रजिस्ट्रार निलम्बनप्रति कैलाली प्रजातन्त्रवादी प्राध्यापक संघको आपत्ती
धनगढी । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डाक्टर महेन्द्र मल्ललाई बिना कारण निलम्बन गरिएको प्रति प्रजातन्त्रवादी प्राध्यापक संघ कैलालीले आपत्ती जनाएको छ ।
संघका कैलाली जिल्ला अध्यक्ष मीन कुँवर र सचिव दामोदर काडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।तथ्यहिन, कपोकल्पित तथा निराधार आरोप लगाइ पूर्वाग्रही ढंगले ऐन, नियम विपरित विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीद्वारा निलम्बन गरिएको विज्ञप्तिमा भनिएको छ । षड्यन्त्रमूलक ढंगबाट रजिस्ट्रार मल्ललाई सरकारले निलम्बन गर्नु ऐन, नियम विपरित गैर कानूनी हस्तक्षेप भएको प्रजातन्त्रवादी प्राध्यापक संघ कैलालीको ठहर छ । घटनालाई तुरुन्तै सच्चाउन नेपाल सरकारलाई सचेत गराउँदछौं विज्ञप्तिमा उल्लेख छ ।
शान्ति, सुशासन, भ्रष्टाचारमुक्त समाज, विकास र समृद्धि तथा संस्थागत स्वायत्तता एवं प्राज्ञिक मूल्य मान्यता जस्ता न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै शैक्षिक क्षेत्रमाथि भएको ठाडो हस्तक्षेप गरेको संघको आरोप छ ।
असोज ७ गतेदेखि चर्किएको विश्वविद्यालय रजिस्ट्रारको विवाद झनै चुलिदै जान थालेको छ । गैरकानूनी नियुक्ति खारेजीको माग गर्दै त्यसको भोलिपल्ट असोज ८ गते विश्वविद्यालयको स्ववियु, विभिन्न विद्यार्थी संगठन र प्राध्यापकले थालेको आन्दोलन चर्किदै जान थालेको हो । हाल पनि ताला खुलेको छैन ।
सरकारले रजिष्ट्रार मल्ललाई निलम्बन गर्दै उनको ठाउँमा शिक्षा संकायका डिन यामबहादुर कार्की नियुक्त गरिसकेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयले रजिष्ट्रार मल्ललाई बर्खास्त गरेर कार्कीलाई नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय स्वास्थ्य विभागमा सहप्राध्यापकका रूपमा कार्यरत कार्की यसअघि काजमा विश्वविद्यालयको शिक्षा शास्त्र संकायको डिन रहेका थिए ।