१७ बैशाख २०८१, सोमबार

गोदावरी खोलामा जथाभावी उत्खनन्



गोदावरी (कैलाली) । कैलालीको गोदावरी खोलाबाट जथाभावी ढंगले ढुंगा, बालुवा, गिट्टी उत्खनन् भइरहेको छ । गोदावरी खोलाको सीमित क्षेत्रबाट उत्खनन्का लागि अनुमति पाएको ठेकदार कम्पनीले जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरिरहेको पाइएको छ । गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (आईई) गरेर गोदावरी खोलाको महराटोलदेखि गोदावरी घाट (चिहान) सम्म नदीजन्य पदार्थ उत्खनन् गर्न स्वार कन्स्ट्रक्सन प्रालिलाई ठेक्का प्रदान गरेको छ । स्थानीयका अनुसार गोदावरी खोलामा वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रबाट समेत ढुंगा, बालुवा र गिट्टी उत्खनन् तथा संकलन र निकासी भइरहेको छ ।
गोदावरी खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न ठेक्का पाएको ठेकदार कम्पनीले गोदावरी नगरपालिका वडा नम्बर १, चौकीडाँडा, वनदेवी र चेतना सामुदायिक वनको बीचमा रहेको गोदावरी खोलाबाट पनि उत्खनन् र संकलन गरिरहेको स्थानीयले बताए । स्थानीयका अनुसार त्यस क्षेत्रमा दैनिक १५ देखि २० वटा ट्याक्टरले नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् ।
गोदावरी खोलामा भइरहेको बारे स्थलगत रिपोर्टिङका लागि पुग्दा त्यहाँ ढुंगा तथा बालुवा उत्खनन् तथा संकलन गर्न ट्याक्टरहरूको लामो लाइन रहेको थियो । केही ट्याक्टर चालकहरूले आफ्नो परिचय नदिएर भने– “हाम्रा मालिकले ठेक्का पाएका छन् । हामीलाई कहाँ उत्खनन् गर्ने वा कहाँ नगर्ने भन्नेबारे खासै थाह छैन । हामीलाई जहाँबाट उत्खनन् गर्न अह्राइन्छ, त्यहीबाट उत्खनन् गर्ने गरेका छौं ।”
नगरपालिकासँग गरिएको ठेक्कासम्झौतामा भीमदत्त राजमार्ग र गोदावरी पुलको उत्तर र दक्षिणतर्फ पाँच सय मिटरभित्र नदीजन्य पदार्थ संकलन गर्न नपाउने उल्लेख छ । तर, राजमार्ग र पुलको छेउबाट समेत ट्याक्टरहरूले बालुवा संकलन गरिरहेका थिए ।
यसैबीच, नगरपालिकाले गोदावरी खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएपछि त्यस क्षेत्रका स्थानीयले विरोध गरेका छन् । नदीमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् तीव्र पारिएपछि उनीहरू आक्रोसित भएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर २ का खेमराज जोशीले भने– “विगतमा गोदावरी खोलामा आएको बाढीका कारण निकै नोक्सानी बेहार्नु परेको थियो । नगरपालिकाबाटै बाढी नियन्त्रणका लागि तटबन्ध गरिएको स्थानमा नै अहिले ढुंगा, बालुवा, गिट्टी उत्खनन् तीब्र बनाइएको छ ।” स्थानीयले जथाभावी रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी गर्दा आगामी दिनमा बाढीको प्रकोप बढ्ने चिन्ता व्यक्त गरेका छन् ।
जोशीले पहिले वातावरणीय प्रभाव मूल्यांकन (आईई) नभएको बेला कहिलेकाही स्थानीयले गाउँमा बाटो बनाउन गोदावरी खोलामा ट्याक्टरबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेको बताए । “तर, यसरी स्काभेटर नै प्रयोग गरेर गोदावरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने काम कहिल्यै पनि भएन” उनले नगरपालिका प्रमुखले बलमिच्याई गरेर गोदावरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन्को अनुमति दिएको आरोप लगाए ।
स्थानीय हरि भट्टराइले ठेकेदारले गोदावरी खोलामा जहातही ठूल्ठूला खाडल बनाइरहेको आरोप लगाए । उनले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेर गोदावरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन र निकासी भइरहेको दावी गरे ।
तेघरी, गोदावरी सामुदायिक वन र राष्ट्रिय वनमा पर्ने गोदावरी नदीमा सीमित स्थानमा मात्र उत्खनन्का लागि तोकिएका छन् । सुदूरपश्चिम प्रदेश सभाले यही वन क्षेत्रमा प्रदेशको राजधानी तोकेको छ ।
गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटका अनुसार नगरपालिकाले गोदावरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका लागि स्वाँर कन्स्ट्रक्सन प्रालिसँग एक करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
ठेकदार कम्पनीले गोदावरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन्मा प्रति घनमिटर ८५ रुपैयाँ लिने गरेको छ । नगरपालिकाका सूचना अधिकारी भाटले ‘ठेकदार कम्पनीले सम्झौता विपरित कुनै काम कारवाही गरेमा कारवाही गरिने बताए ।
स्वाँर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि भीमबहादुर साउँदले आफूहरूले नगरपालिकासँग भएको सम्झौता विपरित गोदावरी खोलामा नदीजन्य पदार्थ उत्खनन् नगरेको बताए ।
उनले भने– “हामीले ट्याक्टर तथा टिप्परलाई आईई भएका बाहेक क्षेत्रभन्दा बाहिरबाट ढुंगा, बालुवा, गिट्टी संकलन नगर्न भनेका छौं ।” उनले सामुदायिक वनले एक ट्याक्टरबाट एक सय रुपैयाँ शुल्क नदीबाट बालुवा संकलन गर्न लगाउने गरेको बताए । उनले फाटफुट रूपमा आफ्ना कुनै ट्याक्टरले अनुमति नभएको स्थानबाट समेत ढुंगा, बालुवा उत्खनन् गरेको भएमा नियन्त्रण गर्ने बताए ।
त्यस्तै, गोदावरी नगरपालिकाले खुटिया र खैराना नदीमा पनि नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का सम्झौता गरेको छ ।
नगरपालिकाले दाहाल मल्टी ट्रेड प्रालिसँग खुटिया नदीमा आठ करोड ७९ लाख र खैराना नदीमा एक करोड ९१ लाख रुपैयाँमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीका लागि आगामी जेठ महिनासम्मका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ ।
गोदावरी खोलामा उत्खनन् नियन्त्रण गर्न स्थानीय सक्रिय
धनगढी । कैलालीको गोदावरी खोलामा भइरहेको जथाभावी नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण गर्न स्थानीय सक्रिय भएका छन् ।
चेतना र वनदेवी महिला सामुदायिक वनको बीचमा भएर बग्ने गोदावरी खोलामा उत्खनन् गरेको पाइएमा पाँच हजार जरिवाना लिने स्थानीयले निर्णय गरेका छन् ।
गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (आईई) गरेर गोदावरी खोलाको महराटोलदेखि गोदावरी घाट (चिहान) सम्म नदीजन्य पदार्थ उत्खनन् गर्न स्वार कन्स्ट्रक्सन प्रालिलाई ठेक्का प्रदान गरेको छ । स्थानीयका अनुसार गोदावरी खोलामा वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रबाट समेत ढुंगा, बालुवा र गिट्टी उत्खनन् तथा संकलन र निकासी भइरहेको छ ।
स्थानीय सरकारले जथाभावी उत्खनन् नियन्त्रणमा ध्यान नदिएपछि स्थानीयले सो निर्णय गरेको जनाइएको छ । बैठकमा स्वार कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि भीमबहादुर साउँद, सामुदायिक वनका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो ।
गोदावरी खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न ठेक्का पाएको ठेकदार कम्पनीले गोदावरी नगरपालिका वडा नम्बर १, चौकीडाँडा, वनदेवी र चेतना सामुदायिक वनको बीचमा रहेको गोदावरी खोलाबाट पनि उत्खनन् र संकलन गरिरहेको स्थानीयले बताए । स्थानीयका अनुसार त्यस क्षेत्रमा दैनिक १५ देखि २० वटा ट्याक्टरले नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार