२ जेष्ठ २०८१, बुधबार

कैलालीका दुई पालिकामा विद्यालय सञ्चालनमा, बाँकी योजना बनाउदै





टीकापुर / कैलाली जिल्लाका घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकाले विधार्थी भर्नासंगै पढाई पनि शुरु गरेका छन् । अरु पालिकामा सरकारले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यार्थीको पहिचान गरी बर्गीकरण गर्ने काम भैरहेको छ ।

गोदावरी नगरपालिकामा कर्मचारीमै कोरोना सङ्क्रमित भएकाले कार्यालय बन्द रहेको छ । घोडाघोडी नगरपालिकाको पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माविमा मंगलबार कक्षा १० का विद्यार्थी विद्यालय आएका छन् । १३० जना मध्ये पहिलो दिन ५२ जना उपस्थित भएका छन् ।
विहान १० बजेदेखि १२ः३० सम्म दुई वटा विषय पढेर फर्केका र उनीहरुलाई एकदिन बिराएर आउन भनिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले जानकारी दिए । सो विद्यालयमा एक हजार तीन सय विद्यार्थी छन् ।

‘सबै विद्यार्थी यो हप्ताभरी विद्यालय आइसक्नेछन् । सबै विद्यार्थीहरुलाई विद्यालयको समय तालिका दिने र उनीहरुको रेडियो, टीभी, अनलाईनमा पहुँच मापन गर्दैछौ, प्रधानाध्यापक मिश्रले भने, ‘ठूला कक्षाका विद्यार्थीलाई दिन बिराएर बोलाइने र कक्षा पाँचसम्मका विद्यार्थीलाई दैनिक पढाइनेछ तर पढने समय दैनिक तीन घण्टाको मात्रै हुनेछ ।’

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले थोरै विद्यार्थी भएका विद्यालयमा दूरी कायम गरेर पढाउन सकिने अवस्था भए नियमित रुपमा कक्षा चलाउने र धेरै विद्यार्थी भएका विद्यालयमा हप्तामा एक दिन कक्षा पर्ने गरेर विद्यालयमै बोलाएर हप्ताभरीका लागि पढाउने निर्णय अनुसार नगरका सबै विद्यालय खुलिसकेको जानकारी दिए ।

यस्तै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाका सबै विद्यालयमा कक्षा शुरु भैसकेको जानकारी दिदै शिक्षक विद्यालयमा बसिरहने र विद्यार्थीहरु आलैपालो गृहकार्य लिएर जाने व्यवस्था मिलाएको बताए ।

उहाँले ३०÷३५ जना विद्यार्थी मात्रै भएका प्राविहरु निरन्तर खुल्ने बताउनुभयो । कैलारीले पनि यही समयमा विद्यार्थी पढाउदै तथ्यांक लिने, वर्गीकरण गरेर सिकाई सहजीकरण गर्ने योजना बनाएको छ ।
धनगढी उपमहानगरपालिका, टीकापुर, गौरीगंगा, लम्कीचुहा नगरपालिकाले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असोज १५ गतेसम्म विद्यार्थीको लगत लिने, उनीहरुको पहुँचको बर्गीकरण गरेर भावी योजना बनाउने बताएका छन् ।

प्याव्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले अनलाइन कक्षा चलाएर केही विद्यालयले अभ्यास गरिसकेका तर सफल नभएकाले भौतिक रुपले उपस्थित भएर पढाउनुकोे विकल्प छैन भने । ‘अहिले स्थानीय तहले असोज १५ सम्म कसरी पढाउन सकिन्छ योजना ल्याउनुस भनेकाले त्यही बनाउदैछौ ’अध्यक्ष रेग्मीले भने, ‘हप्तामा दुई दिन मात्रै भएपनि पालैपाले विद्यालय बोलाएर सिकाईलाई निरन्तरता दिने सोचमा छौं ।’

नेपाल शिक्षक महासंघ टीकापुरका अध्यक्ष रघुराज उपाध्याय अहिले कोरोना संक्रमण नघटेकाले के गर्ने के नगर्नेमा शिक्षक पनि द्वुविधामा रहेको बताउदै कक्षा चलाउनु पर्दा सानालाई टोल शिक्षा र ठूलालाई हप्तामा एक दिन विद्यालय बोलाएर कक्षा चलाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार