१० श्रावण २०८१, बिहीबार

कोरोनाभाइरस रोकथाममा नागरिक दायित्व



काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका एक सय ८५ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांक अनुसार २२ मार्च (आइतबार) दिउँसोसम्म विश्वभरी दुई लाख ६७ हजार १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस्तै, मार्च २२ सम्म कोरोना भाइरस संक्रमणबाट ११ हजार दुई सय एक जनाले ज्यान गुमाइसकेका छन् । भने ८५ हजार आठ सय ३१ जनाको उपचारपछि स्वस्थ बनेका छन् ।
अहिलेसम्म नेपालमा यसको संक्रमण भित्रिएको छैन । अहिलेसम्म एक जनामा मात्रै कोराना भाइरसको संक्रमण देखिएकोमा उपचारपछि निको भइसकेको छ । नेपालमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ पछिल्लो पटक विभिन्न निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको निर्णय अनुसार आगामी बैशाख ३ गतेसम्म विश्वका ५५ देशबाट नेपालको हवाइ उडान सेवामा रोक लगाइएको छ । सरकारले यूरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउने उडानहरुमा एक महिनासम्मका लागि रोक लगाइएको छ ।
त्यस्तै, २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । त्यस्तै बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गरिएको छ ।
त्यस्तै, सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लवलाई अप्रिल ३० तारेखसम्म बन्द गरिएको छ ।
त्यस्तै, सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र नगराउन आग्रह गरेको छ । होटेल, रेस्टुरेण्ट तथा सपिङ मललाई हात सफा गर्ने लगायत सफाईका सामग्रीको प्रबन्ध गरी नियमित रुपमा ‘डिस्इन्फेक्सन’ गर्न निर्देशन दिइएको छ ।
सरकारले कोरोनाभाइरस सम्बन्धी भ्रम सिर्जना गर्ने कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जाल) समेतलाई गलत अभिव्यक्ति दिएमा कारवाही गर्ने चेतावनी समेत दिएको छ । त्यस्तै कोभिड–१९ रोगबाट संक्रमित भई उपचार गर्नुपर्ने भएमा बिरामीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराउने निर्णय गरेको छ ।
सरकारले आम नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेसंगै प्रदेश तथा स्थानीय तहहरुमा पनि रोकथामका लागि व्यापक प्रयास अघि बढाइएको अवस्था छ । भारतसंगको खुला सिमाना भएका कारण कोरोनाभाइरस भित्रिने खतरालाईलाई दृष्टिगत गरी सिमानाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर २४ सैं घन्टा चेकजाँच गर्ने प्रबन्ध गरिएको छ । प्रत्येक जिल्लामा आइसोलेशन वार्ड स्थापना गर्ने क्रम जारी छ ।
तर, कोरोनाभाइरससम्बन्धी विभिन्न भ्रामक खबर प्रवाह पनि भइरहेको अवस्था छ । कतिपयले नेपालमा कोरोना भाइरसको संक्रमण भए पनि सरकारले सूचना लुकाएको भन्ने भ्रम फैलाएका छन् । त्यस्तै, नेपालमा कोरोना संक्रमणको उपाचार गर्न उपयुक्त उपकरण नै नभएको दाबी गर्नेहरु पनि छन् । अर्कोतिर कोरानाभाइरस संक्रमणका कारण बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने जस्ता त्रास फैलाउने गरिएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गरेर मुल्यवृद्धि गर्ने दुस्प्रयास पनि भइरहेका छन् । कोरोनाभाइरसको संक्रमणभन्दा पनि यसबारे फैलाइएका अनेकथरी भ्रम र होहल्लाले बढि सन्त्रास फैलाएको अवस्था छ ।
काल आयो भने तपाई हामी कोही पनि जीवित रहँदैनौ, तर काल कहिले आउँछ ? थाह हुँदैन । त्यसैले अहिले भ्रामक खबरको त्रासमा होइन सचेत भएर हिम्मतका साथ प्रत्येक व्यक्तिले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न आफूलाई तयार गर्नुपर्दछ ।
तपाईं जहाँ हुनुहुन्छ त्यहि ठाउँबाट पनि तपाइले आफुले जानेको कुरा अरुलाई प्रवाह गर्नुपर्दछ । हामी कसैले पनि सरकारले गरेन भनेर आलोचना मात्रै गर्नुभन्दा आफूले के गर्नुपर्छ भन्नेमा जागरुक हुनुपर्दछ । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरस संक्रमण रोकथामका लागि अहिले सरकारले “लक डाउन” को स्थिति घोषणा गरेको छ । सरकारको यो निर्णय तथा प्रयासलाई प्रत्येक नेपाली नागरिकले सहयोग गर्नु पर्छ ।
अहिले सञ्चार प्रविधिको युग हो । सञ्चार प्रविधिको चमत्कारिक प्रगतिका कारण अहिले प्रत्येक व्यक्ति सञ्चारकर्मी बनेको अवस्था छ । सामाजिक सञ्जालको चरम प्रयोग मात्रै होइन, दुरुपयोगका कारण एकैछिनमा संसारभरी भ्रामक खबर सम्प्रेषण हुने गरेको छ । कोरोनाभाइरस संक्रमणबारे सामाजिक सञ्जालमा प्रवाह हुने भ्रामक सन्देश रोकथामका लागि सरकारले गम्भीर भएर काम गरिरहेको देखिँदैछ । भरखरै नेपालमा कोरोना भाइरस संक्रमणबारे भ्रामक हल्ला फैलाउने विवेक थापामगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । विवेकले फेसबुकमा “नेपालमा कोरोना भाइरस फैलिएका, तर सरकारले सूचना लुकाएको” भन्दै गलत सन्देश प्रवाह गरेका थिए । रामेछाप घर भई हाल भक्तपुर सिपाडोल बस्ने विवेकले काठमाडौंको नर्भिक अस्पतालमा नौ जना विरामीमध्ये छ जनामा कोरोना भाइरस भेटिएको भन्दै हल्ला मच्चाएका थिए । उनले अडियो कुराकानी शेयर गरेका थिए ।
यस्ता अफवाहले निश्चिय पनि समाजमा नकारात्मक असर गर्छ । त्यसैले तपाईं हामीले अहिले सरकारी निकाय, विश्व स्वास्थ्य संगठन र आधिकारी श्रोतका सूचनामात्र विश्वास गर्नुपर्दछ । कतिपय अनलान अखबारहरुमा अहिले कोरोना भाइरसबारे गलत समाचार प्रवाह भइरहेका छन् । कतिपयले कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सर्ने भन्ने दाबी गरेका छन् । तर, यी सबै भ्रामक कुरा मात्रै हुन् । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस श्वासप्रश्वासका माध्यमबाट सर्ने भाइरस भएको पुष्टि गरिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने सर्दछ ।
त्यस्तै, कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र होइन, सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्दछ भन्ने विश्व स्वास्थ्य संगठनको पछिल्लो धारणा छ । ज्येष्ठ नागरिक तथा दम, मधुमेह, मुटु रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि कोरोनाभाइरसको संक्रमण बढि जोखिमपूर्ण हुन्छ भन्ने अहिलेसम्मको संक्रमण तथा मृत्यु दरले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार कोरोना भाइरसबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गनर्,े श्वासप्रश्वाससम्बन्धी सरसफाईमा विशेष ध्यान दिने ( जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्ने) । हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन सक्दैन । हात धोइसकेपछि कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ । तर, सबै जनाले एउटै रुमाल प्रयोग गर्नु हुँदैन ।
त्यस्तै, अन्यत्रबाट आएको सामान वा चिठिपत्रका माध्यमबाट कोरोना भाइरस सर्ने जोखिम हुँदैन भन्ने पुष्टि भइसकेको छ । कोरोना भाइरस चिठीपत्र वा बाकसमा लामो समय बाँच्दैनन् भन्ने पुष्टि भइसकेको छ । त्यस्तै, हालसम्म घरपालुवा जनावर जस्तै, कुकुर, बिरालो आदिबाट कोरोना भाइरस मानिसमा संक्रमण भएको पुष्टि भएको छैन । तर घरपालुवा जनावरलाई छोएपछि तत्काल साबुनपानीले मिचिमिचि हात धुनुपर्छ । कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेको तथ्यांकले देखाएका छन् । गर्मी वा जाडो जहाँ भए पनि प्रत्येक व्यक्तिले सावधानी अपनाउनु आवश्यक छ ।
त्यस्तै, गुर्जो, लसुन, बोझो, बेसारको सेवन स्वास्थ्यका लागि लाभदायक हुन्, तर यी वस्तुको सेवनले कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुनसकिन्छ भन्ने वैत्रानिक प्ष्टि भइसकेको छैन ।

नागरिकको दायित्व

अहिले विश्वभरी कोरोनाभाइरसका कारण स्वास्थ्य संकटको अवस्था छ । विश्वव्यापी महामारीको अवस्थामा गलत तथा भ्रामक सूचनाले जनमानसमा झन् त्रास बृद्धि गछै । आममानिसको मनोबल घट्न सक्छ । युनिसेफले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारसँग समन्वय गरेर कोरोना भाइरस (कोभिड–१९) का बारेमा हरेक दिन सही सूचना प्रवाह गरिरहेको छ ।
अहिले मौसम परिर्वतनको समय हो । यो मौसममा सामान्य रुघाखोकी, ज्वरोले सताउने गर्दछ । यसबाट आत्तिनु भन्दा पनि घरेल् औषधी गर्ने अथवा नजिकको स्वास्थ्य संस्था, अस्पतालमा जानु उपयुक्त हुन्छ ।
अहिलेको समय प्रत्येक व्यक्ति संयमित हुने र आफू बच्ने तथा अरुलाई बचाउन भूमिका निर्वाह गर्ने हो । नेपालमा कोरोनाभाइरसको संक्रमण छैन, तर अहिले हामी इटली, चीनमा बसेको जस्तो ढंगले आत्तिरहेका छौं । अहिलेको समय प्रत्येक व्यक्तिले संयमता देखाउने हो । विकशित मुलुकहरुलाई कोरोनाभाइरस संक्रमणसंग लड्न कठिनाई भइरहेको वेला नेपाल जस्तो कमजोर, गरिब मुलुकले कसरी सामना गर्छ ? भन्ने खालका शंका गर्ने र हल्ला फैलाउनुभन्दा सरकारले अघिसारेका पहललाई आफ्नो ठाउँबाट सहयोग गर्नु नागरिकको दायित्व हो ।
चीनबाट फर्किएका १७५ जना नेपालालीलाई क्वारेन्टाइनमा राखेर सरकारले चेकजाँच गरेको छ । कसैमा पनि कोरोना भाइरसको संक्रमण रहेको पाइएन । कोरोना भाइरस लुकाएर उपचार गर्नुपर्ने रोग होइन । यदि कुनै व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भएमा उसको परिवारका अरु सदस्यमा सर्ने उच्च सम्भावना हुन्छ । त्यसैले अहिले रे का आधारमा होइन, आधिकारिक स्रोतका कुरालाई विश्वास गर्नुपर्दछ । संकटको समयमा एकता कायम रहोस र मानवता जीवित रहोस् । जहाँ भए पनि सतर्कता अपनाउनु जरुरी छ । गाउँमा पुगेपछि सुरक्षित भईन्छ भन्ने भ्रम त्यागौं । हेलचेक्र्याई नगरौं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं । हामी अहिले सकारात्मक हुनु आवश्यक छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा “नेगेटिभ” को बढि व्यापार हुने गरेको छ । यस्ता नेगेटिभ व्यापारबाट सबै सतर्क हुनु जरुरी छ ।
अर्को पक्ष खानपिन हो । अहिले जंकफुड बढि प्रयोग भइरहेको छ । जंकफुडको बढि सेवनका कारण मानिसको स्वास्थ्य कमजोर हुने स्वास्थ्य विज्ञहरुले बारम्बार दोहोराइरहेका छन् । त्यसैले अब नेचुरल फुडमा आउनुप¥यो । नेचुरल फुडको प्रयोगले रोगसंग लड्ने क्षमतामा बृद्धि हुन्छ ।
कोरोना भाइरसको संक्रमणको सन्त्रासका कारण घरमै के गरेर बस्ने ? भन्ने प्रश्न पनि छ । यो समयलाई हामी भरपूर सदुपयोग गर्न सक्छौँ । यो समयमा घरमा बसेर हाँस्ने, नाच्ने, गाउने, मेडिटेसन गर्ने, प्राणायाम गर्ने, किताब पढ्ने र पोजिटिभ फिल्म हेर्ने, बालबालिकालाई सकारात्मक कुराहरु सिकाउने, आफु र आफनो परिवारका सदस्यको आत्मबल बढाउने लगायतका काम गर्न सक्छौं । त्यसैले यो जिन्दगीभर नगरेको काम गर्ने समय हो । सबैले यो समयको सदुपयोग गरौँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार