नगरप्रमुख वडलाई पितृशोक
धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख तथा नेपाली काँग्रेसका धनगढी नगर सभापति नृपबहादुर वडलाई पितृशोक परेको छ । नगर प्रमुख वडका ८५ वर्षीय बुवा करनसिंह वडको बुधबार बिहान ११ बजेतिर आफ्नै निवास धनगढी, जाईमा स्वर्गारोहण भएको थियो । उनी लामोसमयदेखि मृगौला तथा मधुमेह रोगबाट ग्रसित थिए ।
अछाम जिल्लाको साविक घुरकोट गाविसको वडा नम्बर ६ जीतवाडमा जन्मिएका स्वर्गीय करनसिंह लामो समयदेखि धनगढी, जाईमा बसोबास गर्दै आएका थिए । उनका तीन छोरा र दुई छोरी छन् ।
स्वर्गीय करनसिंहको बुधबार नै मोहना नदी घाटमा अन्तिम दाहसंस्कार गरियो । उनको पार्थिव शरीरमा उनका जेष्ठ सुपुत्र (नगर प्रमुख नृपबहादुर वड) सहित तीनै जना छोराले दागवत्ती दिए ।
यसअघि स्वर्गीय करनसिंहको उनको निवासदेखि मोहना घाटसम्म शवयात्रा निकालिएको थियो ।
परम्परागत बाजागासहित निकालिएको शवयात्रामा ठूलो संख्यामा विभिन्न दलका राजनीतिकर्मी, जनप्रतिनिधि, सरकारी कर्मचारी, व्यापारी, बृद्धिजीवी, शिक्षक, प्राध्यापक, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।