१८ कार्तिक २०८३, मंगलबार

अपि हिमालको काखमा पर्यटन उत्सव, आधार शिविरमै क्रिकेटदेखि जलवायु संवादसम्म



दार्चुला/ सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल अपिलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित दार्चुलाको अपिहिमाल क्षेत्रमा पर्यटन उत्सव सुरु भएको छ। अपिहिमाल गाउँपालिका–१ स्थित अपि हिमालको आधार शिविरमा सुरु भएको उत्सवले हिमाली पर्यटन, स्थानीय संस्कृति, खेलकुद र जलवायु परिवर्तनका मुद्दालाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नुभयो। उद्घाटनका लागि मुख्यमन्त्री भट्टसँगै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र प्रदेश सभामुख भीमबहादुर भण्डारी हेलिकप्टरमार्फत अपिहिमाल पुग्नुभएको थियो।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार उत्सवमार्फत अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा चिनाउने लक्ष्य राखिएको छ। उत्सवमा साहित्य, कला, खेलकुद, योग, ध्यान र जलवायु परिवर्तनसम्बन्धी विविध कार्यक्रम समेटिएका छन्।

उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका साहित्यकार, कलाकार र स्थानीय प्रतिभाको सहभागितामा सांस्कृतिक कार्यक्रम तथा साहित्यिक गोष्ठी आयोजना गरिएको छ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुनेछन्। तीमध्ये अपि हिमालको आधार शिविरमै खेलाइने क्रिकेट प्रतियोगितालाई उत्सवको विशेष आकर्षणका रूपमा लिइएको छ।

हिमालको काखमा क्रिकेट खेल आयोजना गर्नु खेलकुद र पर्यटनलाई जोड्ने नयाँ प्रयास भएको अध्यक्ष बोहराले बताउनुभयो। यसले उच्च हिमाली क्षेत्रमा खेल पर्यटनको सम्भावना उजागर गर्ने गाउँपालिकाको अपेक्षा छ।

तेस्रो दिन अपिहिमाल क्षेत्रलाई ‘वेलनेस टुरिजम’ अर्थात् स्वास्थ्य तथा आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ। उत्सवको अन्तिम कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विशेष संवाद आयोजना हुनेछ। आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिने संवादले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई अन्तर्राष्ट्रियस्तरमा उठाउने लक्ष्य राखेको छ।

गाउँपालिकाका अनुसार हाल अपिहिमाल क्षेत्रमा वार्षिक करिब पाँच हजार पर्यटक पुग्ने गरेका छन्। यस वर्ष उक्त संख्या दोब्बर बनाउँदै १० हजार पुर्‍याउने लक्ष्य लिइएको छ।

सात हजार १३२ मिटर उचाइको अपि हिमाल सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल हो। प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र साहसिक पर्यटनका दृष्टिले ठूलो सम्भावना बोकेको भए पनि यहाँको आधार शिविरसम्म पुग्ने पर्यटकको संख्या अझै न्यून छ।

पर्यटन उत्सवलाई यही सम्भावनाको प्रचारप्रसार गर्ने माध्यमका रूपमा लिइएको छ। गाउँपालिकाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जना, आयआर्जन वृद्धि र जलवायु अनुकूलनका कार्यक्रमलाई पनि उत्सवको उद्देश्य बनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले उत्सवमा सहभागी भएर अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन सबैलाई आह्वान गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार