४ जेष्ठ २०८१, शुक्रबार

गाउँको सिंहदरवारले विद्यार्थीलाई दिवा खाजा दिएन



गोकर्ण दयाल/बैतडी । विद्यार्थीलाई दिवा खाजा खुवाउन गाउँको सिंहदरवारको खातामा बजेट आए पनि विद्यालयमा खाजा नपाक्दा बैतडीका ३५ हजार विद्यार्थी दिउँसो भोकै बस्न बाध्य भएका छन् ।


विद्यालयको शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि गाउँको सिंहदरवारले बैतडीका ३१७ प्राथमिक विद्यालयका ३५ हजार विद्यार्थीलाई दिवा खाजा दिन सकेको छैन ।
यस अघि विश्व खाद्य कार्यक्रमले बैतडीका प्राथमिक तहका विद्यालयलाई सिधैं दिवा खाजाका रुपमा पौष्टिक आहारको पीठो र तेल दिदैं आएको थियो । यो वर्षदेखि विश्व खाद्य कार्यक्रमले सामान्य तालिम र प्रशिक्षण मात्र दिने भएपछि दिवा दिवा खाजाको कार्यक्रम नेपाल सरकारले संचालन गर्न स्थानी तहमा बजेट निकासा दिएको छ ।
चालु आर्थिक वर्ष २०७६÷२०७७ मा नेपाल सरकारले प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले स्थानीय तहको खातामा बजेट दिने निर्णय अनुसार बजेट निकासा भएको छ । बजेट आए पनि नयाँ शैक्षिक सत्र २०७६ वैशाख देखि विद्यालयमा दिवा खाजा नपाक्दा विद्यार्थीको भोकै बस्न वाध्य भएका छन ।
स्थानीय तहमा बजेट आए पनि विद्यार्थीलाई नगद पैंसा दिने कि ! विद्यालयको खातामा निकासा दिएर खाजा खुवाउने भन्ने विषयको टुङ्गो नलागेको दशरथचन्द नगरपालिकाका शिक्षा फाँट संयोजक मोहन नाथले बताए।
शिक्षा फाँट संयोजक नाथले भने, दिवा खाजाको कार्यविधि फेरिएर प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले नगद बजेट आएको छ । यो बजेट विद्यालयको खातामा निकासा दिएर खाजा खुवाउने कि नगदै दिने भन्ने कुराको केही टुङ्गो लागेको छैन ।
शिवनाथ गाउँपालिकाको खातामा खाजाको बजेट आएको छ । बजेट आए पनि के कस्तो खाजा खुवाउने ? भन्ने विषयमा प्रशिक्षण नपाउँदा विद्यालयमा खाजा पाक्न नसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउदले बताए ।
अध्यक्ष साउदले भने, तिहारपछि विश्व खाद्य कार्यक्रमले स्थानीय तहको सरकारलाई दिवा खाजा बारे प्रशिक्षण दिने भन्ने कुरा सुनिएको छ । प्रशिक्षणपछि मात्र विद्यालयमा दिवा खाजा पाक्छ ।
बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुरचौडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका गरेर बैतडीमा १० स्थानीय तह रहेका छन् ।
विद्यार्थीलाई दिवा खाजा खुवाउने विषयमा विश्व खाद्य र शिक्षा विभागले प्रशिक्षण दिएपछि मात्र कार्यक्रम सुरु हुने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले पनि बताए ।
बैतडीमा कुल ५३८ विद्यालय रहेका छन् । ती मध्ये ३१७ वटा प्राथमिक विद्यालय रहेका छन् । स्थानीय तहमा प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले खाजा खुवाउन बजेट दिए पनि शैक्षिक सत्र आधा भई सक्दा पनि खाजा नपाक्नु विडम्बना भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
ईकाई प्रमुख अवस्थीले भने, स्थानीय तहले दिवा खाजाको नयाँ कार्यविधि राम्ररी बुझ्न नसकेकोले पनि समस्या आएको छ । बैतडी र डडेल्धुरामा विश्व खाद्य कार्यक्रमले अब प्रत्यक्ष लगानी गर्दैन । दिवा खाजाका लागि बैतडीमा नेपाल सरकार आफैले बजेटको व्यवस्था गरेको छ । विश्व खाद्य कार्यक्रमले प्राविधिक सहयोग मात्र गर्ने हो ।
गत वर्षसम्म विश्व खाद्य कार्यक्रमले बैतडीका प्राथमिक विद्यालयहरुमा दिवा खाजा खुवाउँदै आईरहेको थियो । त्यति बेला समयमै दिवा खाजा पाइने गरेकोमा अहिले नेपाल सरकार आफैले बजेटको व्यवस्था गरेर स्थानीय तहमा बजेट दिए पनि शैक्षिक सत्र आधा हुँदा पनि विद्यार्थीले खाजा नपाएको विद्यालयका शिक्षक भवानी भट्टले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार