४ असार २०७८, शुक्रबार

प्रहरी बिट हस्तान्तरण



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा स्थापना गरिएको अस्थायी प्रहरी विट हस्तान्तरण गरिएको छ ।
मनेहरा सामुदायिक वन उपभोक्ता समुहको लगानीमा निर्माण गरिएको विट शनिबार हस्तान्तरण गरिएको हो ।
बन समुहका अध्यक्ष मोती रानाले कैलाली प्रहरी प्रमुख सुदीप गिरीलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख गिरीले नगरको शान्ति सुरक्षाका लागि स्थानीयहरू पनि जागरुक हुनुपर्ने बताए । उनले भने– प्रहरी विट स्थापनाका लागि सामुदायिक वनको सहयोगले टेवा पुगेको छ । यसरी नै अपराधिक गतिविधि हुन नदिन पनि नागरिकको साथ र सहयोग आवश्यक रहन्छ ।
स्थानीय लोकबहादुर शाहीले मनेहरामा स्थापना भएको प्रहरी विटले दुई वडामा शान्ति, सुरक्षा कायम गर्न मद्दत पुग्ने बताए । उनले भने– यो (प्रहरी विट) नगरको वडा नम्बर ७ र १२ को बिचमा स्थापना गरिएको छ । यसले दुई वडामा हुने अपराधिक गतिविधिलाई रोक्न मद्दत गर्ने अपेक्षा लिएका छौं ।
उनका अनुसार वडामा झै–झगडा, विवाद, चोरी तस्करी लगायतका घटना भइरहने गरेको थियो । स्थानीयको मागकै आधारमा सामुदायिक वनले प्रहरी विट स्थापना गर्न पहल गरेको थियो ।
मनेहरा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मोती रानाले भने– वनले सामाजिक कार्य अन्र्तगत सामुदायिक वनको आर्थिक लगानीमा विट स्थापना गरिएको छ ।
उनका अनुसार सामुदायिक वनले एक लाख ७८ हजार आठ सय लगानीमा विट स्थापना गरिएको थियो । उनले प्रहरी विट राखिएपछि वडामा शान्ति सुरक्षा कायम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्