१० श्रावण २०८१, बिहीबार

कैलाली कञ्चनपुरमा लागु औषध कारोबार बढ्दै



धनगढी । गत जेठ १७ गते कैलालीको ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका वडा नम्बर ५ दुधुवाफाटामा दुई युवकलाई लागु औषधसहित पक्राउ गर्यो ।

से.७.प.८६४७ नम्बरको स्कुटीलाई रोकेर चेकजाच गर्दा भजनी नगरपालिका वडा नम्बर गौनियाका २८ वर्षीय गणेश कोली र वडा नम्बर २ रजवाराका ३२ वर्षीय मनोज मल्ललाई पाँच ग्राम खैरो हेरोईन सहित पक्राउ गर्यो ।

२०७७ साल चैत १ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अपराध अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपहानगरपालिका वडा नम्बर ३ चटकपुर बोराडाँडीका २५ वर्षीय अशोक पालबाट पाँच सय ७० मिलिग्राम लागुऔषध बरामद गरेको थियो ।

यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन । कैलाली र कञ्चनपुरमा पछिल्लो समय लागु औषध सेवन तथा कारोवार बढ्दै गएको तथ्यहरूले देखाएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो ११ महिनामा लागू औषधसहित एक सय २० जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म जिल्लामा लागूऔषधसहित एक सय २० जना पक्राउ परेको बताए ।

प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार पछिल्लो ११ महिनामा प्रहरीले १५ किलो चरेस बरामद गरेको छ । त्यस्तै, तीन सय १८ ग्राम ब्राउन सुगर बरामद गरेको छ । दुई हजार एक सय ४७ ट्याब्लेट नाइट्रोभेट, एक हजार १० ट्याब्लेट स्पास्मोप्रोक्सोभन, पाँच सय २० ट्याब्लेट ट्रमाडोल लगायतका लागूऔषध पनि प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा मात्रै लागूऔषध मुद्दामा दुई सय जनालाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले पक्राउ परेकामध्ये चार महिला र नौ जना भारतीय नागरिक रहेको बताए । उनले पक्राउ परेकाहरूबाट साढे दुई किलो चरेस र साढे आठ सय ग्राम ग्राम ब्राउन सुगर बरामद भएको बताए । यस्तै ६३० ट्याबलेट नाइट्रोभेट, ११६ ट्याबलेट स्पास्मो, ६ ट्याबलेट कोरेक्स, ६ सय थान ट्रामाडोल पनि बरामद गरिएको छ ।

सरकारले बैशाख १६ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा पनि कैलाली र कञ्चनपुरमा लागु औषध सेवनकर्ता र कारोवारमा कमि आउन सकेको थिएन । गत जेठ २ गते कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ वैवाहबाट ‘प्रेस’ लेखेको ज्याकेट लगाएका कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर ०४ बस्ने २५ वर्षीय नरेश प्रसाद जोशीलाई पक्राउ गरेको थियो ।

प्रहरीले जोशीको साथबाट अन्दाजी ७ ग्राम खैरो हिरोईन नामक लागु औषध, दुई थान मोबाइल, १ थान क्यामेरा, ५ थान बैँक चेक, १ थान एटीएम कार्ड, १ थान सुदूर खबरको परिचय पत्र, १ थान प्रेस पास र मोटरसाइकलको ब्लु बुक समेत बरामद गरेको थियो ।

जेठ ६ गते कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका वडा नम्बर ५ बनखेतका २८ वर्षीय योगेन्द्र एरीलाई लागुऔषधसहित पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट जिमुवाबाट सहायक प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्ड र प्रहरी चौकी जिमुवाबाट प्रहरी सहायक निरीक्षक रमेश परियारको कमाण्डमा खटीएको संयुक्त पैदल सीमा गस्ती टोली उनलाई पक्राउ गर्दा म २ प ५३४५ नम्बरको मोटरसाइकल संगै उनको साथबाट रसकोफ १ बोतल, सिम्प्लेक्स सी २४ ट्याब्लेट ब्राउन सुगर ०.१२ ग्राम बरामद गरेको थियो ।

प्रहरीले कैलाली र कञ्चनपुरबाट वैशाख १६ गतेदेखि दुई महिनामा लागूऔषधको कारोबार तथा सेवनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले ६४ र कैलाली प्रहरीले १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

प्रहरी अधिकारीका अनुसार लागू औषध कारोबारमा अधिकांश युवाको संलग्नता रहेको छ । कैलालीका प्रहरी प्रवक्ता विष्टले भने ‘प्राय: युवा बेरोजगार हुन्छन््, त्यसैमा साथीभाईको लहलहीमा सुरुमा लागू पर्दाथ सेवन गर्नेर पछि ओसारपसार गर्ने कार्यमा पनि संलग्न हुने गरेको पाइएको छ ।’

प्रहरी कार्यालयका अनुसार कैलाली र कञ्चनपुरका खुल्ला नाकाबाट बढी मात्रामा लागू औषध भित्रिन थालेको छ । खुला सीमा र बोर्डर नजिकै लागु औषध सजिलै किनबेच हुने गरेकोले कैलाली र कञ्चनपुरसम्मको क्षेत्र लागु औषधको ट्रान्जिट बन्दै गएको प्रहरी अधिकारीहरूको अनुमान छ ।

नेपालको सरकारी तथ्यांक अनुसार सन् १९७० को दशकमा हिप्पीको प्रवेशसँग नेपालमा लागु औषध सेवन गर्नेको संख्या वृद्धि भएको पाइन्छ । नेपालमा अहिले दुई लाखभन्दा बढी लागू औषधको कुलतमा फसेका छन्् । ती मध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी रहेको तथ्यांक छ । लागू औषध सेवन गर्ने युवतीहरूको संख्या करिब ४० हजार रहेको छ । चुरोट, खैनीसुर्ती, रक्सी, गाँजा खानेबाट सुरु गर्दै डेनलाईट सुघ्ने र लागु पदार्थ दुव्र्यसनमा फस्ने गरेको स्थितिमा विशेष गरी लागु औषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार