१० श्रावण २०८१, बिहीबार

लकडाउन सुन्दर भविश्यका योजना बनाउने अवसर



धनी, गरिव, बाला, बुढा, महिला,पुरुष, स्वदेश र विदेश केही नचिन्ने गरि आइलागेको कोरोना भाइरसरूपी विपदले विश्व समुदायलाई त्राहीत्राही बनाइरहँदा हरेक क्षेत्र वर्ग समुदायका मानिसले आफ्नो गक्ष अनुसार सावधानी अपनाइ र सहयोग जुटाइ “आफू बचौँ र अरुलाई पनि बचाऔँ ” भन्ने नाराका साथ सहअस्तित्वको भावनालाई जिवन्त तुल्याएका छन् ।
मृत्यु शैयामा पल्टिएका बिरामीलाई कालको मुखबाट खोसेर ल्याउने अभूतपूर्व सीपका साथै आफ्नो पेशाले सिकाएको त्याग,तपस्या, बलिदानको बेजोड नमूना पस्किरहन रहने, यस धर्तीमा भगवानको दोस्रोरुपका रुपमा परिचित डाक्टर, नर्स एवम् समस्त स्वास्थ्यकर्मीलाई मेरो नमन छ !
कोरोनाले ल्याएको भौतिक तथा मनोबैज्ञानिक त्राश त छँदै नै छ । यसका बाबजूद, यो विषम परिस्थितिबाट आफ्ना जनतालाई बचाउने उदेश्यका साथ सरकारले अपनाएको लकडाउनको रणनीतिलाई पूर्ण समर्थन गर्दै यो खाली समयलाई सावधानीका साथ जतिसक्दो रचनात्मक, जतिसक्दो उपयोगी कसरी बनाउने होला भन्ने बेचैनी पनि मनमा व्याप्त छ । त्यसैले लामो समयदेखि चलिरहेको लकडाउनको यस बिषम परिस्थितिको उत्तम समाधान के होला भनेर सोच्न जरुरी छ. काठमाडौं तथा मुख्य सहरका सुनसान सडकहरुमा चाहेर पनि रमाउन नसकेका आधुनिक मानिसका अत्याधुनिक मनहरुका लागि सामाजिक संजाल अहिले प्रविधिको सबैभन्दा ठूलो देन सावित भएको छ.
हुन त परिस्थिति जस्तोसुकै किन नहोस बाँच्न सक्ने ,हाँस्न सक्ने, रम्न सक्ने नेपालीको बानी गज्जबको छ । कोरोनाले दिएको मनोबैज्ञानिक त्रासकावीचमा पनि फेसवूक, ट्वीटर, इन्ट्राग्रामबाट रमाइरहेका छन् । सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेर, एकअर्काकोमा फोटोमा लाइक,कमेन्ट गरेर मुहारको मुस्कान भने हराउन दिएका छैनौं । यो देख्दा मलाई लाग्ने गर्दछ, नेपालीले चान्स पाए गर्छ भनेर हाम्रा मिजासिला प्रधामन्त्रीले त्यसै भन्नु भएको होइन रहेछ ।
कहिले लामो विदा पाइएला र रमाउँला भन्ने सोचले ग्रसित कर्मचारी , विद्यार्थी तथा अन्य सम्पूर्ण पेशाकर्मीहरु जहिले पनि विदा तथा स्वतन्त्र समयको तृष्णामा रहेका हुन्छन् । यद्यपि अहिलेको लकडाउन अथवा एक प्रकारको विदामा किन हामीले स्वतन्त्र भएर मनोरञ्जन तथा रचनात्मक कार्य गर्न किन सक्दैनौं ? देश कसरी बनाउने भन्ने चिन्ता लिइरहनु भएका राजनीतिज्ञहरुलाई अहिले घरमा बसेर देशको सुनौलो भविश्यको रुपरेखा तयार पार्ने फूर्सद छ । एकोहोरो काम गर्ने कर्मचारीहरुलाइ पनि आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम कसरी गर्ने भन्ने बिषयमा योजना बनाउन फूर्सद छ । त्यसैगरी शेयरबजारमा घाटा व्यहोरिरहनु भएका तथा नव प्रवेशी लगानीकर्ताहरुमा बजार र कम्पनीहरुको विश्लेषण गर्ने प्रर्याप्त समय छ । विभिन्न विद्याका उत्कृष्ट कितावहरु पढेर आफ्नो ज्ञानको क्षितिज अझ बढाउने मौका पनि हाम्रो सामु छ । धमिराले शरीरमा गोलो बनाएको पत्तो समेत नपाउने गरेर एकाग्र भएर वाल्मिकिले रामायण लेखेको इतिहास पनि हाम्रो सामु जिवित छ । तैपनि यो फूर्सदको समयमा बेफूर्सदी मनहरुलाई अनावश्यक डुलाएर आफ्नो बहुमूल्य समय खेर फाल्नु , समयको महत्व पहिचान गर्न नसक्नु हो ।
प्रधानमन्त्रीले अपिल गर्नु भएको छ “म घरमै बसेर सरकार चलाइरहेको छु , तपाईपनि घरमै बसिदिनुहोस् । “ घरैबाट सरकार त चल्न सक्छ भने हाम्रो दिनचर्या नचल्ने कुरै आउदैन । त्यसैले यस संकटको घडीबाट देश र जनतालाई सकुशल पार लगाउन हामीले सरकासँग हातेमालो गर्नु नितान्त जरुरी देखिन्छ. सकेसम्म बाहिर ननिस्कौ, “नेपाली जनतालाई सुतिसुति खाने व्यवस्था गर्दा पनि चुर्ना परे जस्तो फुत्तफुत्त निस्क्याछ” भन्न पाउने मौका प्रधानमन्त्री ओलीलाई नदिऔ । सरकारले गरेको राम्रो कामको प्रसंशा गर्दै साथ दिऔँ ।
कोरोनाको संक्रमणले भन्दा पनि यसप्रतिको डर र हतोत्साही हुने कुराले बढी क्षति पुगाउने बिज्ञहरुको भनाइ छ । जानकारहरुको सुझाए अनुसार हात धुने, संक्रमित क्षेत्रबाट टाढा रहने, मास्क,स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरि कायम गर्ने जस्ता सावधानी अपनाएमा, कालकुट विषको सेवन गरेर आफ्ना भक्तहरुको रक्षा गर्ने, हाम्रा आस्थाका धरोहर श्री पशुपतिनाथको कृपाले अवश्य पनि कम भन्दा कम क्षतिमा हामी यो महाविपत्तिबाट निस्किन सक्नेछौँ । जयपृथ्वी नगरपालिका‐ ५ बझाङ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार