११ श्रावण २०८१, शुक्रबार

वैदिक वाटिका स्थापनाका लागि कार्यक्रम



धनगढी । प्रस्तावित विश्व वैदिक वाटिका स्थापनाको उद्देश्यसहित आयोजित वैदिक कार्यक्रम शुक्रबार समापन भएको छ ।
शिवमन्दिर व्यवस्थापन समिति र सांस्कृतिक पुनर्जारण आन्दोलन परिचालन समिति तथा नागरिक समाज कैलालीको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ सरस्वतीनगरमा गत ७ गतेदेखि वैदिक कार्यक्रम शुरु भएको थियो । शुक्रबार महाशिवरात्रीको अवसरमा लाखबत्ती प्रज्ज्वलन तथा विश्व वैदिक वाटिका स्थापनाका लागि भूमिपुजन भएको थियो ।
भूमिपुजन कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीराज पन्त, संस्कृतिकर्मी पदमराज जोशी, वडा नम्बर १ का अध्यक्ष संतोष मुडभरी, वडा नम्बर २ का अध्यक्ष नरबहादुर बम, वडा सदस्य धर्मराज उपाध्याय र रत्ना बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्कृतिकर्मी जोशीले विश्व वैदिक बाटिका निर्माण सबैको साझा कार्य भएकोले सहयोगका लागि आग्रह गरे ।
प्रस्तावित विश्व वैदिक वाटिकामा राधाकृष्ण मन्दिर, गौरीघाट, श्रीस्वस्थानी धाम लगायतका संरचना निर्माण गरिने संस्कृतिकर्मी जोशीले बताए ।
वैदिक कार्यक्रममा कलश यात्रा, रुद्री पाठ, भजनकिर्तन, प्रवचन, भूमिपुजन लगायतका धार्मिक कार्यक्रमहरु भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष नन्दा देवी उपाध्यायले बताइन् ।
मन्दिर व्यवस्थापन समितिलाई धनगढी उपमहानगरपालिका वडा नम्बर २ का रंगलाल उपाध्याय र गोरख बहादुर सिंहले विश्व वैदिक वाटिकाका लागि जग्गादान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार