३ माघ २०८१, बिहीबार

निर्मला हत्याको परिणाम नजिक पुगेका छौं : मन्त्री थापा



धनगढी । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री ठममाया थापाले निर्मला पन्तको बलात्कारपछि हत्याप्रति सरकार सम्वेदनशील रहेको बताएकी छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा मंगलबार धनगढीमा शुरु भएको प्रदेशस्तरीय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्बन्धी कार्यशाला गोष्ठी उद्घाटन गर्दै मन्त्री थापाले निर्मलाको हत्यारालाई पक्राउ गर्न सरकारले अनुसन्धान गहन बनाएको बताएकी हुन् । उनले दशीप्रमाण नष्ट गराउने खेल भएपछि सरकारले विभिन्न समितिहरु बनाएर बाँकी प्रमाणहरुलाई सुरक्षित बनाएको बताइन् ।
उनले सम्पूर्ण प्रमाणहरु जम्मा गरी घटनाको परिणामको नजीक नजीक पुगिसकेको बताइन् । ‘कुनै पनि हालतमा निर्मला पन्तका हत्याराहरु छुट्न पाउने छैनन्,’ मन्त्री थापाले भनिन्, ‘निर्मलाका हत्यारालाई कारबाही गर्नका लागि सरकार कतिबद्ध छ । संघीय सरकार घटनाको अनुसन्धानमा लागिरहेको छ ।’


निर्मलाले जस्तै अरुले पनि यस्तो नियति भोग्न नपरोस् र निर्मलाका अभिभावकहरुले दुःख भोग्न नपरोस् भनेर नै सरकारले देशका सात वटै प्रदेशमा लैंगिक हिंसा सम्बन्धी कार्यक्रम आयोजना रहेको मन्त्री थापाले बताइन् । उनले गोष्ठीमा वडा वडामा हिंसा निर्मुल गर्नका लागि योजना बनाइने बताइन् ।
विगतमा जिल्ला जिल्ला महिला तथा बालबालिका कार्यालयले महिला हिंसा अन्त्यका लागि महिलाहरुको आयआर्जन बढाउने, जनचेतना फैलाउने लगायतको काम गर्ने गरेको भएपनि संरचना परिवर्तन भएर स्थानीय तहले त्यो जिम्मेवारी पाएको र स्थानीय तहको नीति, कानुनहरु नबनिसकेकाले समस्या सृजना भएको मन्त्री थापाले बताइन् । उनले विगतका महिला तथा बालबालिका कार्यालयहरुले गर्ने काम स्थानीय तहले त्यो भन्दा बढि प्रबावकारी तरिकाले गर्नुपर्ने बताइन् ।
स्थानीय तह, वडा र टोल टोलमा महिला हिंसा विरुद्ध संयन्त्र बनाएर हिंसा, कुरीति र कुसंस्कारहरुको अन्त्य गर्नका लागि प्रभावकारी रुपमा काम गर्न सकिने मन्त्री थापाले बताइन् । घटनाहरुको बारेमा स्थानीयलाई राखेर छलफल गराउने, कुरा बुझाउने काम व्यवस्थित हुन नसकेको उनले बताइन् । उनले संयन्त्र भएमा स्थानीय स्तरमा हुने समस्या सामाधान सहि योजना बनाएर काम गर्न सक्ने बताइन् ।

उनले जनताहरुले विकाससंगै कुरीति, कुसंस्कार, कुप्रथा र हिंसा रहित शान्त र समृद्ध सामाज चाहेको हुनाले सरकारले त्यही अनुसार काम गरिरहेको बताइन् । उनले आर्थिक विकास गर्नु प्रमुख दायित्व भएपनि सामाजिक विकास र रुपान्तरण गर्नुपर्ने त्यत्ति नै दायित्व भएकोले सरकारले यि कामहरुलाई संगसंगै अगाडि बढाइरहेको बताइन् । समाजबाट हिंसा, विदेभ अन्त्य गरी समतामुलक समाज निर्माण गर्न मन्त्रालयले काम गरिरहेको उनले बताइन् ।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति सभापति सांसद् निरुदेवी पालले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान वडा वडामा वर्षैभरि सञ्चालन गर्नुपर्ने बताइन् । उनले सुदूरपश्चिम रहेको छाउपडी, देवकी, झुमा प्रथा सुदूरपश्चिममा रहेको र यसलाई समेत अन्त्य गर्नुपर्ने बताइन् । उनले जाँडरक्सीका मातका कारण महिलामाथि हिंसा भइरहेको बताइन् । उनले सबै ठाउँबाट जाँडरक्सी अन्त्य भएपछि मात्र महिला हिंसा अन्त्य हुने बताइन् । उनले स्थानीय जनप्रतिनिधिहरुले हिंसा नपचाए जनताहरुले पनि हिंसाका घटना नपचाउने र समाजबाट हिंसा अन्त्य भएर जाने बताइन् ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले मानीय, न्यायाधिस, सचिवको घरमा हिंसा भएको समाचार सुनिने गरेको बताए । उनले हिंसा अन्त्य गर्ने जिम्मेवारी पाएका व्यक्तिहरुले नै हिंसा गरिरहेको बताए । उनले सामन्ती सोच भएका ठाउँमा हिंसा भइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले छोरी र बुहारी समान हुन भन्ने भावना पैदा भएमा हिंसा अन्त्य हुने बताए । उनले हिंसा अन्त्य अभियान सबैले आफ्नै घरबाट थाल्नुपर्ने बताए । उनले भाषणमा हिंसाको अन्त्यको कुरा गर्ने र घरमा बालबालिकालाई काम लगाउने र श्रीमतीलाई कुट्ने गर्नाले हिंसा अन्त्य नहुने बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कुष्णराज सुवेदीले सुदूरपश्चिममा रहेका विभिन्न कुरीति कुप्रथाहरुलाई अन्त्य गर्न आवश्यक रहेको बताए । उनले महिलामाथि हुने हिंसा अन्त्य गर्नका लागि महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउनु पर्ने र त्यसका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरी सीपमुलक तालीम दिनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गोष्ठीमा सुदूरपश्चिमका प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद्हरु, ८८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता छ । बुधबार सम्पन्न हुने गोष्ठीमा लैंगिक हिंसा अन्त्य गर्नका लागि कार्ययोजना बनाउनका लागि छलफल हुने छ । स्थानीय, प्रदेश र राष्ट्रियस्तरका कार्ययोजना तथा नीति बनाउनका लागि गोष्ठीबाट आएका निष्कर्षलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रतिनिधि सभालाई सुझावको रुपमा पठाइने छ ।
गोष्ठीको पहिलो दिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी मिठू थापाले लैंगिक हिंसा निवारणका लागि वर्तमान प्रावधान, चूनौति र समाधानका उपायको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । अधिकारकर्मी शर्मिला कार्कीले लैंगिक हिंसाको वर्तमान अवस्था, कारण तथा समाधानका उपायहरुबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमा प्रस्तुती पनि सहभागीहरुले जिज्ञासा र सुझाव राखेका थिए । सहभागीको प्रश्नको जवाफ मन्त्री थापाले दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार