१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश एकाएक कोरोना उच्च जोखिम बन्दै



धनगढी । सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । ४० दिनअघिसम्म पाँच जना (सबै निको भएर फर्किसकेका छन्) कोरोना संक्रमित रहेकोमा पछिल्लो एक साताको अवधिमा १० जनामा कोरोना संक्रमित फेला परेका छन् ।

गत शुक्रबारदेखि फेरि देखापरेको कोरोना संक्रमण कैलाली, बैतडी, र डडेल्धुरा र अछाममा फेला परेका छन् । अहिले फेला परेका कोरोना संक्रमित मध्ये प्रायः सबै भारतबाट भरखर फर्किएकाहरू नै रहेको तथ्य रहेको छ ।

शुक्रबार पुष्टि भएका कैलालीको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९ वर्षीय, २३ वर्षीय र २६ वर्षीय पुरुष इटहरी, बाँके र भारतबाट लुकीछिपी आएका थिए ।

जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोका अनुसार वडा नम्वर ४ का संक्रमित जेठ १ गते भारतको कालाकुण्डा नाका हुँदै आएका थिए । वडा नम्वर ७ का दुई जना संक्रमितमध्ये एक जना बैशाख ३० गते इटहरी र एक जना जेठ ३ गते बाँकेबाट आएका थिए । उनीहरू स्थानीय सरस्वती माविको क्वारेन्टिनमा बसेका थिए ।

त्यस्तै, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय एक जना पुरुष स्थानीय स्तरमै रहेको र बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का पुरुष भारतबाट आएको जनाइएको छ ।

शनिबार थपिएका चारै जना संक्रमितलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ । सेती प्रादेशिक अस्पताल प्रशासनका अनुसार बैतडीको शनिबार कोरोना भाइरस संक्रमित पुष्टि भएकाहरूमा शिवनाथ गाउँपालिका वडा नम्वर १ का २७ वर्षीय र २० वर्षीय पुरुष तथा वडा नम्वर २ का २२ वर्षीय र ३० वर्षीय पुरुष रहेका छन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका बैतडीका चारै जना तीन दिनअघि भारतको गौरिफन्टा सिमानाकाबाट नेपाल आएका थिए । जिल्ला प्रशासन कार्यालय, कैलालीले गत बिहीबार उनीहरूसंगै दुई हजार चार सय ४८ जनालाई गौरिफन्टाबाट उद्दार गरी नेपाल ल्याएका थिए । नेपाल ल्याउने क्रममा त्रिनगर सिमानाकामा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखाएपछि उनीहरूलाई सेती अस्पताललको आइसोलेसनमा राखिएको थियो ।

बिहीबारदेखि आइसोलेसनमा राखिएका उनीहरूको धनगढीस्थित प्रयोगशालामा थ्रोट स्वाबको नमूना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखाएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले चैत ११ गतेदेखि देशभरीनै लकडाउन जारी गरेको थियो । सरकारले लकडाउन जारी गरेपछि कैलालीको गौरिफण्टा र कञ्चनपुरको बनवासा नाकामा अल्पत्र रहेका सुदूरपश्चिमबासीहरूलाई सम्बन्धित स्थानीय तहको निगरानीमा क्वारेन्टाइनमा राख्ने सर्तसहित प्रवेश गराइएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले क्वारेन्टाइनमा रहेका सम्पूर्ण व्यक्तिहरूको आरडिटी परीक्षण भएको जनाएको थियो । प्रदेशमा कोरोना पुष्टि भएका पाँचै जना निको भएर घर फर्किसकेपछि आरडिटी र पिसिआर परीक्षणले सुस्त गति लिएको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने– पहिलो चरणमा भारतबाट प्रवेश गरेका व्यक्तिहरूको आरडिटीमार्फत स्वास्थ्य परीक्षण गरिसकिएको छ । नयाँ व्यक्तिहरू क्वारेन्टाइनमा नभएकाले परीक्षण सुस्त भएको हो ।

बैशाखमा भारत र देशका विभिन्न भागबाट पाँच हजार बढी सुदूरपश्चिमबासी भित्रिएको बताइन्छ । पहिलो चरणमा प्रदेशमा भारत तथा अन्य मुलुकबाट प्रवेश गरेकाबाट जोखिम कम हुन पाएको थिएन । त्यसैमा प्रधानमन्त्रीले पछिल्लो सम्बोधनमा विदेशमा रहेका र स्वदेश आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गर्ने बताएका थिए ।

यसै क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले ‘भारतमा रहेका नेपालीहरूलाई आउन आग्रह गरेको’ अडियो सार्वजनिक भएपछि भारतमा रहेका सुदूरपश्चिमबासी गाडि रिजर्भ गरेर धमाधम नाकामा पुगेका थिए । पछिल्लो एक सतामा भारतका विभिन्न शहरबाट दश हजार बढी नेपाली कैलाली भन्सार नाका हुदै नेपाल भित्रिएका थिए । ‘पछिल्लो समयमा भारतबाट भित्रिएकाहरूका कारण यहाँ कोरोनाको जोखिम निकै उच्च देखियो,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थीले भने ।

परीक्षण किट अभाव

भारतबाट धमाधम सुदूरपश्चिम प्रदेशमा प्रवेश गरिरहेका सुदूरपश्चिमबासीको आरडिटी परीक्षण बिनै स्थानीय प्रशासन प्रवेश गराउन बाध्य भएको छ । शुक्रबार कैलाली जिल्लामा एक सय ६७ मात्र आरडिटी किट रहेको थियो । बिहीबारसम्म तीन हजार दुई सय ५५ नेपाली भारतबाट नेपाल प्रवेश गरेकोमा आरडीटी किटको अभावमा छ सय ७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा तीन हजार ७८ आरडिटी किट र नौ सय ७६ भिटिएम (पिसिआर चेकजाँच गर्ने किट) मौज्दात रहेको जनाइएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म २० हजार छ सय १० जनाको आरडिटी र चार हजार छ सय १६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

अहिले कैलालीको धनगढीसंग जोडिएको त्रिनगर नाकाबाट सुदूरपश्चिमबासीहरू धमाधम प्रवेश गरिरहेको भए पनि यहाँ आरडिटी किट उपलब्ध छैन । ‘आरडिटी परीक्षण गरेर मात्र नाकाबाट प्रवेश गरेकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउनुपर्ने हो’ कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने– तर, किट अभावका कारण सबैको परीक्षण नहुँदा नाकामा व्यवस्थापन गर्न समस्या भएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भने– धनगढी त्रिनगर भन्सार नाका भएर दैनिक सयौंको संख्यामा आइरहेका छन् । हामीसंग न आरडीटी किट छ, न यतिका मान्छेलाई राख्ने, खुवाउने व्यवस्था नै ।

‘अहिले दैनिक आइरहेका यति धेरै मानिसको उपमहानगरपालिका एक्लैले व्यवस्थापन गर्न सक्दैन’ उनले भने– त्यसैले अब नेपाल आउनेहरूलाई सम्बन्धित जिल्ला वा स्थानीय तहको जिम्मा लगाउने बाहेक अरु विकल्प छैन ।

पाँच हजार बढी क्वारेन्टाइनमा

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टाइनमा पाँच हजार बढी व्यक्तिहरूलाई राखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश भरी चार सय ४३ स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन । १२ हजार चार सय ७२ बेडका क्वारेन्टाइनमा अहिले पाँच सय ६५ महिला र पाँच हजार दुई सय ५१ पुरुष गरी पाँच हजार आठ सय १६ जनालाई राखिएको जनाइएको छ ।

सञ्चालनमा आएन कोरोना अस्पताल

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताललाई संघिय सरकारले कोरोना डेडिकेटेड अस्पताल तोकेको थियो । प्रदेशमा पाँच जना कोरोना संक्रमित पुष्टि भएपछि प्रदेश सरकारले प्रि–फ्याब प्रविधिमार्फत सेती प्रादेशिक र महाकाली उपप्रादेशिक अस्पतालमा कोरोना अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सोही अनुसार सो भवन निर्माणका लागि दुई करोड रकम विनियोजन गरिएको थियो । मन्त्रालयले निर्माण कम्पनीसंग जेठ ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेपनि अहिलेसम्म सञ्चालनमा भने आउन सकेको छैन ।

सेती प्रादेशिक अस्पतालमातहातको सो भवन अहिले निर्माण सम्पन्न भइ आवश्यक सामाग्रीको व्यवस्थापन कार्य भइरहेको जनाइएको छ भने महाकाली उपप्रादेशिक अस्पताल मातहातको सो भवनको काम अहिलेसम्म अधुरै रहेको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालको प्रि–फ्याव प्रविधि भवन निर्माण भइ अन्य पूर्वाधारको समेत व्यवस्थापन भईसकेकाले सम्भावित एवंम् संक्रमित बढेमा त्यतै राखेर उपचार गर्न सकिने बताए ।

३४ जना आइसोलेसनमा

सुदूरपश्चिम प्रदेशमा ३४ जना कोरोना शंकास्पद व्यक्तिहरूलाई आइसोलेसनमा राखिएको छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरूलाई आइसोलेसनमा राख्ने गरिन्छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सेती प्रादेसिक अस्पतालमा २२, टीकापुर अस्पतालमा तीन, जिल्ला अस्पताल बैतडीमा चार, वयलपाटा अस्पतालमा दुइ, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल डोटी, डडेल्धुरा अस्पतालमा एक/एक जना आइसोलेसनमा रहेको जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरी १५ वटा अस्पतालमा कोरोना शंकास्पद व्यक्तिहरूको उपचार हुने गरेको छ । मन्त्रालयका अनुसार हालसम्म एक सय ७२ जना शंकास्पद व्यक्तिहरू उपचारपछि डिस्चार्ज भएर गइसकेका छन । सेती प्रादेशिक अस्पतालबाट ५७, डडेल्धुरा अस्पतालबाट २१, वयलपाटा अस्पतालबाट १८, जिल्ला अस्पताल अछामबाट १४, बझांगबाट १२, महाकाली अस्पतालबाट नौ जना डिस्चार्ज भइसकेका छन ।

यस्तै, जिल्ला अस्पताल डोटी र बाजुराबाट सात/सात, टीकापुर अस्पताल छ, गोकुलेश्वर अस्पतालबाट पाच, भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट चार, चौमालाबाट तीन, जोगबुडा अस्पतालाट दुई र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना डिस्चार्ज भएका छन ।

प्रदेशमा एक सय ६३ बेडको आइसोलेसन स्थापना गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरी १४ वटा आइसियू र आठ वटा भेन्टिलेटर रहेका छन । प्रदेशको सेती प्रादेशिक अस्पतालमा आइसियू १० र छ वटा भेन्टिलेटर, महाकाली उपप्रादेशिक अस्पतालमा चार आइसियू र दुई भेन्टिलेटर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार