१४ कार्तिक २०८१, बुधबार

मजदूर संगठनहरूद्वारा वन अतिक्रमण अनुसन्धानको माग



धनगढी । विभिन्न मजदूर संगठनहरूले कैलालीको गोदावरी नगरपालिकाभित्रका मजदूरहरूले सामुदायिक वन अतिक्रमणको अनुसन्धान गर्न माग गरेका छन् ।
मजदूर संगठनहरूले दुर्गालक्ष्मी महिला सामुदायिक वनमा अतिक्रमण भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । अत्तरिया बसपार्कमा रहेका सम्पूर्ण फलफूल मजदूर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल पसल तथा बिक्री मजदूर संघ, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन लगायतले सो सामुदायिक वन अतिक्रमणको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निवेदन समेत दिएका छन् ।
मजदूर संगठनहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गोदावरी नगरपालिका तथा दुर्गालक्ष्मी सामुदायिक वनको कार्यालयमा समेत सो सामुदायिक वनमा भएको अतिक्रमणबारे अनुसन्धान गर्न निवेदन दिएका छन् ।
मजदूर संगठनहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहितका निकायमा दिएको निवेदनमा उल्लेख छ– दुर्गालक्ष्मी महिला सामुदायिक वनको पूर्वमा आवादी तथा बासकोटा नदी, पश्चिममा मैदा मिल र राजमार्ग, उत्तरमा एकता महिला सामुदायिक वन तथा दक्षिणमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय र पूर्वपश्चिम राजमार्गसम्म फैलिएको वन क्षेत्रभित्र साना किसान सहकारी संस्थाको भवन, बसपार्क, सुदूरपश्चिम समावेशी विद्यालय भवन, राधाकृष्ण मन्दिर, बृद्धाश्रम, सामुदायिक भवन, उद्योग वाणिज्य संघ अत्तरिया, दलित समाज, रक्तदान केन्द्र लगायतका भवन बनेका छन् ।
निवेदनमा वनको कुल क्षेत्रफल एक सय ७४ दशमलव ४० हेक्टर क्षेत्रफल रहेको र कुन संस्थाले के कति जमिन अतिक्रमण गरेको छ भन्ने यकिन खुलाउन आग्रह गरिएको छ । सम्बन्धित निकायले यस बारे कदम नचलाए जनताले आफै आवाज उठाउने पनि चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार