वडाध्यक्षको किर्ते हस्ताक्षर गरी नक्कली प्रस्ताव
सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनबहादुर बमको किर्ते हस्ताक्षर गरी नगरपालिकामा नक्कली प्रस्ताव पेस भएको भेटिएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ७ हरिनगरस्थित एसएस मल्टी एग्रो फर्मका अध्यक्ष वीरेन्द्र चौधरीले वडाध्यक्ष बमको किर्ते हस्ताक्षर गरी आफ्नो संस्थालाई चार वटा बोरिङ उपलब्ध गराउने सिफारिस गरिएको वडा कार्यालयको नक्कलीपत्र नगरपालिका कार्यालयमा पेस भएको खुलेको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले सो प्रस्ताव पास गरी स्वीकृतिका लागि कृषि शाखामा पठाउने क्रममा किर्ते हस्ताक्षरको रहस्य खुलेको थियो ।
कृषि शाखा प्रमुख रामकेश यादवले ‘एउटै संस्थालाई चार वटा बोरिङका लागि किन सिफारिस दिएको भनेर वडाध्यक्ष बमलाई सोध्दा उनले आफूले सो सिफारिस नगरेको बताएपछि किर्ते हस्ताक्षर रहेको पुष्ठि भएको’ बताए ।
वडाध्यक्ष बमले कम्प्युटरबाट आफ्नो हस्ताक्षर किर्ते गरिएको हुन सक्ने बताउँदै किर्ते हस्ताक्षर गर्ने वीरेन्द्रमाथि कानूनी कारवाही गरिने बताए ।