१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिमका दुई जिल्लामा हात्तीपाइले रोग निवारण कार्यक्रम



धनगढी/ सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा पुनः हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गरिन लागेको छ । सन् २०१३ मा सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा अभियान सञ्चालन गरिएको थियो । प्रदेशका पहाडी सात जिल्लामा अभियान सफल भए पनि आठौं चरणमा पुग्दा समेत कैलालीमा भने अपेक्षाकुत हरूपमा सफल हुनसकेको छैन ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले आठौं चरणको अभियान अन्तर्गत प्रदेशका दुई वटा जिल्लामा आगामी २५ गतेदेखि अभियान सञ्चालन हुने जानकारी दिए । निर्देशक डाक्टर अवस्थीले भने– कञ्चनपुरमा हात्तीपाईले रोग विरूद्धको औषधी यहि वर्षमात्र खुवाइने छ । कैलालीमा भने अर्को वर्ष पनि खुवाउनुपर्ने देखिएको छ ।
कैलालीमा हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७५/७६ मा ६९ प्रतिशत मात्र रहेको थियो । जसका कारण कैलालीमा नौ चरणको अभियान पनि सञ्चालन गर्नुपर्ने जनाइएको छ । कैलाली स्वास्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार कैलालीमा गत वर्ष आठ लाख २९ हजार १३ जनसंख्या मध्ये छ लाख ३५ हजार तीन सय सात जनाले मात्र हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका थिए ।
कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ । त्यसका लागि स्थानीय तहहरूलाई विभिन्न चरणका अन्तक्र्रिया, गोष्ठी, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, प्रचारप्रसार लगायतका कार्यक्रमहरू अघि बढाएको जनाइएको छ ।
त्यस्तै, पाच लाख १७ हजार दुई सय ५० जनसंख्या रहेको कञ्चनपुर जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा तीन लाख ८६ हजार दुई सय ५० जनाले हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गरेका थिए । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सिद्धराज भट्टले यस वर्ष ८५ प्रतिशत जनसंख्यालाई हातीपाइले रोगविरूद्धको औषधी सेवन गराउने लक्ष्य लिइएको बताए ।
नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोगविरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशका १३ वटा जिल्लामा यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरिने जनाइएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफनै उपस्थितिमा खुवाउनुपर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण कैलालीमा हात्तीपाईले निवारण कार्यक्रम प्रभावकारी हुन नसकेको उनले बताए ।
उनले हात्तीपाइलेको औषधि खाँदा हुन सक्ने असरबारे स्वास्थ्यकर्मीले राम्रोसँग मानिसलाई बुझाउन नसकेको बताए । उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्यु भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत र भ्रामक प्रचारका कारण औषधि लिने, तर नखाने समस्या विद्यमान छ । हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने प्रतिअसर देखिन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार