१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवामा बढ्दो चुनौति



 
  • कालाजार पुनः देखियो
  • स्क्रबटाईफसका विरामी बढे
  • नमुना स्वस्थ प्रदेश घोषणा लक्ष्य प्राप्त गर्न चुनौति

धनगढी/ राज्य पुनर्संरचनासंगै सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा चुनौतिहरु थपिएको तथ्यांकले देखाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकले स्वास्थ्य सेवाका कतिपय सूचक कमजोर देखिएका छन् ।
राज्य पुनःसंरचनापछि स्वास्थ्य सेवाको क्षेत्रमा विगतको रिपोर्टिङ च्यानल भत्किनुका साथै स्वास्थ्यकर्मी समायोजन प्रभावकारी हुन सकेको छैन ।
स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर गुणराज अवस्थीका अनुसार स्वास्थ्य सेवा प्रवाह गर्ने विगतको संरचना अहिले तीन तहका सरकार बनेपछि खल्बलिएको छ । यसले स्वास्थ्य सेवा प्रवाहमा कठिनाई थपिनुका साथै स्वास्थ्य सेवाका सूचकहरु कमजोर हुदै गएका छन् ।
प्रदेशमा बालविवाहको दरमा कमी नआउनु, सबै ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी सेवाको पहुँचमा कमी, परिवार नियोजनका वितरण तथा प्रयोग दरमा बृद्धि नभएका कारण अनईच्छित गर्भ, दक्ष स्वास्थ्यकर्मीबाट सेवाको कमी लगायतका कारण मातृ तथा शिशु मृत्युदर न्युनिकरणमा आशातित कमी आउन सकेको छैन । पछिल्ला वर्षहरुमा सुदूरपश्चिम प्रदेशमा पुनः कालाजार देखिन थालेको छ भने डेंगु र स्क्रबटाईफस रोगको संक्रमणमा लगातार बृद्धि भइरहेको छ ।
पछिल्ला वर्षहरुमा स्वास्थ्य क्षेत्रमा सरकारको लगानीको आकारमा बृद्धि भए पनि कुल बजेटको अनुपातमा लगानी प्रतिशत बृद्धि हुनसकेको छैन । स्वास्थ्य निर्देशक डाक्टर अवस्थीका अनुसार विश्वभरी विकशित मुलुकमा स्वास्थ्य सेवामा कुल बजेटको दश प्रतिशतभन्दा बढडी लगानी हुने गरे पनि नेपालमा चार प्रतिशतको हाराहारीमा मात्रै बजेट विनियोजन हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेशलाई आगामी सन् २०२१ सम्म नमुना स्वस्थ प्रदेश घोषणा गर्ने लक्ष्य लिइएको छ । तर, पछिल्ला वर्षहरुको स्वास्थ्य सेवाका सूचकले यो लक्ष्य प्राप्त गर्न निकै चुनौतिपूर्ण रहेको देखाएको छ ।
स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ मा बिसिजि खोप कभरेज दर ८७ प्रतिशतमा स्थिर रहे पनि आर्थिक वर्ष २०७५/०७६ मा ८४ प्रतिशतमा झरेको छ । सुदूरपश्चिम प्रदेशका दार्चुला र कञ्चनपुरमा बिसिजी खोप कभरेज सबैभन्दा कमजोर छ । सुदूरपश्चिमका सबै जिल्ला यसअघि नै पुर्ण खोपयुक्त घोषणा भइसकेका छन् । नेपाल सरकारले सन् २०२१ मै शतप्रतिशत जनतामा खोप सेवा पु¥याउने लक्ष्य लिएको छ ।
सरकारले हात्तिपाइले विरुद्धको औषधि खुवाउन प्रत्येक वर्ष चरण चरणमा अभियान सञ्चालन गरेको भए पनि अझै पूर्ण रुपमा यसको कभरेज पुगेको छैन । प्रदेशमा हात्तीपाइले विरुद्धको औषधी खाएको प्रतिशत आर्थिक वर्ष ०७३/७४, ०७४/७५ र ०७५/७६ मा क्रमशः ७७, ८३ र ८६ रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा चार पटक गर्भजा“च गराउने गर्भवतिको संख्या गत आर्थिक वर्ष २०७५/०७६ मा दर ५८ प्रतिशत रहेको छ । त्यस अघिको दुई आर्थिक वर्षमा यो दर क्रमशः ५५/५५ प्रतिशत थियो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका ७१ प्रतिशत गर्भवतिले स्वास्थ्य संस्थामा बच्चा जन्माएको तथ्यांक रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा क्रमशः ६८ र ६९ प्रतिशत गर्भवतिले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार यो दर सुदूरपश्चिममा ६६.४ प्रतिशत थियो ।
दक्ष चिकित्सकबाट प्रसुती गराउने महिलाको अनुपात आर्थिंक वर्ष २०७३/७४ मा ५९.५ प्रतिशत तथा आर्थिक वर्ष २०७४/७५ मा ६०.२ र आर्थिक वर्ष २०७५/७६ मा ६२ प्रतिशत रहेको थियो ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा नवजात शिशु मृत्युदर प्रत्येक जिवित आर्थिक वर्ष २०७३÷७४ मा तीन सय २२, आर्थिक वर्ष २०७४/७५ मा दुई सय ८० र आर्थिक वर्ष २०७५/७६ मा दुई सय ९० रहेको थियो । भने गत तीन आर्थिक वर्षहरुमा क्रमशः २८, २७ र १७ जना सुत्केरीको मृत्यु भएका थियो । नेपाल सरकारले सन् २०२१ सम्म मातृ मृत्यु दर सून्यमा झार्ने लक्ष्य लिएको छ ।
सुदूरपश्चिम प्रदेशमा परिवार नियोजन साधनको प्रयोग दर आर्थिक वर्ष २०७३/७४, ०७४/७५ र ०७५/७६ मा क्रमशः ४१, ३९ र ३९ प्रतिशत रहेको छ । जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार सुदूरपश्चिममा परिवार नियोजन साधन प्रयोग गर्ने दम्पतिको संख्या ५७.३ प्रतिशत थियो । नेपाल सरकारले हरेक प्रदेशमा २०२१ सम्म यो दर ६० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
क्षयरोग पनि सुदूरपश्चिममा सन्तोषजनक रुपमा घटेको छैन । आर्थिक वर्ष २०७३/७४, ०७४/७५ र ०७५/७६ मा क्रमशः १२०, ११८ र १११ जना नया क्षयरोगी भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ३६ जनामा एचआइभि/एड्स भेटिएको थियो भने एचआइभि/एड्स संक्रमितको संख्या तीन हजार एक सय ६० पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा पुनः कालाजार देखिएको छ । गत वर्ष १२ जना कालाजारका रोगी भेटिएका थिए भने यस वर्षको कात्तिक महिनासम्म कालाजारका आठ विरामी भेटिएको निर्देशनालयले जनाएको छ ।
गत वर्ष १० जनामा देखिएको डेंगु रोग यस वर्ष सुदूरपश्चिममा एक सय ११ जनामा भेटिएको छ । प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गरेको थिए ।
त्यसैगरी, सुदूरपश्चिममा यसवर्ष स्क्रबटाईफस महामारीको रुपमा फैलिएको थियो । यसवर्ष हालसम्म दुई सय ६५ जनामा स्क्रबटाईफस भेटिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले बताए । उनका अनुसार गतवर्ष ३३ जनामा स्क्रबटाईफस भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार