३० जेष्ठ २०८१, बुधबार

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अन्तक्रिया



धनगढी । नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा गरिएका नीतिगत तथा कानूनी प्रबन्धबारे आइतबार धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय अन्तक्र्रिया भएको छ ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी मौजुदा व्यवस्था, ई–मेल निर्देशिका, डिजिटल सिग्नेचर, सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, क्लिन फिड र विज्ञापन ऐन, डिजिटल नेपाल फ्रेमवर्क तथा आमसञ्चार क्षेत्र र आमसञ्चार नीति, २०७६ बारे गहन छलफल भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ठूलो संख्यामा सञ्चारकर्मी, नेपाल टेलिकम, हुलाक सेवा विभाग तथा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बालकृष्ण घिमिरेले अझ बढि मर्यादित, विश्वसनीय, सामाजिक उत्तरदायी तथा जवाफदेहितासहितको मिडियाको विकास आवश्यक रहेको बताए ।
प्रमुख सचिव घिमिरेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि मिडियाले बढि वस्तुनिष्ठ तथा सकारात्मक ढंगले प्रस्तुत हुन आग्रह गरे । उनले प्रदेश सरकारले समयानुकुल मिडिया नीति तथा कानून ल्याउने बताए ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका उपसचिव मुकुन्द शर्माले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी मौजुदा व्यवस्था, सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, क्लिन फिड र विज्ञापन ऐन तथा आमसञ्चार क्षेत्र र आमसञ्चार नीति, २०७६ का विशेषता बारे प्रस्तुति गरेका थिए ।
त्यस्तै, मन्त्रालयका कम्प्युटर इन्जिनियर प्रवेश कोइरालाले ई–मेल निर्देशिका, डिजिटल सिग्नेचर, तथा डिजिटल नेपाल फ्रेमवर्कका विशेषता, महत्व तथा प्रमुख पक्षबारे प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मनमोहन स्वार, कैलाली जिल्ला अध्यक्ष जगत साउद, पत्रकार भावना जोशी लगायतले संघीय तथा प्रदेश सरकारले ल्याएका तथा ल्याउने प्रक्रियामा रहेका मिडिया सम्बन्धी नीति तथा विधयेकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पार्ने असरबारे टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार