१२ बैशाख २०८२, शुक्रबार

गापा महासंघद्वारा आर्थिक सहयोग बुझाउन उर्दी



धनगढी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, समन्वय समिति सुदूरपश्चिमले प्रत्येक गाउँपालिकालाई आर्थिक सहयोग बुझाउन उर्दी जारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेका गाउँपालिकालाई प्रति गाउँपालिका ३० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्न परिपत्र जारी गरिएको छ । मंसिर ११ र १२ गते डोटीको बुडरमा आयोजना हुने महासंघको सुदूरपश्चिम स्तरीय अधिवेशनको लागि प्रत्येक गाउँपालिकालाई ३० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न परिपत्र जारी गरिएको हो ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, समन्वय समिति सुदूरपश्चिम प्रदेश समितिका प्रदेश संयोजक तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको हस्ताक्षर रहेको पत्रमा १० हजार रुपैयाँ अधिवेशन सहयोग शुल्क र २० हजार रुपैयाँ वार्षिक सदस्यता शुल्क गरी ३० हजार रुपैयाँ बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
परिपत्रमा आर्थिक सहयोग शुल्क नदिने गाउँपालिकालाई अधिवेशनमा प्रतिनिधित्व नगराइने उल्लेख छ । अधिवेशनमा प्रत्येक गाउँपालिकाबाट तीन जना जनप्रतिनिधि उपस्थिति रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा ५४ वटा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार