कैलाली बारमा लोकतान्त्रिक समूह विजयी
धनगढी । कैलाली जिल्ला अदालत बार इकाईमा लोकतान्त्रिक समूह निर्वाचित भएको छ । शनिबार भएको निर्वाचनमा अध्यक्षसहित लोकतान्त्रिक लयर्स एसोसिएसन (डिएलए) को प्यानल (एक जना सदस्यबाहेक) विजयी भएको निर्वाचन अधिकृत जुहारीलाल चौधरीले जानकारी दिए ।
निर्वाचनमा डिएलएका तर्फबाट नेतृत्व गरेका शिवबहादुर केसी अध्यक्षमा निर्वाचित भए । अध्यक्ष केसीले ४३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी गम्भीरसिंह ऐरले ३६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपाध्यक्षमा डिएलएकै भरतबहादुर सिंह ४१ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी सिद्धराज ओझाले ३९ मत प्राप्त गरेका थिए ।
त्यस्तै, सचिवमा सुवासचन्द्र उपाध्याय ५२ मतका साथ निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी रमेशलाल बिष्ट क्षेत्रीले २७ मत प्राप्त गरेका थिए । सहसचिवमा डिएलएकै रेणु प्रधान श्रेष्ठ निर्विरोध निर्वाचित भइन् ।
त्यस्तै, कोषाध्यक्षमा लोकबहादुर चौधरी ५० मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी उद्धवबहादुर क्षेत्रीले ३० मत प्राप्त गरेका थिए ।
त्यस्तै, सदस्यमा लोकतान्त्रिक समूहका किशोरकुमार चौधरी ६५, नाथुराम महतो ५९, पारस बस्नेत ५९, मीनबहादुर बोगटी ५२, शिवचरण चौधरी ५०, नैनबहादुर बडायक ४८ र ओमप्रकाश जोशीले ४७ प्राप्त गरी विजयी भए । सदस्यमा प्रगतिशील समूहका डाक्टर जानकीकुमारी तुलाधर ४४ सहित विजयी भइन् ।
यसअघि केन्द्रीय पार्षदमा ईन्द्रप्रसाद लेखक, देवराज भट्ट, तुलाराम गिरी र कृष्णप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका थिए ।