१३ कार्तिक २०८१, मंगलवार

गैससमा पुन: विक निर्वाचित



धनगढी । जिल्ला गैरसहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धनगढी कैलालीको अध्यक्षमा पुन: हेमकर्ण विक निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको १५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट विक निर्विरोध निर्वाचित भएका हुन् । महासंघको उपाध्यषमा सावित्रा घिमिरे, सचिवमा चेतमान साउँद, सहसचिवमा कर्ण रावल र कोषाध्यक्षमा पवन भण्डारी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा गोपाल विक, रामबहादुर सुनार, शान्ता चौधरी, सत्या स्नेही, देवबहादुर विक र रामचन्द्र जोशी चयन भएका छन् ।
यसअघि साधारणसभाको एक कार्यक्रमका बीच सुदूरपश्चिम सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सुवेदीले राष्ट्रको विकास र समृद्धिका लागि सरकारले गैरसरकारी संस्थासँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । उनले संघ, प्रदेश, स्थानीयको समृद्ध, विकास गर्न गैरसरकारी संस्थाले महत्त्वपूर्ण योगदान गरिरहेको बताए । “हामी सँगै बस्ने, सँगै काम गर्ने तथा सँगै अगाडि बढ्न छलफल, सुझाब, सल्लाह गर्नुपर्छ” उनले भने ।

हेमकर्ण विक

कार्यक्रममा जिल्ला समन्वय समिति कैलाली कार्यालय प्रमुख सूर्यबहादुर थापाले गैरसरकारी संस्थाहरूले जिम्मेवारी र कर्तव्य बाँडफाँड गरी अगाडि बढे सफल हुने बताए । उनले गैससलाई परिवर्तनका वाहकका रूपमा लिनुपर्ने बताए । “सकारात्मक परिवर्तनका लागि हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ” उनले भने, “त्यसका लागि कुनै अलमलमा नपरी स्पष्ट रूपमा उद्देश्य निर्माण गर्नुपर्छ ।”
त्यस्तै, कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सदस्य रमेश वस्नेतले स्वयम्सेवा भावनाले काम गर्ने गैरसहकारी संस्थालाई राज्यको नियन्त्रण होइन राज्यबाट नियमनको खाँचो आश्यक रहेको बताए ।
त्यस्तै, कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम पूर्व केन्द्रीय सदस्य धर्मराज पाठकले गैरसरकारी संस्था बलियो नभएसम्म राष्ट्र बलियो नहुने बताए । उनले त्यसका लागि गैससलाई व्यस्थित गरी अनुगमन र नियमन गर्नुपर्ने बताए । कार्यक्रममा कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भवराज रेग्मीले गैससलाई सरकारसँग समन्वय गरी राष्ट्रको विकास र समृद्धिमा सहयोग गर्ने संगठनका रूपमा लिनुपर्ने बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवबहादुर कुँवर, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशी, राष्ट्रिय मानव अधिकार आयोगका झंकर रावल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि वीरबहादुर साउँद, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष जगत साउँदलगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कर्णबहादुर रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार