२९ आश्विन २०८१, मंगलवार

प्रज्ञा प्रतिष्ठान सम्बन्धमा बनेको बिधेयक २०७६ पारित



धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ आइतबार पारित भएको छ । प्रदेश सभाको आइतबारको बैठकले सो विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सो विधेयक प्रदेश सभाको हिउँदे अधिबेशनमा प्रस्तुत भएको थियो । विधेयक पारित हुनु अघि सामाजिक विकास समितिमा दफावार छलफल भएको थियो । सामाजिक विकास समितिले विधेयकमा सामान्य हेरफेर गर्दै संशोधन सहित प्रतिवेदन प्रस्तुत गरेको थियो । समितिले गरेका संशोधन समेत विधेयकको अंग बनाई प्रदेश सभाबाट पारित भएको हो ।

विधेयक पारित हुनुअघि त्यसमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजेट बनाउने बेला भएकोले विधेयक पारित भएसंगै बजेटमा ब्यवस्था गरेर चाँडै प्रज्ञा प्रतिष्ठान गठन गर्ने तर्फ सरकारले ध्यान पु¥याएको बताए ।

विधेयक माथि सामाजिक विकास समितिले दिएको प्रतिवेदन माथिको छलफलमा नेकपामा प्रदेश सभा सदस्य मान बहादुर धामीले विधेयकले प्रदेशको भाषा र संस्कृतिको विकास र उत्थानका लागि आवश्यक सहयोग पुग्ने बताए ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य श्यामलाल राना थारुले विधेयक ल्याउनु ठुलो कुरा नभएको बताए । ‘प्रदेशमा बिभिन्न थरीका भाषा र संस्कृतिहरू रहेका छन । तिनको संरक्षण र सम्बद्र्धनका लागि विधेयकले थप मद्दत पुग्छ’ उनले भने –‘विगतमा पनि प्रदेश सभाबाट धेरै विधेयकहरू जारी भएका छन । तर, कतिपय ऐन कानुनहरू अहिले दराजमा थन्किएका छन ।’ उनले यो ऐनलाई ज्यूका त्यू लागु गर्न सरकारसंग आग्रह गरे ।

राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्य कृष्ण बहादुर चौधरीले सबै प्रकारका भाषा र संस्कृतिको संरक्षणका लागि विधेयक पारित भएपछि सरकारले काम गर्नुपर्ने बताए ।

ढ्यापढ्यापे समयमा सरकारको तीब्र आलोचना

प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सभा सदस्यहरूले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको कमजोरी सहितका विषयमा चर्को आलोचना गरे ।

ढ्यापढ्यापे समयमा छलफलमा भाग लिदै नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले प्रदेशमा कोरोना संक्रमणको जोखिम बढीरहेको, तर प्रदेश सरकारले परिक्षणको दायरा बढाउन नसकेको बताए । ‘अहिले प्रदेशभित्रका विद्यालयहरूलाई क्वारेन्टाइन बनाइएको छ । ती क्वारेन्टाइनहरू भरिभराउ छन, तर प्रदेश सरकारले परिक्षण गर्न सकेको छैन’ उनले भने– प्रदेशमा परिक्षणको दायरा बढाउनुपर्ने आवश्यकता छ, तर परिक्षण गर्ने प्रयोगशाला र उपकरणहरू थप्न सकेको छैन । उनले आरडिटिको कुनै भर नभएकाले पिसिआर विधिबाट सबैको परिक्षण गर्न आवश्यक रहेको बताए ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले युरोपियन देशहरूले आरडिटी किटको विश्वसिनयतामाथि नै प्रश्न उठाएर प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको चर्चा गरे । उनले यस्तो परीक्षणले संक्रमणको दर भयावह हुन सक्ने भन्दै बन्द गर्न माग गरे । उनले क्वारेन्टाइनलाई पनि थप व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

नेकपाका प्रदेश सांसद पूर्णा जोशीले आरडिटी परीक्षणको औचित्य नभएको भन्दै बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन । क्वारेन्टाइनहरू ब्यवस्थित नभएको र मृत्यु घरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरू बढाउने र भएका प्रयोगशालाहरूको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार