२२ बैशाख २०८१, शनिबार

“कोभिड–१९ कारण सञ्चार क्षेत्र संकटमा’



धनगढी । कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशमा सञ्चार क्षेत्रको अवस्था संकटपूर्ण बन्दै गएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नौं वटै जिल्लामा गरेको स्थलगत अध्ययनपछि बुधबार धनगढीमा सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेशमा सञ्चालनमा रहेका पत्रिका, रेडियो र टेलिभिजन तथा अनलाइनको अवस्था निकै कमजोर रहेको उल्लेख छ ।

प्रतिवेदनमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि सञ्चार माध्यममा विज्ञापन ह्वात्तै घटेको, पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको उल्लेख छ ।

प्रतिवेदनमा अनलाइन र एफएम रेडियोबाहेक अधिकांस पत्रिका बन्द भएको उल्लेख छ । महासंघ प्रदेश समितिको प्रतिवेदन अनुसार कैलालीमा अनुमोदन दैनिक, युगअस्त्र दैनिक, टीकापुर दैनिक र हाम्रो सेती साप्ताहिक मात्रै सञ्चालनमा रहेका छन् । “दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू बन्द अवस्थामा छन्’ प्रतिवेदनमा भनिएको छ ।

महासंघको प्रदेश समितिले प्रदेशका नौ जिल्लामा ७५ वटा एफएम रेडियो, ५३ दैनिक पत्रिका र ४५ साप्ताहिक पत्रिका रहेको जनाएको छ । “नियमित प्रकाशन हुदै आएका प्रायःजसो दैनिक र साप्ताहिक पत्रिकाहरू लकडाउन सुरु भएदेखि नै बन्द छन्’ प्रतिवेदनमा भनिएको छ– कैलाली र कञ्चनपुरमा मात्रै सीमित पत्रिकाहरू प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भैरहेका पत्रिकाले समेत निकै समस्या र चुनौतिको सामना गर्नु परेको छ । बजार बन्द छ । स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन सुन्य छ ।

यस अवस्थामा समुदाय तहसम्मलाई सूचना दिने काम एफएम रेडियोले गरिरहेको महासंघले जनाएको छ । “रेडियोले आम स्रोतालाई कोभिड– १९ का बारेमा समेत जनचेतना जगाउने काम गरिरहेका छन्’ प्रतिवेदनमा भनिएको छ– सरोकारवालाहरूलाई जवाफदेहिता बृद्धि गराउने कार्य पनि गरिरहेका छन् । थुप्रै समस्याका बाबजुद पनि एफएम रेडियोहरू नियमित प्रशारण भइरहेका भए पनि उनीहरूको आम्दानी पनि ह्वात्तै घटेको छ । व्यापारिक विज्ञापनहरू छैनन् । प्रसारण हुदै आएका विज्ञापन समेत सम्बन्धित व्यक्ति र संस्थाहरूले बन्द गर्न लगाएका छन् ।

महासंघले अनलाइनहरू पनि आम नागरिकलाई सूचना प्रदान गर्ने गराउने सशक्त माध्यम बनेको जनाएको छ । प्रदेशका प्रायः सबै रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनको अवस्था आर्थिक तथा व्यवसायिक रुपमा दयनीय बन्दै गएको महासंघले प्रतिवेदनमा उल्लेख गरेको छ । “जसका कारण सम्पूर्ण श्रमजीवि पत्रकारहरूमाथिको संकट बढ्दै गएको छ’ प्रतिवेदनमा भनिएको छ– व्यावसायिक विज्ञापन बन्द गर्न भनिएको छ । तलब खुवाउने अवस्था छैन । एक महिना थप लकडाउन भयो भने रेडियो समेत बन्द हुने अवस्था छ ।

महासंघले राष्ट्रिय सञ्चार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको जनाएको छ । “सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि छन् । उनीहरूलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ’ प्रतिवेदनमा भनिएको छ– उनीहरूलाई कोरोनाका कारण सुरक्षित भएर घरमा बस्न भनिएको छ । टेलिभिजनले भने आफ्ना प्रतिनिधिहरूलाई अहिले पनि काममा लगाइरहेको छ । तर उनीहरूको स्वास्थ्य अवस्था र पारिश्रमिकका बारेमा टेलिभिजन पक्ष बोलेको छैन । टेलिभिजनमा काम गर्ने सञ्चारकर्मीहरूले व्यक्तिगत जोखिम मोलेर काम गर्दै आएका छन् । हरेक व्यक्तिहरूको सम्पर्कमा जानुपर्ने भएका कारण रेडियोकर्मी तथा टेलिभिजनकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् ।’

महासंघले सञ्चार माध्यम आर्थिक हिसावले जर्जर हुन थालेको जनाएको छ । “सञ्चारकर्मीको अवस्था पनि जटिल बन्दै गएको छ’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ– उनीहरू जोखिम मोलेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरूका लागि व्यावसायिक तथा आर्थिक सुरक्षा, स्वास्थ्य सामग्री, वीमा जरुरी छ । यसतर्फ सरोकारवालाहरूको गम्भिर चासोको जरुरी छ ।

महासंघले कैलाली र कञ्चनपुरका सञ्चारकर्मीहरूले थोरै भए पनि स्वास्थ्य सामग्रीका रुपमा मास्क, सेनिटाइजर र पञ्जा पाएको जनाएको छ । “तर, पहाडी जिल्लामा कार्यरत सञ्चारकर्मीहरूले त त्यो पनि पाउन सकेका छैनन्’ प्रतिवेदनमा भनिएको छ– उनीहरू स्वास्थ्य सामग्री बिना नै रिपोर्टिङमा गैरहेका छन् ।

कोरोना प्रभावितको संख्या दिनप्रति दिन बढ्दै गैरहेको बेला आम मानिसलाई सचेत गराउने जिम्मेवारी सञ्चारकर्मीको काँधमा आएको भएपनि सरकारी निकायले सूचना दिने काममा कञ्जुस्याँई गरेकोले सूचना सहज रुपमा प्राप्त गर्न नसकेको कारण समेत सञ्चारकर्मीहरू समस्यामा रहेको महासंघले जनाएको छ ।

अध्ययनको क्रममा पत्रकारहरूले जोखिम बढि रहेको र सुरक्षाको व्यवस्था कमजोर रहेकोले कोरोना सुरक्षा विमाको व्यवस्था गर्न महासंघसंग माग गरेका छन् । प्रदेशका रेडियो र टेलिभिजनको हकमा नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गर्न पहल गरिदिन महासंघलाई सञ्चारकर्मीहरूले अनुरोध गरेका छन् ।

लकडाउनमा सञ्चारकर्मी तथा संचार माध्यमहरूले भोग्नु परेका पछिल्ला समस्याहरूको पहिचान तथा समाधानका उपायहरू पहिल्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरूले २०७७ जेठ ८ गतेदेखि १४ गतेसम्म ९ वटै जिल्लाको स्थलगत अनुगमन तथा पत्रकारहरूसँग अन्तरक्रिया गरेको थिए ।

महासंघले बुुधबार धनगढीमा प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा महासंघ पुर्व क्षेत्रीय संयोजक मनमोहन स्वारले सञ्चार क्षेत्रले कोरोना संक्रमणको अवस्थादेखि कोरोना संक्रमण सकिएको केही वर्षसम्म यो अवस्था झेल्नुपर्ने देखिएको बताए । उनले यो अवस्थामा सञ्चार क्षेत्रलाई जोगाउन प्रदेश र स्थानीय सरकारहरूले समेत विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

उनले सुदूरपश्चिममा पत्रकारहरूले आफै सञ्चालन गरेका सानो लगानीका सञ्चार माध्यम नै बढि रहेकोले मिडियालाई अहिलेको संकटबाट जोगाउन गम्भीर ढंगबाट बहस हुनुपर्ने बताए । उनले प्रदेश सरकार तथा स्थानीय तहहरूको आगामी नीति तथा कार्यक्रम र बजेटमा स्थानीय मिडियाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए ।

महासंघका पुर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, बानका सचिव हरि जोशी, प्रेस संगठनका जिल्ला अध्यक्ष हरिश विक, पत्रकारहरू शिवराज भट्ट, लोकेन्द्र बिष्ट, वीरेन्द्र रावल, अमिता कुवर, लगायतका पत्रकारहरूले कोरोना महामारीमा कारण अधिकांश पत्रकारहरूले तलव पाउन नसकेको र बेतलवी विदामा बस्नु परेको बताए । उनीहरूले एफएम, टिभी र अनलाइन सञ्चालनमा रहे पनि प्रदेशमा पत्रपत्रिकाहरू धरासायी भइसकेको बताए ।

कार्यक्रममा महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले सुदूरपश्चिम प्रदेश सरकारसंगको सहकार्यमा सञ्चार माध्यमका लागि ३४ लाख ५५ हजार रुपैयाको सशर्त अनुदान र पत्रकारका लागि कोरोना सुरक्षा विमा योजना सञ्चालन गरेको जनाए ।

कार्यक्रममा महासंघका प्रदेश महासचिव योगेश रावलले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार