१५ पुष २०८२, मंगलवार

वैदेशिक रोजगारीमा गएका युवकको मृत्युपछि परिवारको विचल्ली



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडाका ज्ञानेन्द्रबहादुर सिंहको कामको सिलसिलामा मलेसियामा मृत्युपछि उनको परिवारको विचल्ली भएको छ ।
२०७३ असार २० गते मलेसियाको सेकोटेक आर्किटेक्चर कम्पोनेन्टमा जनरल वर्करको रूपमा काम गर्न गएका ज्ञानेन्द्रको कात्तिक २० गते मृत्यु भएको थियो । उनको शव मंसिर १९ गते मलेसियाबाट घरमा ल्याइएको थियो ।
३५ वर्षीय मृतक ज्ञानेन्द्रका श्रीमती १० र पाँच वर्षका दुई छोरा छन् । भने एक भाइ र एक दाइ छन् । ज्ञानेन्द्रले आफू बस्ने होस्टेलमा झुण्डिएर आत्महत्या गरेको मलेसिया सरकारले रिपोर्ट पठाएको छ । उनका परिवारजनले भने उनको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
ज्ञानेन्द्रका दाइ जगेन्द्र सिंहले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रसँग वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट पाइने आर्थिक सहायता तथा बिमा रकम पाउनका लागि सहयोग गरिदिन आग्रह गरे । कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूले आइतबार मृतक ज्ञानेन्द्रका पारिवारजनलाई भेटेका थिए ।
केन्द्रका अध्यक्ष नारायणबहादुर विकले मृतक ज्ञानेन्द्रहका परिवारले वैदेशिक रोजगारमा जाँदाको कागजात र मृत्यु भएको रिपोर्ट सुरक्षित रहेको हुनाले बोर्डको सहायता रकम र बिमा रकम पाउने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार