शिक्षक महासंघको आन्दोलनमा प्रदेश मन्त्रीको ऐक्यवद्धता
धनगढी । विभिन्न २६ सुत्रीय मागसहित नेपाल शिक्षक महासंघले गरिरहेको आन्दोलनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम प्रदेशले शुक्रबार सामाजिक विकास मन्त्रालय परिसरमा आयोजना गरेको विरोध सभामा सामाजिक विकास मन्त्री सुवेदीले आन्दोलनमा आफनो पनि ऐक्यबद्धता रहेको बताए ।
विरोध सभाका सहभागी शिक्षकहरूलाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री सुवेदीले आफूले शिक्षक महासंघका माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मन्त्री सुवेदीलाई मागपत्र बुझाउँदै नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष ईन्द्रराज भट्टराईले आफना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने लगयातका माग राखेको छ ।
यसअघि धनगढीको ट्राफिक चौराहदेखि सामाजिक विकास मन्त्रालयसम्म विरोध र्याली निकालिएको थियो ।




