३१ भाद्र २०८१, सोमबार

प्रदेश सभामै माननीय र सचिवको विवाद




धनगढी/ सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी र नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डम्मरी महराबीच विवाद भएको छ ।

बुधबार स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी माग ल्याएर प्रदेश सभा सचिवालयमा पुगेका प्रदेशका ९ वटै जिल्लाका कर्मचारीसँगको छलफलमा उनीहरुबीच वादविवाद भएको हो ।

छलफलका क्रममा प्रदेश सभा सदस्य महराले करारका कर्मचारीलाई पनि स्थायी सरह सेवा सुविधा दिनेगरी कानून बनाउनुपर्ने बताएकी थिइन् । सोही बेला प्रदेश सभा सचिवालयका सचिव बोगटीले ‘पढेर आउनु पर्‍यो नि’ भनेपछि दुवै जनाबीच बोलाबोल भएको थियो ।

सचिव बोगटीलाई महराले ‘तपाईंको र मेरो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं, के सोच्नुभएको छ । के हामीले पढेको हुँदैनौं’, भनेकी थिइन्, ‘तपाईंले बोल्ने कुरै होइन ।’ आक्रोशित देखिएकी महराले सचिवतर्फ औंला ठड्याउँदै निकाल्न सक्ने अधिकार भएको चेतावनी दिइन् ।

उनले भनिन्, ‘मैले तपाईंलाई औंलामात्रै ठड्याउने होइन, निकाल्ने अधिकार पनि छ ।’ त्यसपछि सचिवले ‘निकाल्नुहोस् न त’, भन्दै प्रतिवाद गर्छन् । सचिवको उक्त कुरापछि थप रिसाएकी महराले ‘वाहियात कुरा गर्ने तपाईं जानुहोस’, भनेकी थिइन् ।

छलफलमा सहभागी स्थानीय तहका अन्य कर्मचारीले सबै कर्मचारीलाई एक ठाउँमा राख्नुहोस् कुरा गछौँ भनेपछि माहोल शान्त भएको थियो । महरा सांसदले कानून लेख्ने हो कि उहाँहरूले लेख्ने हो रु भन्दै कर्मचारीकै असहयोगका कारण समस्या हुने गरेको गुनासो समेत गरिन् ।

स्थानीय तहका कर्मचारीले उठाएका माग सम्बोधन गर्न सम्बन्धीत ठाउँमा कुरा गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले कर्मचारीहरूले संघीय कानूनसँग बाझिने भन्दै उपयुक्त कानून निर्माण गर्नबाट रोक्ने गरेको समेत सुनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार