गगन, चोलेन्द्रसहितका नाम लिएपछि इनामको बयानले तरंग
एआइबाट बनाइएको तस्बिर
काठमाडौं / अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न चलखेल गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाले प्रहरीलाई दिएको बयानमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विभिन्न व्यक्तिको नाम जोड्दै करोडौँ रुपैयाँको लेनदेन भएको दाबी गरेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा रहेका सापकोटाले अदालतमा विचाराधीन मुद्दाहरूमा आर्थिक चलखेल भएको विषय खुलाएको बताइएको छ । जनआस्थाले प्राप्त गरेको बयानको अडियो रेकर्डअनुसार उनले नयाँ बानेश्वरस्थित आइप्लेक्स मलको विवादसम्बन्धी मुद्दामा करोडौँ रुपैयाँको लेनदेन भएको दाबी गरेका हुन् ।
उनले पूर्वप्रधानन्यायाधीश राणाका साथै उनका भाइ प्रभु शमशेरमार्फत रकम आएको बयानमा उल्लेख गरेका छन् । उक्त आर्थिक कारोबार जेठ–असारदेखि सुरु भएको उनको भनाइ अडियोमा सुनिन्छ ।
त्यसैगरी, काठमाडौं जिल्ला अदालतमा दर्ता भएको नवीन तुलाधर जोडिएको ठगीसम्बन्धी मुद्दामा समेत आर्थिक लेनदेन भएको सापकोटाले दाबी गरेका छन् ।
अडियोमा उनले नवीनसँग सिंगापुर भ्रमणका क्रममा उमेश नामका व्यक्तिमार्फत चिनजान भएको बताएका छन् । नवीनले आरजु र चोलेन्द्रशमशेर राणासँग सम्बन्धित भनिएका व्यक्तिहरूको ठूलो रकम व्यवस्थापन गर्ने गरेको दाबी पनि उनले गरेका छन् ।
झापा घर भएका सापकोटाले प्रहरीसमक्ष दिएको बयानमा आफ्नो प्रत्यक्ष सम्बन्ध चोलेन्द्रशमशेर राणासँग मात्रै रहेको र अन्य व्यक्तिसँगको चिनजान पनि राणामार्फत नै भएको बताएका छन् । उनले चिनजान भएका अधिकांश व्यक्ति नेपाली कांग्रेससँग आबद्ध रहेको दाबीसमेत गरेका छन् ।
यद्यपि, सापकोटाले बयानमा गरेका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ । आरोपमा नाम जोडिएका व्यक्तिहरूको प्रतिक्रिया तथा सम्बन्धित मुद्दामा भएको भनिएको आर्थिक कारोबारबारे अनुसन्धानको निष्कर्ष सार्वजनिक भएको छैन ।




