७ पुष २०८१, आईतवार

सवारी दुर्घटना न्यूनीकरण सन्दर्भ : सरोकारवालाहरू एकअर्कामाथि आरोपप्रत्यारोप मै मग्न



धनगढी । सवारी दुर्घटनामा निरन्तर बृद्धि भइरहे पनि सम्बन्धित पक्षहरू भने एकअर्कामाथि आरोपप्रत्यारोप लगाउन मै मग्न हुने गरेका छन् ।
यातायात मजदुरहरूले सवारी दुर्घटना हुनुमा सडकको अवस्था, सवारी चाप र तेस्रो पक्ष बढी जिम्मेवार रहेको दावी गर्ने गरेका छन् भने ट्राफिक प्रहरीले प्राय: चालकको लापरवाही र तीब्र गति नै दुर्घटनाको प्रमुख कारण रहेको दावी गर्ने गर्दछन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सुुदूरपश्चिम यातायात बस व्यवसायी संघ, सुदूरपश्चिम मजदुर भलाई कोष र नेपाल यातायात मजदुर संघले शनिबार धनगढीमा संयुक्त रूपमा आयोजना गरेको ‘दुर्घटना न्यूनीकरणमा सरोकारवालाहरूको भूमिका’ विषय प्रशिक्षण कार्यक्रममा दुई पक्षबीच जुहारी चल्यो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार रजौरेले सुदूरपश्चिम प्रदेशमा ७६ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक प्रस्तुत गरे ।
उनका अनुसार नेपालमा हुने सवारी दुर्घटनामध्ये ७४ प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेका छन् भने तीब्र गतिका कारण १६ प्रतिशत दुर्घटनामा हुने गरेका छन् ।
पछिल्ला पाँच वर्षमा नेपालमा सवारी दुर्घटनामा १० हजार पाँच सय जना भन्दा बढिको ज्यान गएको प्रहरी उपरीक्षक रजौरेले बताए । उनले पछिल्लो १० वर्षको अवधिमा १९ हजार भन्दा बढि नेपालीको सवारी दुर्घटनाका कारण मृत्यु भएको बताए । उनले भने– “१० वर्षे माओवादी जनयुद्ध भन्दा बढि खतरनाक सवारी दुर्घटना भएको छ ।”
उनले नगन्य मात्रामा सडकको अवस्था र तेस्रो पक्षका कारण सवारी दुर्घटना हुने गरेको बताए । उनले सवारी चालकहरू मात्रै सचेत भएमा सवारी दुर्घटनामा उल्लेख्य कमी आउने दाबी गरे ।
तर, यातायात मजदुर संगठन भने ट्राफिक प्रहरीको दावी स्वीकार गर्ने पक्षमा छैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राईले भने– “सवारी दुर्घटनाका प्रमुख कारणमा सवारी साधनको बढी चाप र बिग्रेका सडक हुन् ।”
उनले नेपालमा हाल ३२ लाख २१ हजार बढी सवारी साधन गुडिरहेको र सडकको लम्बाई जम्मा १९ हजार किलोमिटर रहेको बताए । उनले गत वर्ष मात्रै चार लाख बढी सवारी साधन नेपालमा भित्रिएको र एक वर्षमा जम्मा तीन सय ४६ किलोमिटर मात्र सडक कालोपत्रे भएको बताए । अध्यक्ष राईले एक वर्षमा नौ हजार पाच सय किलोमिटर सडक मात्रै मर्मत भएको बताए ।
सवारी चालकको लापरवाहीका कारण पनि केही सवारी दुर्घटना हुने गरेको स्वीकार्दै अध्यक्ष राईले संगठनले यातायात मजदुर शुद्धिकरण योजना लागू गरेको बताए ।
उनले चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्ने आरोप बढि आएकाले चालकहरूले मदिरा सेवन गरी सवारी नचलाउने पहिलो प्रतिबद्धता गराइरहेको बताए । गाडी चलाउदा फोन नचलाउने, महिला, जेष्ठ नागरिक र अपांगलाई सम्मान गर्ने, फोहर शब्द नबोल्ने, सभ्य भएर यात्रु माझ प्रस्तुत हुने, ट्राफिक नियम पालना गर्ने, सवारी तिब्रगतिमा नकुदाउने लगायतको प्रतिबद्धता गराइरहेको अध्यक्ष राईले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले यायातात दुर्घटना हुनुमा चालकहरू मात्रै दोषी नभएर सवारी धनि पनि जिम्मेवार रहेको बताए । उनले सवारी धनिले चालकसँग राम्रो व्यवहार नगर्ने र सवारी साधनलाई मर्मन नगर्ने, अनुभवि चालक नराख्ने गर्नाले यातायात हुने गरेको बताए ।
मालिका यातायात व्यवसायी संघका अध्यक्ष अनन्तराज जोशीले चालक, तेस्रो पक्ष, प्राविधिक कारण दुर्घटना हुने गरेको बताए । उनले चालक र तेस्रो पक्ष सजग भएमा दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । सडक र सवारीको यथेष्ट मर्मत गर्नुका साथै यात्रुहरूले सडकमा चनाखो भएर हिंडेमा दुर्घटना हुने सम्भावना कम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार