३ माघ २०८१, बिहीबार

गेटा मेडिकल कलेजको अनुगमनका लागि संसदीय टोली कैलालीमा



धनगढी/ कैलालीको गोदावरी नगरपालिका, गेटामा निर्माण भएको प्रस्तावित गेटा मेडिकल कलेजको अवस्था अध्ययन तथा अनुमगनका लागि सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य समिति आइतबार कैलाली आइपुगेको छ ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा अञ्जना विशङ्खे, चित्रलेखा यादव, नविन लामा, भैरवबहादुर सिंह, मानबहादुर विश्वकर्मा र डा. दीपकप्रसाद भट्ट रहेको संसदीय टोलीमा कैलाली क्षेत्र नम्बर ५ का सांसद नारदमुनि राना आमन्त्रित सदस्य रहेका छन् ।

संसदीय समितिले प्रस्तावित गेडा मेडिकल कलेज सञ्चालनको अवस्थाबारे अध्ययन तथा अनुगमन गर्ने जनाइएको छ । संसदीय समितिले अध्ययन, अनुगमनपछि सरोकारवालाहरुसंग आजै (आइतबार) छलफल समेत गर्ने जनाइएको छ । दुई दशकदेखि चर्चामा रहेको र सात वर्षदेखि भवन लगायतका भौतिक संरचना निर्माण भइरहेको गेटा मेडिकल कलेजका हालसम्म सात सय शैया क्षमताका दुई भवनसहित ठुला साना गरी ३५ भवन निर्माण भइसकेका छन् ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिमार्फत भौतिक संरचना निर्माण भएका हुन् । भौतिक संरचना निर्माणमा साढे चार अर्ब रुपैयाँ बढी खर्च भइसके पनि सरकारले कुन मोडलमा सञ्चालन गर्ने , भन्नेबारे कुनै नीतिगत निर्णय नगरेका कारण अन्यौल रहँदै आएको थियो ।

पछिल्लो पटक सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । शुरुमा गेटामा अस्पताल सञ्चालन गर्ने र पछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नती गर्ने तयारी भइरहेको छ । गत ९ ९असार० मा सरकारले डा. प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको निर्देशकमा नियुक्त गरिसकेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति र कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनबारे कुनै उल्लेख नभएपछि कैलालीमा जनस्तरबाट आन्दोलन उठेको थियो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा १०८ मा भनिएको थियो– “प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइने छ । सुदूरपश्चिम विश्वविद्यालयसंगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ ।

जनस्तरमा आन्दोलन जारी रहेको वेला सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले झन् अन्योल बढाएको थियो । सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा १७० मा भनिएको थियो– “बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पताल तथा गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाइने छ ।

पछिल्ला दुई दशकको अवधिमा यो संस्था कहिले आयुर्विज्ञान प्रतिष्ठान, कहिले दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान त कुनै वेला मेडिकल कलेजका रुपमा प्रस्तुत गरिँदै आएको छ । २०५६/०५७ तिर “शङ्कराचार्य आयुर्विज्ञान प्रतिष्ठान” २०६८ देखि आर्थिक वर्ष २०७३/७४ सम्म दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यसपछिको समयमा मेडिकल कलेजका रुपमा प्रस्तुत गरिएको र चलनचल्तिमा गेटाल मेडिकल कलेजबाट चिनाइएकोमा पछिल्ला दिनहरुमा सुदुरपश्चिमेली जनता, प्रदेशबाट प्रतितिनिधित्व गर्ने सबै सङ्घीय सांसद, स्वास्थ्य क्षेत्रका विज्ञ, शिक्षाविद्, लगायतका सरोकारवालाहरु गेटामा चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन हुनुपर्नेमा एकमत भएका छन् ।

सांसदहरु र आन्दोलनरत नागरिकले विभिन्न चरणमा प्रधानमन्त्री, शिक्षा र स्वास्थ्यमन्त्रीलाई गेटामा चिकित्सा विश्वविद्यालय सञ्चालनको मागसहित ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार