७ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिम अझै कोरोनाको उच्च जोखिममा



धनगढी । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या एकाएक ह्वात्तै बढेको छ । मंगलबार दिउँसोसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पौने चार सय बढी पुगिसकेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा पछिल्लो ३५ दिनयता कोरोना भाइरस संक्रमित फेला परेका छैनन्, तर कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी सहित सिंगो सुदूरपश्चिम प्रदेश अहिले पनि कोरोनाको उच्च जोखिममा रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच जना कोरोना संक्रमित रहेकोमा सबै निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेशमा गत वर्ष चैत १४ गते कोरोना भाइरस संक्रमणको पहिलो केस फेला परेको थियो । दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टी भएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कोरोना भाइरसको आशंकामा बिरामीहरु आउने क्रम जारी रहेको छ । उनका अनुसार हालसम्म सेती प्रादेशिक अस्पतालमा ५६ जना शंकास्पद बिरामी रहेका छन् । उनले भने– अहिले यो अस्पतालमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएका बिरामी भने छैनन् । उनले अहिले अस्पतालको आइसोलेसन वार्डमा तीन जना उपचारमा रहेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशबाट अरु जिल्लामा गएका मध्ये केही व्यक्तिमा भने कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो एक सातामा कैलाली र कञ्चनपुर हुदै अरु जिल्ला गएका तीन जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । महेन्द्रनगर, अत्तरिया हुँदै दैलेख गएको आठबीस नगरपालिका वडा नम्बर १ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको संख्या तीन पुगेको छ ।

दैलेखको आठबीस, सात्तलामा कोरोना भाइरस पुष्टि भएका युवक भारतको आगरामा कोल्ड स्टोरमा काम गर्दै आएको बताइन्छ । उनी आगराबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका बनबासा आएका थिए ।

‘पश्चिमी सिमानाका बनबासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँबाट उद्दार गरेपछि उनलाई एक रात महेन्द्रनगरमा राखिएको र त्यहाँ आरडीटी टेस्ट गरिएको थियो । महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर ल्याइएका उनलाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालामा ३९ जनासंगै क्वारेन्टाइनमा राखेका थियौँ’ आठबीस गाउपालिका वडा नम्वर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने ।

यसअघि कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया बालिका र कञ्चनपुरबाट काठमाडौं गएकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बर्दियाकी कोरोना संक्रमित ११ बर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन बसेर फर्किएकी थिईन् । उनको सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ ।

त्यस्तै, कञ्चनपुरबाट काठमाडौँ गएकी कोरोना संक्रमित महिला कञ्चनपुरको बेदकोट नगरपालिकाकी भएको खुलेको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण भइसकेको छ भने कसैमा पनि कोरोना पुष्टि भएको छैन ।

शंकास्पद पाँच जनाको रिपोर्ट नेगेटिभ

पछिल्लो पटक सेती प्रादेशिक अस्पतालमा कोरोना कोरोना आशंकामा भर्ना भएका कैलालीका पाँचै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अस्पतालका सूचना अधिकारी श्रेष्ठले कोरोना आशंकामा भर्ना भएका पाँचै जनाको धनगढी प्रयोगशालामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

आइतबार कोरोना भाइरस संक्रमणको आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका थिए । उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा ¥यापिड टेस्ट गर्दा एन्टीबडी देखाएको थियो ।
त्यस्तै कोरोना जस्तै लक्षण देखिएपछि आईतबार नै कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ३० वर्षीय पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको थियो ।

यस्तै, धनगढीमा मंगलबार परिक्षण गरिएका ९० जनाको थ्रोट स्वावको नमूनाको नतिजा नेगेटिभ आएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीका ५४, बझाङका १३, बाजुराको ३, दार्चुलाको ५, बाँकेको १, कञ्चनपुरका ४ जनाको थ्रोट स्वावको नमूना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको आएको हो ।

भारतबाट फर्किने नेपालीमा बढि जोखिम

भारतका विभिन्न स्थानबाट घर फर्किने क्रममा भारतका विभिन्न स्थानमा अझैं धेरै सुदूरपश्चिम प्रदेशका बासिन्दा अलपत्र अवस्थामा छन् । सरकारले केही चरणमा सिमावर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई भित्राए पनि अझैं पनि सिमावर्ती क्षेत्र तथा अन्य स्थानमा नेपालीहरु अलपत्र अवस्थामा छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतको पलियाका विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा अहिले सात सय ११ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबारमात्र दुई सय ६६ जना नेपालीलाई भारत, पलियाको क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

कैलालीको धनगढीसंग जोडिएको भारतीय नाका गौरिफण्टा हुँदै नेपाल आउन खोज्ने नेपालीहरुलाई भारतको पलियामा बनाइएको क्वारेन्टाइनमा राखिने गरेको छ । हालसम्म नौ सय ९६ जनालाई पलियाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय, कैलालीले जानकारी दिएको छ ।

भारतीय प्रशासनले नेपाल फर्किने नेपालीहरुलाई नजिकका क्वारेन्टाइनमा राख्ने गरेको छ । तर, खुला सिमानाका कारण भारतबाट लुकिछिपी नेपाल भित्रिन क्रम रोकिएको छैन । बिना स्वास्थ्य परीक्षण लुकिछिपी भारतबाट नेपाल पस्नेहरुका कारण प्रदेशमा कोरोनाको जोखिम उच्च रहेको विज्ञहरु बताउछन् ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पछिल्लो भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएकाका व्यक्तिहरुबाट कोरोनाको जोखिम बढेको बताउृछन् । उनले भने– परीक्षणको दायरा नबढाउन्जेल सुदूरपश्चिमको जोखिमको मापन गर्न सकिँदैन ।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर र आरडीटी विधीबाट २२ हजार सात सय ६३ जनाको परीक्षण गरिएको छ ।

हालसम्म तीन हजार नौ सय ८३ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ भने तीन हजार सात सय ४५ जनाको स्वाब नमुना जाँच गरिएको छ । जसमध्ये तीन हजार सात सय ४९ जनाको नमुना नेगेटिभ देखिएको छ । दुई सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १९ हजार ५९ जनाको आरडीटी परीक्षण गरिएकोमा १९ हजार २३ जनाको नतिजा नेगेटिभ आएको छ । आरडिटिबाट पोजेटिभ आएको २४ जनाको पिसिआर जाचका लागि पठाइएको छ ।

प्रदेशका विभिन्न जिल्लाहरुमा एक हजार छ सय ७९ जना क्वारेन्टाइनमा रहेको र १३ जना आइसोलेशनमा रहेको जनाइएको छ । जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन जना, टिकापुरमा ४, बझाङमा १, डोटीमा १, बाजुरामा ३ र डडेल्धुरामा अस्पतालमा १ जना आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार