पाँच विकेटको जितसँगै सुदूरपश्चिमको दोस्रो सफलता
काठमाडौ/ नेपालप्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवनलाई पाँच विकेटले हराएको हो।
चितवनले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले ४३ रन बनाए। ईशान पाण्डेले २५ रन जोड्दा आरिफ शेखले २० र शेर्फन रुदरफोर्डले अविजित २१ रनको योगदान दिए।
चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर राजाले समान १५ रन जोडे।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट लिए।
यो जितसँगै चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारको नतिजा निकालेको छ। चितवनले भने तीन खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। लुम्बिनीसँगको एक खेल वर्षाका कारण रद्द भएको थियो।




