्नेछौं।

अन्तमा,  यस सम्मेलनको उद्घाटनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्रीज्यू र समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्रीज्यू उपस्थित भइ आफ्नो महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएकोमा आभार प्रकट गर्दछौं।त्यस्तै, सन्चारकर्मी, सुदूरपश्‍चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्थानीय वुद्विजिवी वर्ग लगायत सम्पूर्णमा धन्यवाद टक्र्याउँछौं।साथै सम्मेलनको सफल आयोजनाका लागि कोइका गुडनेवर्स लगायत साझेदार सँस्था पीसविन किडार्क र केपीडिएफलाई धन्यवाद ज्ञापन गर्दछौं।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार