राष्ट्रिय जनमोर्चामा पनि विवाद
धनगढी / दुई वटा प्रदेश कमिटी गठनसंगै राष्ट्रिय जनमोर्चामा विवाद शुरु भएको छ ।
राष्ट्रिय जनमोर्चा (राजमो) का सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा केन्द्रीय सदस्य लालबहादुर जाग्रीको अध्यक्षतामा भएको दुई दिने भेलाले लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेश समिति पुनर्गठन गरेको छ ।
तर, केही महिनाअघि राजमोको केन्द्रिय कमिटिले सुदूरपश्चिम प्रदेशमा नन्दराज भट्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको थियो । सो कमिटिमा रहेका अध्यक्ष भट्ट बाहेक सबै पदाधिकारी तथा कार्यकर्ता भेला भई प्रदेश कमिटी पुनर्गठन गरिएको बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा भेलाद्वारा अध्यक्ष निर्वाचित लम्सालले भने– हामीले पार्टीको विधान र कानुनी व्यवस्था अनुसार प्रदेश समितिको भेलाबाट निर्वाचित गरेका हौं । हाम्रो पक्षमा पार्टीका ९० प्रतिशत कार्यकर्ताहरूको सहमति रहेको छ । केन्द्रिय कमिटिको भन्दा पनि कार्यकर्ताको मतको कदर गर्नुपर्छ ।
उनले प्रदेशमा रहेका पार्टीका विभिन्न जनवर्गिय समितिका पदाधिकारीहरू आफनो अध्यक्षतामा गठन भएको कमिटिको पक्षमा रहेको दाबी गरे । उनले भने– वैचारिक रुपमा पार्टी भित्रको फरक मतको राजनीतिलाई स्वीकार गर्दै अघि बढ्ने छौं । अब सुदूरपश्चिम प्रदेशमा मात्र नभई देश र प्रवासमा पनि पार्टी केन्द्रका दक्षिणपन्थी, संक्रिण र अकर्मण्य कार्यको विरोध गर्दै अगाडि बढ्ने छौं ।’
यसअघि केन्द्रीय कमिटीले गठन गरेको नन्दराज भट्ट नेतृत्वको प्रदेश कमिटिमा लम्साल उपाध्यक्ष रहेका थिए । जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टको सुदूरपश्चिम प्रदेश पकड क्षेत्र हो । उनको पक्षमा रहेका सबै कार्यकर्ताहरू अहिले विरोधमा उत्रिएका छन् । प्रदेशको धनगढीमा मंगलबार र बुधबार गरि दुई दिनसम्म कार्यकर्ता भेला गरी नयाँ कमिटि चयन भएसंगै उनको विरोध बढेको छ ।
राजमोले मंगलबार लम्सालको कार्यसमितिबाट सचिवमा चयन भएका लक्षीराम आचार्यलाई कारबाही गरिएको जानकारी दिएको थियो । पार्टीको अनुशासन विपरित काम गरेको भन्दै उनलाई कारबाही गरिएको महासचिव मनोज भट्टले जानकारी दिए ।
प्रदेश अध्यक्ष नन्दराज भट्टले दुई दिन भेला गरेर गठन गरिएको कमिटि वैधानिक नभएको दाबी गरे । उनले भने– केन्द्रिय कार्यसमितिले मेरो अध्यक्षतामा रहेको कमिटिलाई कार्यकारी समिति भनेको छ । अहिले गठन गरेको कार्यसमिति अवैधानिक हो ।
जनमोर्चा पार्टीका सह–इन्चार्ज लालबहादुर जाग्रीले लम्सालको अध्यक्षतामा गठन गरिएको कमिटि नै पार्टीको आधिकारिक कमिटि रहेको बताए । उनले भने– हामीसंगै मनोज भट्ट र नन्दराज भट्टबाहेक पार्टीमा योगदान गरेका पार्टीका कार्यकर्ता सबै छन् । केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीलाई कार्यकर्ता चाहिने हो कि पद ? उनले यसलाई समर्थन गर्नेछन् ।
प्रदेश कमिटि पुनर्गठन भएपछि पार्टीका महासचिव भट्टले बुधबार नै प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश स्तरीय भेला पार्टीको निर्णयबाट नगरिएको प्रतिक्रिया दिएका छन् ।
‘०७८ भाद्र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित प्रदेश स्तरीय भेलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव भट्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– उक्त कथित प्रदेश स्तरीय भेला पार्टीको निर्णयबाट गरिएको, भएको होइन र छैन । त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो ।
उनले अवैध भेला र निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न सबै प्रदेश स्तरीय नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकहरूमा अपील गरे ।
उनले सो भेला र समिति अवैध भएकोले खारेज गरिएको जानकारी दिए ।
जनमोर्चाको नयाँ कमिटी
धनगढीमा आयोजित प्रदेश स्तरीय भेलाले लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
नयाँ कमिटिको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आर्चाय, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी रहेका छन् ।
सदस्यहरूमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण बिक, बिक्रम विश्वकर्मा, गोरबहादुर बिक, निरु बिक, सुरेन्द्र चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमबिक्रमचन्द, लालबहादुुर जाग्री छन् ।
सल्लाहकार समितिमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह बिक, कृष्ण पण्डित, पदम साउद, उधव ऐर रहेका छन् ।
सो समितिको बैठकले सबै जिल्ला कमिटिहरू पुन गठन गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले कञ्चनपुरका जिल्ला अध्यक्ष एवं प्रदेश समिति सदस्य रामबहादुर कार्कीलाई अनुशासनको कारबाही गरि पदबाट हटाई गोविन्द विकलाई संयोजक तोकेको अध्यक्ष लम्सालले बताए ।
कारबाहीमा परेकाहरूले पार्टीका कार्यकर्ता झुक्याए प्रदेश अध्यक्ष भट्ट
राष्ट्रिय जनमोर्चा पार्टी सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टले पार्टीले कारबाही गरेका व्यक्तिहरूले कार्यकर्तालाई झुक्याएर भेला गरेको बताए । उनले भने –‘हाम्रो पार्टीमा विवाद छैन ।
केही पार्टीको अनुशासन विपरित काम गरिरहेका व्यक्तिहरूलाई पार्टीले कारबाही गरेपछि कार्यकर्तालाई भ्रममा राखी भेला गरेका हुन ।’ उनले सो भेलालाई केन्द्रिय कमिटिले मान्यता नदिएको बताए ।
फरक मत राखेकै कारण मलाई कारबाही गरियोः आचार्य
लामो समयदेखि जनमोर्चा पार्टीमा लागेका लक्षीराम आचार्यले पार्टीले आफुलाई कारबाही गरेकोमा विश्वास नभएको बताए ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका आचार्यले आफुले फरक मत राखेकै आधारमा पार्टीले कारबाही गरेको बताए । उनले भने– ‘बुटवलमा भएको भेलामा मैले पार्टी गलतबाट अघि बढीरहेको भन्दै मैले सुझाव सहितको पत्र बुझाएको थिए । मेरो त्यो फरक मतकै कारण पार्टीले मलाई कारबाही गर्छ भन्ने विश्वास थिएन ।’
उनले पार्टी सुदृढीकरण र पार्टीलाई बलियो बनाउन दिइएको सुझावको सम्मान हुनुभन्दा उल्टै कारबाही गर्नु अनुचित निर्णय रहेको बताए । उनले पार्टीभित्र फरकमतका आधारमा कार्यकर्तालाई जिम्मेवारी मुक्त गर्ने, घटुवा गर्ने, एकलिकरण गर्ने, निलम्बन गर्ने पार्टीबाट निस्कासन गरि शत्रुतापूर्ण व्यवहार गर्ने लगायतका गतिविधि सच्चिनुपर्ने बताए ।
आचार्य राष्ट्रिय जनमोर्चामा संगठित भैसकेपछि सुरुमा अनेरास्ववियू छैठौंको कैलाली बहुमुखी क्याम्पस ईकाई कमिटी उपाध्यक्ष भएका आचार्य जिल्ला सदस्य हुँदै २०६० सालमा कैलालीको टीकापुरमा भएको अखिल छैठौंको जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष भए ।
२०६० मा सहयोद्धा ग्यानेन्द्र हमाललाई बिना कसुर सेनाले माओवादीको आरोमा हत्या गरे आचार्यले भने–त्यो घटनाले मलाई राजनीतिबाट कहिल्यै पछाडि नहट्ने आक्रोस पैदा ग¥यो ।’ कैलालीको संयुक्त विद्यार्थी आन्दोलनको संयोजक समेत भएका आचार्य २०६२ सालमा पुनः जिल्ला सम्मेलनबाट अध्यक्ष भए ।
विद्यार्थी र पार्टीको राजनीति संगसंगै अगाडि बढाएका आचार्यले विद्यार्थीको केन्द्रीय कमिटीको कोषाध्यक्ष दुई कार्यकाल, वरिष्ठ उपाध्यक्ष एक कार्यकाल समेत बिताएका आचार्य २०६८ सालमा अखिल छैठौंको केन्द्रीय समितीबाट बिदा लिए ।
राष्ट्रिय जनमोर्चा कैलालीको सह–सचिव, सचिव हुँदै अध्यक्षको जिम्मेवारी पूरा गरेका आचार्य प्रदेश कमिटीको सचिवमा समेत एक वर्ष बिताउदै राष्ट्रिय जनमोर्चाको राष्ट्रिय केन्द्रीय परिषद सदस्य थिए ।