विभिन्न कार्यक्रमसहित मानव अधिकार दिवस मनाइयो
धनगढी । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस कैलालीसहित देशभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘सबैका लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नारासहित धनगढीमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयको आयोजनामा प्रभातफेरी भएको थियो ।
धनगढीको ट्राफिक चौराहदेखि शुरु भएको प्रभातफेरी पार्कमोडमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा मानवअधिकार क्षेत्रमा कार्यरत संघसंस्थाका सदस्य, सुरक्षाकर्मी, अधिकारकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सेती अञ्चल अस्पताल परिसरमा सरसफाई गरिएको थियो । सो अवसरमा अस्पताल परिसर तथा विभिन्न वार्डहरूमा सरसफाई गरियो ।
सरसफाई कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, सुरक्षा अधिकारीहरू, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।




