बडीमालिकामा हिमपातपछि हराएका २० वर्षीय युवक मृत फेला
बाजुरा/ भारी हिमपातका कारण शुक्रबारदेखि सम्पर्कविहीन भएका एक युवक बाजुराको बडीमालिका क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन् ।
बडीमालिका क्षेत्रमा हिमपात भएपछि सम्पर्कविहीन भएका बोहराको खोजीका लागि आइतबार बिहान सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार खोजीका क्रममा बोहराको शव बडीमालिकास्थित त्रिवेणी पाटन नजिक फेला परेको हो ।
उनका अनुसार मृतकको शवसँगै खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई पनि हेलिकप्टरमार्फत सदरमुकाम ल्याउने पहल भइरहेको छ ।




