उद्योग वाणिज्य संघको सदस्यतासम्बन्धी विवाद : समितिद्वारा छानबिन शुरु
धनगढी । कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद समाधानका लागि छानविनको काम सुरु भएको छ ।
संघको साधारण सभा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि गठन भएको छानविन समितिले तोकिएका आवश्यक कागजात पेस गर्न बुधबार सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत विकास लम्सालको संयोजकत्वमा रहेको सदस्यता छानविन समितिले बुधबार धनगढीमा सरोकारवालाहरू सहित संघका पुर्व अध्यक्षहरूसँग छलफल गर्दै काम अगाडि बढाएको जनाइएको छ ।
कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजतपत्र पेस गरेपछि संघको सदस्य हुन पाउने मापदण्ड वनाइएकोले सोही अनुसार कागजात पेस गर्नका लागि एक साताको समय दिइएको छ ।
संघको सदस्य हुनका लागि तोकिएका कागजातहरू ७ दिनभित्र पेस गर्नका लागि छानविन समितिले सार्वजनिक आह्वान गरेको छ । नयाँ व्यवसायीले पनि मापदण्ड पुगेमा संघको सदस्य भएर मताधिकारको प्रयोग गर्न पाउने गरी सदस्यता छानविनको काम सुरु गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।
उच्च अदालत दिपायलले निर्वाचन रोक्न दिएको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया सदस्यता छानविनपछि सुरु गरिने भएको छ । उच्च अदालतले वास्तविक व्यवसायीलाइ मात्र मताधिकार दिने गरी निर्वाचन सम्पन्न गराउन आदेश दिएपछि प्रशासनले त्यसको छानविन गर्न समिति बनाएकोमा सो समितिले छानविनका लागि काम थालेको हो । व्यवसायीहरूले कागजपत्र बुझाएपछि समितिले छानवीन गर्ने र त्यसका आवश्यक थप जनशक्तिहरूको व्यवस्थापनका विषयमा समेत तयारी भइसकेको प्रशासनले जनाएको छ ।
व्यवसायीले वास्तविक व्यवसायी भएको कागजात पेस गरेपछि त्यसको जति सक्दो चाँडो छानविन गरेर मंसिरभित्रै निर्वाचन सम्पन्न गराउने तयारी गरिरहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।