१० श्रावण २०८१, बिहीबार

चामल आयातमा अत्यधिक बृद्धि



धनगढी । कैलालीमा चालु आर्थिक वर्ष २०७७/०७८ मा विगतको तुलनामा चामल आयात ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष ०७७/०७८ मा चामल आयात ३८ प्रतिशतले बृद्धि भएको जनाइएको छ ।

कैलाली भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विण्टल चामल आयात भएको छ ।

कैलाली भन्सार कार्यालका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विण्टल र अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० क्विण्टल चामल आयात भएको थियो ।

कैलालीमा गत आर्थिक वर्ष ०७६/७७ को तुलनामा एक हजार एक सय ८८ हेक्टर कम जमीनमा धान खेती गरिएको थियो । गत वर्ष सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाई गरिएकोमा यस वर्ष एक लाख ८० हजार एक सय ४९ हेक्टर जमीनमा धान रोपिएको थियो । धान रोप्ने खेत घटे पनि धानको उत्पादन भने ३७ हजार २३ मेट्रिक टन बढी भएको थियो ।

कैलाली जिल्लामा धान खेती गर्ने क्षेत्रफल घटेको भए पनि छ दशमलव तीन प्रतिशतले धान उत्पादन बढेको थियो । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्षमा कैलालीमा २० हजार २५ मेट्रिक टन धान उत्पादन बढेको हो । गत आर्थिक वर्ष २०७६/७७ मा कैलालीमा तीन लाख २० हजार ९५ र चालू आर्थिक वर्ष २०७७/७८ मा तीन लाख ४० हजार एक सय २० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

सुदूरपश्चिममा ५० प्रतिशत बढी रोपाई

सुदूरपश्चिम प्रदेशभरी कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतभन्दा बढी धान रोपाई भइसकेकोे छ ।

कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले भने– अहिले रोपाई धमाधम भइरहेको छ । हामीले हप्तामा यो तथ्यांक संकलन गर्ने गरेका छौं । सोमबारसम्म कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतभन्दा बढी रोपाई भइसकेको अनुमान गरेका छौं । यकिन तथ्यांक १७ गते (विहिबार) सम्म आउँछ ।

कृषि निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार असार ११ गतेसम्म प्रदेशभरी कुल खेतीयोग्य जमिनको ४५ दशमलव ९३ प्रतिशतमा रोपाई भएको उल्लेख छ । प्रदेशमा एक लाख ८५ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबारसम्म ८५ हजार तीन सय ६८ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा रोपाई भएको छ । निर्देशनालयले दिएको विवरण अनुसार दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार सात सय ७७ हेक्टरमा रोपाई भइसकिएको छ ।

यस्तै, डडेल्धुरामा छ हजार एक सय ८८ हेक्टरमा रोपाई हुँदै आएकोमा तीन हजार सात सय १२ हेक्टरमा रोपाई गरिसकिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा सबैभन्दा कम रोपाई कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा ४८ हजार चार सय ७५ हेक्टरमा रोपाई हुँदै आएकोमा १६ हजार नौ सय ६६ हेक्टर (३५ प्रतिशत)मा रोपाई भइसकिएको छ ।

कैलालीमा ७० हजार पाँच सय २० हेक्टरमा रोपाई हुँदै आएकोमा शुक्रबारसम्म ३८ हजार सात सय ८६ हेक्टरमा रोपाई भइसकिएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार डोटीमा १० हजार सात सय १५ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा चार हजार पाँच सय हेक्टर, बैतडीमा नौ हजार हेक्टरमा रोपाई हुँदै आएकोमा चार हजार ५०, बझाङमा १२ हजार सात सय चार हेक्टरमा रोपाई हुँदै आएकोमा पाँच हजार सात सय १६, अछामा १६ हजार पाँच सय ९० हेक्टरमा रोपाई हुँदै आएकोमा सात हजार चार सय ६५ हेक्टर र बाजुरामा सात हजार एक सय ७५ हेक्टरमा रोपाई हुँदै आएकोमा तीन हजार नौ सय ४६ हेक्टरमा रोपाई भइसकेको छ ।

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाई छ । ‘अवश्य पनि यसपाली समयमै रोपाई सकिन्छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन’ उनले भने– ‘अघिल्लो बर्षभन्दा पहिले नै धेरै रोपाई भईसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ ।’

संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने प्रदेशमा आर्थिक वर्ष ०७६/७७ मा एक लाख ७४ हजार छ सय पाँच हेक्टरमा धान खेती भएकोमा छ लाख ३३ हजार आठ सय ५३ मेट्रिक टन धान उत्पादन भएको उल्लेख छ । मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ मा एक लाख ७४ हजार छ सय ८८ हेक्टरमा वर्षे धान रोपाई हुने अनुमान गरेकोमा छ लाख ४२ हजार चार सय ९९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा छ सय तीन हेक्टरमा चैते धान खेती गरिएकोमा दुई हजार आठ सय छ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा घटेर पाँच सय ४० हेक्टरमा धान खेती गरिएकोमा दुई हजार चार सय ९२ मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको छ ।

प्रदेशमा चैते र वर्षे धान खेती एक दशमलब एक प्रतिशतले उत्पादकत्वमा वृद्धि हुने मन्त्रालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा एक लाख ७५ हजार दुई सय आठ हेक्टरमा धान खेती गर्दा छ लाख ३६ हजार छ सय ५९ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा एक लाख ७५ हजार दुई सय १८ हेक्टरमा धान खेती हुँदा छ लाख ४४ हजार नौ सय ९१ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

मन्त्रालयले प्रकोप तथा विउका समस्यामा कमी हुनु, सिँचाई प्रविधिमा आएका सुधारहरूले गर्दा यस वर्षको तुलनामा हालसम्मकै उच्च उत्पादकत्व पुगेको छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

आज धान दिवस

हरेक वर्षझै यस वर्ष पनि प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ ।

मन्त्रालयले यस वर्ष कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक खेतमा धान रोपी दिवस मनाउने तयारी गरेको जनाइएको छ ।

यस्तै, प्रदेशका विभिन्न स्थानीय तहहरूले पनि धान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार