३ जेष्ठ २०८१, बिहीबार

डोटीको धौलाबस्तीमा ‘कोल’ जिवितै




डोटी/ डोटी जिल्लामा कुटानी पिसानी लगायत तोरीबाट तेल निकाल्नका लागि अझै परम्परागत कोलहरु प्रयोग भइरहेको भेटिएको छ ।

केही ठाउँमा आधुनिक मिलहरु सञ्चालन भएका छन भने सडकको पहुँचसँगै ठूला उद्योगहरुले उत्पादन गरेका बिभिन्न ब्रान्डका खानेतेल गाउँघरमा सहजै पाउन सकिने भए पनि
डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौर स्थित धौलाबस्तीका स्थानीयले कोलबाट तेल उत्पादन गर्ने कार्यलाई अझै छोड्न सकेका छैनन् ।

कोलमा तोरी,तिल पेल्नका लागि पाँचदेखि सात जना भन्दा बढी चाहिन्छन् । साल काठको बियो र बियो ठड्याउन ठूलै सालको काठको मुढामा प्वाल पारेर कोल ठड्याइन्छ ।
कोल स्थापना गर्न एकैपटक कम्तिमा पनि वीस वा तीस जनाको आवश्यकता पर्दछ ।

कोरोना सङ्क्रमणको त्रासका कारण धेरै युवाहरु भारतबाट गाउँ फर्किएसँगै पुनः गाउँमा नयाँ कोल स्थापना गरिएको स्थानीय रामबहादुर बोहराले भने,–‘बजारमा पाइने मिलको तेल भन्दा स्थानीय स्तरमा उत्पादन हुने कोलको तेल हरेक किसिमले उपयोगी छ, वर्षौदेखिको तोरी, तिल, चिउरी, भैरोलाइ कोलमा पेलेर तेल निकाल्दै आएका छौं ।’

कोलबाट निकालिएको तोरीको तेललाइ खान र शरिरमा मालिल गर्नका लागि स्वस्थकर मानिन्छ । धौलाबस्ती गाउँकी स्थानीय तुलसी बोहराले गाउँमा अधिकाँशले कोलबाट निकालिएको तोरीको तेल नै खानामा प्रयोग गर्न थालेको उनले बताए ।

गाउँमा स्थानीयले सञ्चालनमा ल्याएको कोललाई स्थानीय तहले समेत सँरक्षणमा पहल गर्ने बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले बताए ।

अध्यक्ष गड्सिलाले भने ‘कोलबाट निकालिएको तोरी र तिलको तेललाई औषधिको रुपमा समेत लिने गरिएको छ, यसको सँरक्षणको लागि योजनासहित अगाडि बढ्दैछौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार