गगनको प्रधानमन्त्रीलाई अनुरोध– मौन बस्नुस्, देशको भलो हुन्छ
धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुक, प्रणाली तथा जनताको हितका लागि केही महिना मौन रहन अनुरोध गरेका छन् ।
“बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्रीज्यूलाई कम बोल्न सल्लाह दिइरहेका छन्” नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसका प्रभावशाली नेता थापाले भने– “प्रधानमन्त्रीज्यूलाई मेरो अनुरोध छ, तपाई कृपया केही समय मौन रहनुहोस् । तपाईं मौन बस्नु भयो भने स्वयं तपाईंको सरकार, हाम्रो राजनीतिक प्रणाली, राष्ट्र र जनताको भलो हुने छ ।”
नेता थापाले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिबाट उनमा छटपटाहट बढेको विश्लेषण गरे । भने– “प्रधानमन्त्री, उहाँको सरकार तथा पार्टी र नेताहरू एवं मन्त्रीहरू बारम्बार यति दिन, महिनामा यस्तो काम गर्छौ भनेर बारम्बार भट्याउनु हुन्छ, तर कसरी गर्ने कुनै मेसो नै भेट्टाउनु भएको देखिन्न ।”
उनले वर्तमान ‘दुई तिहाईको सरकार’ को एकपछि अर्को गलत कार्यका कारण युवाको ठूलो पंक्ति विचलित, निराश र हतास भइरहेको दाबी गरे । भने– “लाखौंको संख्यामा रहेको युवा मतदाता (चलायमान मतदाता) का कारण नेकपाले पछिल्लो चुनावमा दुई तिहाई मत प्राप्त गर्यो, तर बिडम्बना नेकपाको वर्तमान सरकारले ती मतदातालाई परिवर्तनको कुनै आभास दिन सकेन, न त कुनै आशा र विश्वास नै दिन सकेको छ ।” उनले युवा पंक्तिमा फैलिदै गएको निराशा र हतासाले सरकारलाई मात्रै नभएर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणालीमाथि नै अनास्था बृद्धि हुने विश्लेषण गरे ।
पत्रकारहरूको एक जिज्ञासामा केन्द्रीय सदस्य थापाले आफ्नो पार्टी नेपाली काँग्रेसले पनि संघीय व्यवस्थापिकादेखि प्रदेश संसदमा समेत सशक्त प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको चर्चा गरे । “केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार मात्रै अप्रभावकारी भएको होइन्, प्रमुख प्रतिपक्षी (काँग्रेस) बाट पनि प्रभावकारी भूमिका निर्वाह हुन सकेको छैन” उनले काँग्रेसको मुख्य नेतृत्वका कारण समग्र पार्टीपंक्ति नै गतिहिन बन्न पुगेको व्याख्या गरे ।
उनले आफ्नो पार्टीको आसन्न महासमिति बैठकसँगै पार्टीभित्र व्याप्त विकृति तथा अर्कमण्यता कम हुँदै जाने बताए । “महासमिति लगत्तै महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ भन्ने मेरो दृढ धारणा हो” नेता थापाले संघीय प्रणाली अनुरूप पार्टीको वडा, गाउँ तथा नगर र जिल्ला तथा प्रदेश संरचना निर्माणमा कुनै पनि बहानामा ढिलाई गर्न नहुने बताए ।
कार्यक्रम युनियनका जिल्ला अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष भावना जोशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।




