६ जेष्ठ २०८१, आईतवार

एम्बुलेन्स खरिद प्रकरण : मोडलदेखि मूल्यसम्म कैफियत



धनगढी/ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले केही समयअघि स्वास्थ्य संस्थाहरूलाई वितरण गरेको एम्बुलेन्स खरिद प्रकरण अहिले निकै चर्चामा छ ।
सामाजिक विकास मन्त्रालयको एम्बुलेन्स खरिदमा ठूलो रकम अनियमिता भएको चर्चाबीच बुधबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसंग सो सम्बन्धीमा सोधपुछ गरेका छन् । सामाजिक विकास मन्त्री सुवेदी तथा मन्त्रालयका उच्चाधिकारीहरूले एम्बुलेन्स खरिद प्रक्रियामा कुनै किसिमको अनियमिता नभएको दाबी गर्दै आएका छन् । तर, वितरण गरिएका एम्बुलेन्सको मोडेल, उपकरण, अवस्था तथा मूल्यबारे मन्त्रालयको दाबी र वास्तविकतामा ठूलो अन्तर देखिएको छ ।
मन्त्रालयले टाटा एसएफसी ४०७ नम्बर मोडलको एम्बुलेन्स गाडी खरिद गरेको बताउदै आएको छ । सामाजिक विकास मन्त्रालयले पुरानो मोडेलका तथा पहाडी जिल्लाका लागि अनपयुक्त मिनि ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको बताइन्छ । मन्त्रालयले ती एम्बुलेन्स बी ग्रेडको रहेको दाबी गर्दै आएको छ ।
सामाजिक विकास मन्त्रालयले खरिद गरि स्वास्थ्य संस्थालाई वितरण गरेको एम्बुलेन्समा बिरामी सुत्नका लागि एउटा बेड छ भने बिरामीको कुरुवाका लागि बस्ने एक बेञ्च रहेको छ । एम्बुलेन्समा अक्सिजन र मोनिटर जडान छ । मोनिटरलाई कपडाले बाँधिएको छ भने अक्सिजन ग्यास फलामले अड्याइएको । एम्बुलेन्समा सामान राख्ने दराज छ । प्रदेश सरकारले सुविधासम्पन्न भनेका एम्बुलेन्समा यी बाहेक अरु सुविधा छैन । प्रदेश सरकारले एम्बुलेन्स वितरण गर्दा ‘स्वास्थ्यकर्मी सहितको सेवा प्रदान गरिने’ घोषणा गरेको थियो ।
एम्बुलेन्सको बाहिर विभिन्न स्टिकर टाँसेर आकर्षक बनाउने प्रयास गरिएको छ । एम्बुलेन्समा ‘एमरन’ कम्पनीको पुरानो ब्याट्री राखिएको छ । एम्बुलेन्सको इन्जिन रहेको भागतिर विभिन्न मिति उल्लेख गरिएका पर्चा छन् । सामाजिक विकास मन्त्रालयले यो गाडी सन् २०१९ को मोडेल रहेको बताएको छ । तर, गाडीमा ०१६ उल्लेख छ ।
सेती प्रादेशिक अस्पताललाई वितरण गरिएको एम्बुलेन्स वितरण भएदेखिनै गुडेको छैन । सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिक २० गते “भव्य” कार्यक्रम गरि सेती प्रादेशिक अस्पतालसहित प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका अस्पतालमा एम्बुलेन्स वितरण गरेको थियो ।
एम्बुलेन्स चालक भीम बिष्टले भने– बिरामीहरु यो एम्बुलेन्स हेरेर चढ्नै मान्दैनन् । उनले मन्त्रालयले वितरण गरेको एम्बुलेन्सभन्दा पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको प्रतिक्रिया दिए ।
उनले भने– यो एम्बुलेन्समा ८० किलोमिटर प्रति घन्टा भन्दा बढिको गति नै छैन । बिरामीलाई छिटो र सहज तरिकाले बोकेर ल्याउनु पर्नेमा यसले उल्टै समस्या दिने गरेको छ ।
चालकहरु एम्बुलेन्स दु्रत गतिमा गुड्ने र विरामी मैत्री हुनुपर्ने बताउछन् । सामाजिक विकास मन्त्रालयले वितरण गरेका एम्बुलेन्सको गति मात्रै कम छैन, बिरामीका लागि आरामदायी पनि छैन ।् उनीहरू भन्छन्– यो एम्बुलेन्स सुरुदेखि नै मर्मत गर्नुपर्ने समस्या रहेको छ ।
एम्बुलेन्स चालक संघका अध्यक्ष लक्ष्मण सिंहले प्रदेश सरकारले वितरण गरेकोे एम्बुलेन्स उकालोमा गुड्न कठिनाई हुने गरेको बताए ।
सामाजिक विकासका मन्त्रालयले १६ वटा निर्वाचन क्षेत्रका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई सुविधासम्पन्न भनेर एम्बुलेन्स वितरण गरेको थियो । पूर्व सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारी मन्त्री हुँदा प्रदेशका पहाडी सात जिल्लाका १६ निर्वाचन क्षेत्रमा एम्बुलेन्स वितरण गर्ने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख थियो ।
मिनि ट्रक बनाइयो, एम्बुलेन्स
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेका एम्बुलेन्स टाटा कम्पनीको ४०७/३१ नम्बरका मिनि ट्रक हुन् । सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स वितरण गर्दा स्वास्थ्य संस्थाहरुसंगको सम्झौतापत्रमा एम्बुलेन्स सन् २०१९ मा निर्माण भएको उल्लेख छ ।
भारतमा सन् २०१९ मा बनेको सो गाडीको मूल्य छ लाख भारतीय रुपैया अथवा नौ लाख ६० हजार नेपाली रुपैयाँ रहेको बताइन्छ । एम्बुलेन्स प्रयोजनका लागि गाडी भित्र्याउदा एक प्रतिशत मात्र भन्सार शुल्क लाग्ने गर्दछ ।
सामाजिक विकास मन्त्रालयले ती ट्रकलाई एम्बुलेन्सका रुपमा खरीद गर्दा प्रति एम्बुलेन्स ३१ लाख १२ हजार रुपैया तथा अन्य उपकरणका लागि सात लाख ९५ हजार सहित कुल छ करोड ३५ लाख २० हजार रुपैया भुक्तानी गरेको पाईएको छ ।
एम्बुलेन्स चालकहरू भने यी एम्बुलेन्स सन् २०१९ मोडलका नभई कम्तिमा छ वर्ष पुराना गाडी भएको दाबी गरिरहेका छन् । गाडी मर्मतका क्षेत्रमा २० वर्षदेखि काम गर्दै आएका एक प्राविधिकले भने– सामाजिक विकास मन्त्रालयले नयाँ गाडीको मूल्यभन्दा पनि एक सय गुणा बढि मूल्य तिरेर पुराना गाडी किनेको छ ।

यातायातमा पनि गलत विवरण
यातायात कार्यालयले प्रदान गरेको सवारी धनी पुर्जामा इन्धन नम्बर गलत उल्लेख छ । यातायात कार्यालय कैलालीले प्रदान गरेको पुर्जामा सु प ००१ झ ३५७ नम्बरको एम्बुलेन्सको ईन्जिन नम्बर ४ एसपिसिआर ११ डिपीवाई ६१७५९४ उल्लेख छ । तर सो गाडीको इन्जिनमा २५३४०११५०३२४८ जे उल्लेख छ ।
यातायात कार्यालयले उपलब्ध गराएको सो पूर्जामा सो गाडी भैरहवा नाकाबाट आयात भएको जनाइएको छ । गाडीमा चार वटा सिलिण्डर, गाडि बनेको मिति २०१९, सवारीको मोडल ४०७÷३१ (४ गुणा ४), कम्पनीको नाम टाटा उल्लेख गरिएको छ । सो गाडिको पेट्रोल डिलेजमा वि गे्रड एम्बुलेन्स उल्लेख छ । गाडिको रंग ‘आरकेटीक ह्वाईट’ उल्लेख छ ।
मन्त्रालयले भन्यो– भ्रम छर्ने काम भयो
यसैबीच, सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदबारे सार्वजनिक भएका समाचार भ्रामक भएको दाबी गरेको छ ।
मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै एम्बुलेन्स खरिदमा कुनै पनि किसिमको अनियमिता नभएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार