३१ जेष्ठ २०८१, बिहीबार

घोडाघोडीमा सूचक प्रजातिहरूको अनुगमन तालिम



सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रका सूचक प्रजातिहरूको अनुगमन तालिम आइतबारदेखि सुरु भएको छ ।
घोडाघोडी ताल क्षेत्रमा पाईने जीवजन्तुहरूको संख्या अध्यावधिक गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाइएको छ ।
घोडाघोडी नगरपालिका प्रमुख तथा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष ममता प्रसाद चौधरीको अध्यक्षतामा भएको तालिम हिमालयन नेचरको आयोजना तथा पर्यटन विकास बोर्डको सहकार्यमा भएको हो ।
घोडाघोडी ताल क्षेत्रको गुरुयोजना निर्माणमा सूचक प्रजातिहरूको संख्या आवश्यक पर्ने भएकोले सूचक प्रजातिहरूको गणनाका लागि तालिम सञ्चालन गरिएको आयोजकले बताएको छ ।
सो अवसरमा नगर प्रमुख चौधरीले घोडाघोडी ताल क्षेत्रको प्रचारप्रसार लागि ताल बारे विभिन्न जानकारी समावेश गर्न आवश्यक रहेको बताए ।
तालिममा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरी र हिमालयन नेचरका प्रोजेक्ट अफिसर प्रविन श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।
तालिमका सहभागिहरूलाई घोडाघोडी ताल क्षेत्रमा पाईने प्रजातिहरूको गणनामा खटाइने बताइएको छ ।
घोडाघोडी ताल क्षेत्रमा दुई सय ९९ प्रजातिका चरा रहेको तथ्यांक छ ।
त्यस्तै, ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, चार सय ५० प्रजातिका वनस्पति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार