३१ भाद्र २०८१, सोमबार

पर्याप्त तयारी छैन, गेटामा अप्रेसन र इन्डोर सेवा शुरु




गेटा / नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको बहुचर्चित कैलालीको गेटास्थित गेटा अस्पतालमा पूर्ण तयारी विनै इन्डोर ( विमारी भर्ना गरेर गरिने उपचार ) सेवा शुरु गरिएको पाइएको छ ।

शुक्रबार इन्डोर सेवा शुरु गरे पनि विमारी भने मंगलबारसम्म पनि भर्ना भएका छैनन् । सार्वजनिक विदा नभएको दिन आइतबार दिउँसो पत्रकारको टोली पुग्दा पनि विमारीको संख्या शुन्य रहेको थियो । अस्पतालका सूचना अधिकारी नरेन्द्रसिंह कार्कीले आजसम्म विमारी नआएको स्वीकार गरे ।

इन्डोर चलाउनका लागि न्युनतम औषधी, उपकरण क्यान्टिन, र स्वास्थ्यकर्मीको आवास अनिवार्य हुन्छ एक स्वास्थ्यकर्मी भने तर ती सबै कुराको व्यवस्था गरिएको छैन ।

न्युनतम व्यवस्था मिलाएर इन्डोर शुरु गर्नु पर्ने मान्यता राख्ने स्वास्थ्यकर्मीहरुको भनाइ अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चाँडै गेटा भ्रमण गर्ने भएकोले देखाउनका लागि हतारमा इन्डोर सेवा शुरु गरिएको हो ।

यसअघिका मन्त्री प्रदीप यादवलाई समेत देखाउनका लागि इन्डोर सञ्चालन गर्न खोजिएको थियो तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै ढलेपछि सो योजना सफल भएन अस्पताल स्रोतले बतायो ।

अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले भने औषधी, उपकरण कुनै पनि अस्पतालमा पूर्ण हुँदैनन् भने, इन्डोर सेवा २४ सै घण्टा चलाउनुपर्छ त्यसका लागि स्वास्थ्यकर्मी तयार अवस्थामा हुनुहुन्छ । यद्यपी आलोचकहरुले आकस्मिक सेवा शुरु गरेर मात्रै इन्डोर सेवा शुरु गर्नु पर्ने थियो भन्दै आएका छन् ।

उनले आफू काठमाडौमै रहेको र मन्त्री कहिले गेटाको अनुगमन तथा निरीक्षणमा आउने भन्ने बारेमा उहाँसित छलफल गरेर तय हुने पनि बताए ।

उनले तयारी पूरा नभएकैले गत वर्ष कात्तिक १ गतेदेखि ओपिडी सेवा शुरु भएको भए पनि आकस्मिक सेवा अहिलेसम्म शुरु नगरिएको समेत बताए । निर्देशक डा. सापकोटाका अनुसार मंगलबारबाटै अप्रेशनका काम पनि शुरु भएको छ ।

अहिले अस्पतालमा स्त्री रोग, जनरल सर्जरी, हाड्जोर्नी, जनरल फिजिसियन , प्याथालोजिस्ट , एनएस थेसोलिजिस्ट, रेडियोलिष्टका विशेषज्ञ गरेर ११ जना डाक्टर र २१ जना जति नर्स कार्यरत रहेको पनि उनले बताए । गेटामा सबै खालका कर्मचारी गरेर १४१ जनाको दरवन्दी भए पनि अहिले ७१ जना मात्रै रहेका छन् ।

अहिले ५० बेडको अनुमति छ नीति तथा कार्यक्रममा १०० वेड अनुमति दिने भनिएको छ हामीले तीन सयको माग गरेका छौ निर्देशक सापकोटाले भने ।

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन खोजिएको गेटा क्षेत्रमा मेडिकल कलेजका लागि छ दर्जन बढी अत्याधिक भवन छन् तर स्वास्थ्यकर्मीको आवास र क्यान्टिन सञ्चालनका लागि कुनै तयारी थालिएको छैन ।

अहिले आवासको आवश्यक्ता भएका केही स्वास्थ्यकर्मीलाई भाडाका घरमा राखिएको छ । भने १८ जना जति स्वास्थ्यकर्मी सात सय जति अटाउने कुरुवाको घरमा बसिरहेका छन् ।

इन्डोर चलाउनका लागि स्वास्थ्यकर्मी, विमारी र विमारीका कुरुवाका लागि गेटा अस्पतालबाट केही टाढा रहेको गेटा आँखा अस्पताल क्षेत्रबाट खाजा, खाना ल्याउने सूचना अधिकारी कार्कीले बताए ।

उनले पानीको व्यवस्था गरेर आवास क्षेत्र दिन गेटा मेडिकल पूर्वाधार विकास समितिलाई आग्रह गरेको बताए । क्यान्टिन सञ्चालन गर्ने पनि कुनै तयारी नरहेको उनले बताए ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिको समेत जिम्मेवारी सम्हालेका जिल्ला शिक्षा समन्वय अधिकारी बैकुण्ठ सुवेदीले गेटाका संरचना मेडिकल कलेजका लागि भएको बताए ।

उनले अस्पतालका स्वास्थ्यकर्मीका लागि भनेर आवासको व्यवस्था छैन तर व्यवहारिकरुपमा आवास दिन मिल्छ होला उनले भने, आवास क्षेत्रमा भने कात्तिक अघि पानीको व्यवस्था हुन सक्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार