१८ बैशाख २०८१, मंगलवार

दुर्गमका महिला स्थायी बन्ध्याकरण गर्दै



बाजुरा । बाजुराको स्वामिकार्तिक गाउ“पालिका वडा नम्बर १, साप्पाटाका अमला रोकाया (नाम परिर्वतन) ले छ सन्तान छन् । उनलाई परिवार नियोजनका अस्थायी तथा स्थायी साधनबारे कुनै जानकारी थिएन । केही महिनाअघि स्वास्थ्यकर्मीले उनलाई परिवार नियोजन सम्बन्धिबारे जानकारी गराएपछि उनले मिनिल्याप (स्थायी बन्ध्याकरण) गरेकी छिन् ।
अमलाले भनिन्– पहिले परिवार नियोजन साधनबारे कुनै जानकारी थिएन । त्यस्तै समाजमा पनि परिवार नियोजन गर्नुहुन्न भन्ने परम्परागत मान्यता थियो । त्यसैले अहिले आएर बल्ल स्थायी बन्ध्याकरण गरे ।
अमलाले कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा सञ्चालित परिवार नियोजन शिविरमा स्थायी बन्ध्याकरण गरेकी हुन् । स्वास्थ्य शिविरमा उनिसहित ४८ जना महिलाले मिनिल्याप बन्ध्याकरण गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । शिविरमा स्थायी बन्ध्याकरण सेवा लिन बाजुराका साथै छिमेकी जिल्ला हुम्ला र मुगुबाट पनि सेवाग्राही आएका थिए ।
बाजुराको उत्तरी क्षेत्रका चार वटा स्थानीय तह, हुम्ला र मुगुका महिलाहरुले स्थायी बन्ध्याकरण गर्न आनाकानी गर्ने गरेका छन् । बुढिनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले भने– हाम्रो समाजमा बन्ध्याकरण गर्दा महिला कमजोर हुन्छन् भन्ने मानसिकता छ । निकै प्रयासपछि बल्ल अहिले महिलाहरु स्वयं नै स्थायी बन्ध्याकरण गर्न थालेका छन् ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबार र सोमबार परिवार नियोजन शिविर सञ्चालन भएको थियो ।
नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले शिविरमा अपेक्षा गरेभन्दा बढि सेवाग्राही आएको बताए ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजनमा भएको शिविरमा नेपाल परिवार नियोजन संघ डोटीको प्राविधिक सहयोग रहेको थियो । शिविरमा महिलाका लागि मिनिल्याप र पुरुषका लागि भ्यासेक्टोमी सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरमा डाक्टर यमबहादुर बस्नेत सहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
परिवार नियोजन सेवा लिएका सेवाग्राहीलाई बुढिनन्दा नगरपालिकाले एक÷एक कम्बल वितरण गर्नुका साथै एकछाक खाना खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार