१२ श्रावण २०८१, शनिबार

एनसेलका दश टावरमा आगजनी



दीपक ओली/धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा एनसेलका दश टावरमा बुधबार राती आगजनी भएको छ ।


प्रहरीका अनुसार प्रदेशका डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा रहेका १० वटा एनसेलका टावरमा आगजनी भएको छ । कैलालीमा चार, बझाङमा तीन तथा अछाम, डोटी र डडेल्धुरामा एक/एक वटा एनसेल टावरमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका वडा नम्बर १ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ । आगजनीबाट फोन सिस्टम सञ्चालन गर्ने विभिन्न केवल, बिटिएस ¥याक, ब्याट्री ¥याक, एसइडिपी च्यानल लगायतका सामान जलेका छन् । डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले आगजनीको घटना राती १० बजेपछि भएको हुनसक्ने बताए । ‘राती दश बजेसम्म हाम्रो प्रहरी टोली त्यहीँ सुरक्षामा खटिएको थियो’ प्रहरी उपरीक्षक माझीले भने– हाम्रो प्रहरी टोली अर्को टावरको सुरक्षामा गएपछि नै त्यहाँ आगजनी गरिएको देखिन्छ ।
त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ काफलीडाँडामा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राती करिब ११ बजेतिर आगजनीको घटना भएको हो । ‘घटनास्थल हाम्रो प्रहरी टोली पुगेको छ’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले भने– आगजनी गरिएको स्थानमा पर्चा पम्लेट केही पनि भेटिएको छैन । हाम्रो अनुसन्धान जारी छ ।
प्रहरी निरीक्षक खड्काले जिल्ला सदरमुकामबाट निकै टाढा रहेको काफलीडाँडामा रहेको टावरको सुरक्षाका लागि तैनाथ एक जना चौकीदार पनि अन्यत्र गएको वेला आगजनी भएको थियो । आगजनीपछि नजिकै रहेको नेपाल टेलिकमको टावरका चौकिदारले खबर गरेपछि घटनाबारे थाहा पाएको प्रहरी निरीक्षक खड्काले बताए ।
यता, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६, जानकी गाउँपालिका वडा नम्बर २ र ४ तथा गोदावरी नगरपालिकाको वडा नम्बर ९, मालाखेतीमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) दक्षकुमार बस्नेतका अनुसार आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्टोल बक्स लगायतका समान जलेका छन् ।
यसैबीच, आगजनीको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ ।
बिहीबार विप्लव नेकपाका प्रदेशस्तरीय एक जना नेताले फोनमार्फत एनसेलका टावरहरुमा आफूहरुले आगजनी गरेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार